Comments Add Comment

बारामा खेत खन्ने क्रममा प्राचीन मूर्ति फेला

१६ फागुन, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरमा खेत खन्ने क्रममा प्राचीन मूर्ति फेला परेको छ ।  ६ फिट लामो र ४ फिट चौडाइ भएको विष्णु भगवानको मूर्ति फेला परेको हो ।

स्थानीय कुसुन्दरप्रसाद महतोले माछा पालनका लागि खेतमा पोखरी खन्ने क्रममा मूर्ति फेला परेको थियो । डोजर लगाएर ७ फिट गहिरो खाडल खन्दा विष्णु भगवानको मूर्ति फेला परेको वडा अध्यक्ष राजेश यादवले जानकारी दिए । उनले ऐतिहासिक सिम्रौनगढलाई पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि थप बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

‘ऐतिहासिक विष्णु भगवानको मूर्ति भेटिएपछि सिम्रौनगढको पर्यटकीय र पुरातात्विक महत्व अझ बढी रहेको पुष्टि भएको छ । तर यसको संरक्षणका लागि प्रदेश र केन्द्र सरकारले जति ध्यान दिनुपर्ने हो, त्यति दिन सकेको छैन,’ उनले भने, ‘यसतर्फ सरोकारवाला निकायको ध्यान पुग्नुपर्छ ।’  मूर्ति १३ औं शताब्दीतिरकै हुन सक्ने अनुमान वडा अध्यक्ष यादवले गरेका छन् ।

मूर्ति सिम्रौनगढ क्षेत्रमा फेला परेको आजसम्मकै सबैभन्दा ठूलो मूर्ति रहेको सिम्रौनगढ क्षेत्रका बासिन्दाले दावी गरेका छन् । डोजरले खन्ने क्रममा मूर्ति कतै कतै टुटफुट पनि भएको छ ।

शनिबार दिउँसो करिब तीन बजे फेला परेको मूर्ति हेर्न आसपास गाउँका बासिन्दाको घुइँचो g} लागेको छ । आइतबार बिहान प्रदेश नं २ का सभामुख सरोजकुमार यादवले मूर्तिको दर्शन गर्नुको साथै उचित व्यवस्थानपन कसरी गर्ने ? भन्ने विषयमा स्थानीयसँग छलफल समेत गरेका छन् ।

मूर्तिको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ । तर मूर्तिलाई कमलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा राख्नेबारे छलफल भइरहेको वडा अध्यक्ष यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment