Comments Add Comment

घरबाटै वेपत्ता दम्पत्तिको अवस्था एक सातादेखि अज्ञात

१६ फागुन, जनकपुरधाम । अघिल्लो साता घरबाटै वेपत्ता भएका महोत्तरी पिपराका बृद्ध दम्पतिको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । ११ फागुनमा पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमासुतेको ठाउँबाट हराएका ६६ बर्षीय मुसाफिर झा र उनकी पत्नी ६० बर्षीया गीतादेवीको अपहरण भएको आशंका गरिएपनि प्रहरीको अनुसन्धानबाट हालसम्म केही खुलेको छैन ।

मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी झा आफ्ना श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आएका थिए । उनी लोहारपट्टी नगरपालिकाको मोही जग्गामा साक्षी बसेका थिए । उनी साक्षी बसेकै कारण जग्गावाला पक्षले अपहरण गरेको हुन सक्ने आंकलन गरिएपनि प्रहरी अहिलेसम्म अनुसन्धान भइरहेको बताउँछ ।

‘अहिलेसम्म आर्थिक, सामाजिक, पारिवारिक पक्षलाई हेरेर अनुसन्धान गरेका छौं’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘घटनामा जग्गा विवाद पनि हुन सक्छ । हामी सबै पक्षलाई हेरेर अनुसन्धान गरिरहेका छौं ।’ अनुसन्धान गर्ने क्रममा आएका कतिपय कुरा औपचारिक रुपमा भन्न नमिल्ने उनले बताए ।

छोरी बेबी मिश्र आमाबुवा वेपत्ता भएको खबर सुनेर माइत आएकी छन् । उनी माइतमै भाउजुसँग बसेर कहिले आमाबुवा आउने भन्ने बाटो हेरिरहेकी छन् । ‘मेरो आमाबुवाको अवस्था पत्ता लगाइदिन म प्रहरी प्रशासन सबैसँग अनुरोध गर्छु’ उनले भनिन् ।

बृद्ध दम्पत्तिको हत्या २ बर्षदेखि अन्यौलमै

प्रदेश २ कै सप्तरीमा एक बृद्ध दम्पत्तिको हत्या भएको २ बर्ष बित्दा पनि दोषी पक्राउ पर्न सकेका छैनन् । खडक नगरपालिका– ५ खरचुहिया बजारस्थित आफ्नै घरमा सुतिरहेका ७५ बर्षीय सबुरी साह र उनकी ६५ बर्षीया श्रीमती बेचनी देवी साहको १४ फागुन २०७५ मा जलाएर हत्या भएको थियो ।

प्रहरीले वृद्ध दम्पतिको हत्या नै भएको निष्कर्ष निकालेको छ, तर हत्याको कारण र संलग्न पहिचान भएको छैन । रकम ब्याजमा लगाउँदै आएका साह दम्पत्तिलाई डकैती गर्ने नियतले लुटेराहरुले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment