Comments Add Comment

५३ वर्षअघि अन्टार्कटिकामा हराएको पर्स हात परेपछि…

पाउल ग्रिसामको वालेट ५३ वर्षअघि संसारकै पिँध अर्थात् अन्टार्कटिकामा हराएको थियो । यति लामो समय बितिसक्दा त उनले त्यो हराएको पर्स पनि बिर्सिसकेका थिए ।

तर ५३ वर्षपछि उनले आफ्नो त्यो हराएको पर्स हात पारे । सान डिएगोमा बस्ने ९१ वर्षका पाउलको हातमा उनको हराएको पर्स मात्र परेन सन् १९६० को दशकमा १३ महिनासम्म अमेरिकी नौसेनाको मौसमविदका रुपमा अन्टार्कटिकामा काम गरेको स्मरणपत्रसमेत उनले प्राप्त गरे ।

शनिबार आफ्नो हराएको पर्स हात परेपछि पुराना दिन सम्झिँदै उनी भावुक बने । सान डिएगो युनियन ट्रिब्युन पत्रिकासँग कुराकानी गर्दै उनले भने, ‘म त झण्डै बेहोस भएको । मलाई फेला पारेर पर्स फिर्ता गर्नका लागि श्रृंखलाबद्ध रुपमा खटिएका रहेछन् ।

अन्टार्कटिकामा हराएको उनको वालेटमा उनको नौसेनाको परिचयपत्र, सवारी चालक परिचयपत्र, पकेट रेफरेन्स कार्ड थियो जसमा आणविक, जैविक तथा रासायनिक आक्रमणका बेला के गर्ने ? भन्ने जानकारी उल्लेख थियो । साथै पर्समा उनले कर चुक्ता कागज र पत्नीलाई पठाएको पैसाको भरपाइ पनि थियो ।

अमेरिकाको एरिजोनास्थित डगलसमा जन्मिएका ग्रिसाम सन् १९४८ मा नौसेनामा भर्ती भए । त्यहाँ उनी सुरुमा मौसम प्राविधिक र पछि मौसम पूर्वानुमानविद बने ।

अपरेसन डिप फ्रिज नामक अभियान अन्तर्गत उनी अन्टार्कटिकामा खटाइएका थिए । सन् १९६७ को अक्टोबरमा उनी अन्टार्कटिका गएका थिए । त्यसबेला उनको उमेर ३० वर्षको थियो र घरमा पत्नी र दुई बच्चा थिए ।

अन्टार्कटिकामा खटिएकै बेला उनको पर्स कतै हरायो र पछि उनले त्यो बिर्सिए ।

तर सन् २०१४ मा अन्टार्कटिकाको रोस टापुस्थित म्याकमुर्दो स्टेसनमा रहेको भवन भत्काउने क्रममा उनको पर्स फेला पर्‍यो । तर त्यो पर्सको धनी फेला पार्न भने निकै सकस पर्‍यो ।

वास्तवमा भवन भत्काउने क्रममा दुईवटा पर्स फेला परेका थिए । त्यसमध्ये एउटा पर्स ग्रिसामको थियो भने अर्को पर्सधनीको चाहिँ सन् २०१६ मै मृत्यु भैसकेको रहेछ ।

ग्रिसामले अमेरिकी नेभीको जागिरबाट सन् १९७७ मा अवकास लिएका थिए । पहिलो पत्नीको मृत्युपछि सन् २००३ मा उनले दोश्रो बिहे गरे र हाल दोश्रो पत्नीसँग बस्दै आएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment