Comments Add Comment

उद्योगहरुको अवस्था र क्षमताबारे अध्ययन हुने

१७ फागुन, काठमाडौं । उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्न उद्योग विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालबीच आइतबार एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला क्षमताका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्नेछन् ।

यस्तै औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रर्वद्रधन एवं उद्योगहरुको सञ्चालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा सम्वोधन गरिने पनि समझदारीपत्रमा उल्लेख छ ।

उक्त अध्ययनले एउटा तथ्यांक तयार गर्ने र सो बौद्धिक सम्पत्तिमा विभाग र महासंघबीच संयुक्त स्वामित्व रहने पनि समझदारीपत्रमा उल्लेख छ ।

उद्योग व्यवसायको निरन्तर सञ्चालन मार्फत दीगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनर्स्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने लगायतका विषय पनि समझदारीपत्रमा समेटिएको छ ।

साथै आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्थाको प्रतिनिधित्व रहने गरी विभागको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने पनि समझादारीपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment