Comments Add Comment

गर्मीयाम सुरु भएसँगै वीरेन्द्रनगरमा खानेपानीको संकट

फाइल तस्वीर

१८ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको संकट सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । डेढ लाख हाराहारी जनसंख्या रहेको वीरेन्द्रनगर उपत्यका प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनघनत्वका कारण वर्षेनी खानेपानीको समस्या झेल्दै आएको छ ।

अबदेखि वीरेन्द्रनगरका उपभोक्ताले ४८ घण्टापछि मात्रै धारामा पानी पाउने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । ‘गर्मीयाम सुरु भएपछि मुहानमै पानीको स्रोत घटेको छ, अबदेखि ४८ घण्टापछि मात्रै धारामा पानीको पालो आउँछ,’ संस्थाका इन्जिनियर तिवारीले भने, ‘फागुनको मध्यतिरै खानेपानी समस्या देखिएपछि खडेरीमा त झनै हाहाकार हुने पक्कापक्की भएको छ ।’

वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी संस्थाले हाल नगरका १९ हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । ३५ हजार उपभोक्ताले नयाँ धारा जडान गर्न आवेदन दिएका छन् । तर, मागअनुसार पानीको आपूर्ति नभएपछि नयाँ धारा वितरण गर्न नसकिएको संस्थाले बताएको छ ।

खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार नै हुँदै आएको छ । अघिल्ला वर्षहरुमा चैतदेखि मात्रै खानेपानीको समस्या सुरु भएपनि यो वर्ष भने मध्य फागुन देखि नै खानेपानी संकट सुरु भएको छ ।

सुर्खेत उपत्यका खानेपानी संस्थाले मागअनुसार पानी पुर्‍याउन सकेको छैन । संस्थाले हाल झुप्रा खोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गरिँदै आएको छ ।

मागअनुसार आपूर्ति हुन सकेको छैन । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको इन्जिनियर तिवारी बताउँछन् । जसका कारण गर्मीयाममा ९६ घण्टाको पालो लगाएर पानी वितरण गर्ने गरिएको छ ।

संस्थाका अनुसार वीरेन्द्रनगरमा हाल प्रतिसेकेन्ड २६७ लिटर पानीको माग छ । तर, १०० लिटर मात्रै पानीको आपूर्ति हुँदै आएको छ । खडेरी नहुँदा पनि प्रतिसेकेन्ड १५७ लिटर मात्र आपूर्ति हुँदै आएको थियो । गर्मीयाम शुरु भएसँगै प्रतिसेकेन्ड ५७ लिटर पानीको स्रोत घटेको छ ।

‘आपूर्तिभन्दा माग झण्डै तेब्बर छ, खडेरीमा खानेपानीको समस्या झन् बढ्ने देखिन्छ,’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘अहिले त ४८ घण्टा छ, खडेरीमा भने ९६ घण्टामा एकपटक धारामा पानी आउने अवस्था देखिन्छ ।’

आवश्यक संरचना निर्माण गरिँदै

वीरेन्द्रनगर उपत्यकामा पानीको संकट वर्सेनी चुलिँदै गएको छ । अल्पकालीन समस्या समाधानका लागि पानीको संकलन गरी आपूर्ति क्षमता बढाउन अहिले वीरेन्द्रनगरका विभिन्न स्थानमा संरचना निर्माणको काम थालिएको छ ।

सरकारी तथा गैरसरकारी निकायले वीरेन्द्रनगरमा अन्डरग्राउण्ड वाटर रिजर्भ र ओभरहेड वाटर ट्याङ्कीहरू निर्माण गर्न थालेका छन् । वीरेन्द्रनगर उपत्यकाका तीन स्थानमा झण्डै २ लाख ५० हजार लिटर क्षमताका तीनवटा रिजर्भ ट्याङ्की निर्माण गर्न लागिएको संस्थाले जनाएको छ ।

प्रदेश राजधानीकाे बढ्दो जनसंख्यालाई मध्यनजर गरी खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि झण्डै आठ अर्बको आयोजना अघि बढेको संस्थाका अध्यक्ष देवकोटाको भनाइ छ ।

‘उपत्यकामा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भेरी नदीको पानी लिफ्ट प्रविधिमार्फत उपत्यकामा ल्याउने आयोजनाको काम अघि बढेको छ, त्यसका लागि केही वर्ष लाग्ने देखिन्छ,’ उनले भने । वीरेन्द्रनगर उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउनेभन्दा अर्को विकल्प नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment