 
																			१८ फागुन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री जुद्द शमशेरले देशकै पहिलो संग्रहालय ‘नेपाल म्युजियम’ वि.सं. १९९५ सालमा स्थापना गरेको थिए । संग्रहालय स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते संग्रहालय दिवस मनाइन्थ्यो यस वर्ष भने १८ गते मनाइएको छ ।
संग्रहालय दिवसको अवसरमा राष्ट्रिय संग्रहालयको वेभसाइटबाट निःशुल्क भर्चुअल टुर गर्न सकिने सुविधा समेत सार्वजनिक गरेको छ ।
मंगलबार छाउनी संग्रहालयमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाल पनि पुराना वस्तुको संग्रहमा अन्य विदेशी मुलुकभन्दा पछि नरहेको दाबी गरे । विसं १८८१ देखि नै संग्रहालय नाम नदिए पनि अरू नै नामबाट संग्रहालयको स्थापना भएको भन्दै छोटो समयमा धेरै कुरा संग्रह गर्ने संग्रहालयको सूचीमा राष्ट्रिय संग्रहालय पनि अग्रपंक्तिमा आउने उनी बताउँछन् ।
विसं १८८१ मा छाउनीमा स्थापना भएको सिलखानालाई नै पछि जुद्द शमशेरले नेपाल म्युजियमको रूपमा रुपान्तरण गरिएको थियो । ‘संग्रहालय जीवन्त रहरको एउटा नमुना हो । अन्तर्राष्ट्रिय भ्रमणमा जाँदा जुनसुकै देशमा पनि म्युजियममा नपुगी नफर्किने चलन छ’ सचिव कोइरालाले भने ‘कुनै पनि देशको समृद्ध इतिहास संग्रहालयमा नै भेटिने भन्दै नेपालले पनि समय सापेक्ष परिस्कृत हुँदै पुराना सामग्रीहरुको संरक्षण गर्दैजानुपर्ने देखिन्छ ।’
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले संग्रहालयलाई आवश्यक पर्ने स्रोत साधनको पूर्ति हुन नसकेको भन्दै यसलाई मेनस्ट्रिममा लैजानुपर्ने धारणा राखे । उनले पर्याप्त जनचासो आकर्षित गर्न नसक्दा महत्वपूर्ण हुँदाहुँदै पनि संग्रहालयप्रति धेरैले चासो नदिने गरेको गौतमको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख मदनकुमार रिमालले प्राचीनकालमा विकसित रहेका सभ्यतामा संग्रहालयको विकास पहिलेदेखि नै देखिएको भन्दै लामो इतिहास बोकेको संग्रहालयमा धेरैलाई आकर्षित गर्न नसक्नु मूल समस्या रहेको बताए । उनले धेरै विद्यार्थीहरूले समेत संग्रहालयप्रति चासो नदिने गरेको भन्दै सबैभन्दा पहिले विद्यार्थीलाई संग्रहालयप्रति आकर्षित गर्र्नुपर्ने बताए ।
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको निवासस्थानमा राणा प्रधानमन्त्री चन्द्र शमशेरले विभिन्न किसिमका हतियारहरू राखेर सिलखानाको स्थापना गरेका थिए । सो हतियारखाना आफैँमा सरकारी व्यक्तित्वलाई मात्रै खुला गरिएको थियो । विसं १८६७ सालमा स्थापना भएको सिलखानाको भवन २०७२ सालपछि पछिल्लो भागमा क्षति पुगेपछि पुनर्निर्माण गरिएको थियो ।
यद्यपि अग्रभाग र पृष्ठभाग भने भीमसेन थापाको समयमा निर्माण गरिएको दरबारकै अंश रहेको राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए ।
अहिले छाउनी संग्रहालयभित्र जुद्ध जातीय कलाशाला, बौद्ध कलाशाला र प्राकृतिक विज्ञान ग्यालरी, प्राग् इतिहास शाखा जस्ता विभिन्न शाखाहरु छन् । त्यस्तै, मुद्रा संग्रहालय समेत छुट्टै शाखाको रुपमा रहेको छ ।
राष्ट्रिय संग्रहालयको मूल पुरानो भवनमा विभिन्न जातीय कला झल्काउने सामग्रीदेखि प्राग् ऐतिहासिक कलासम्मका अवशेष पाउन सकिन्छ ।
स्थापनाको ८ दशकसम्म आइपुग्दा ऐतिहासिकताको अध्ययनको लागि आधुनिकतालाई अँगाल्दै परम्परागत सामग्रीको जगेर्ना गरिँदै आएको संग्रहालय प्रमुख श्रेष्ठ बताए । पहिले नित्तान्त तत्कालीन शासकको सोखका विषयलाई संग्रहित सामग्री बनाउने गरिएकोमा अहिले प्राचीन कला र संस्कृतिसँग जोडिएका महत्वपूर्ण ऐतिहासिक सामग्रीहरू संग्रहालयमा राखिएको छ ।
नेपालको अत्यन्त दुर्लभ मानिने ईसापूर्व पाँचौं छैटौं शताब्दीदेखि ईसाको पहिलो शताब्दीसम्मका पंचमार्क सिक्काहरु संग्रहालयमा पाइन्छ । छालाबाट बनेका मुद्रा, विभिन्न राजाले जारी गरेका सिक्काहरु समेत संग्रहालयमा देख्न सकिन्छ । यसबाहेक विभिन्न कला संस्कृति झल्किने सामग्री समेत राष्ट्रिय संग्रहालयमा पाउन सकिन्छ ।
१९९५ फागुन १ गते जुद्द शमशेरले स्थापना भएको संग्रहालय १९९६ सालमा सर्वसाधारणको लागि खुला गरिएको थियो । त्यतिबेला प्रवेशका लागि १४ वर्षमुनिका बच्चाको लागि ४ पैसा र अरूलाई ८ पैसा तोकिएको थियो । त्यतिबेलाको नेपाल म्युजियमलाई २०२४ सालमा राष्ट्रिय संग्रहालय नामाकरण गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4