
१९ फागुन, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाउँदा आफूलाई कुनै असहज नभएको बताएका छन् । आज बिहान काठमाडौंको सिभिल अस्पतालमा खोप लगाइसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सभामुख सापकोटाले असहज महसुस नभएको बताएका हुन् ।
खोप लगाइसकेपछि आराम गर्ने कक्षमा पत्रकारहरुसामु उनले भने, ‘खोप लगाउँदाखेरि थोरै असहज हुन्छ कि भन्ने मैले सोचेको थिएँ । विल्कुल असहज महसुस भएन । अब खोप लगाउने बेला हुँदैछ भन्दै गर्दाखेरि खोप लगाएर सिद्धिसकेछ ।’
सभामुख सापकोटाले वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले निर्धक्क भएर कोरोनाविरुद्धको खोप लगाउन उनले सबैलाई आह्वान गरे ।
‘वैज्ञानिक रुपमा सफल भएकाले सम्पूर्ण नेपालीहरुले रौं बराबरको पनि हिच्किचाहट नगरिकन लगाउँदाखेरि फाइदा हुन्छ,’ सापकोटाले भने । कोरोनाविरुद्धको खोप कार्यक्रम आफूले सोचेभन्दा पनि व्यवस्थित पाएको उनले बताए ।
सभामुख सापकोटासहित सांसद, संसद सचिवालयका कर्मचारीहरुलाई आजबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
प्रतिक्रिया 4