२० फागुन, काठमाडौं । सेभियालाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले अतिरिक्त समयमा सेभियालाई ३-० ले पराजित गरेको हो । जहाँ सेभियाका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए भने बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेगनले पेनाल्टी रोकेका थिए ।
सेभियाको मैदानमा भएको पहिलो लेगमा २-० ले पराजित भएको बारसिलोनाले समग्रमा ३-२ ले खेल जितेको हो ।
दोस्रो लेगमा बारसिलोनालाई घरेलु मैदानमा जित दिलाउन उसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक-एक गोल गरे ।
खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा सेभियाले खेलमा फर्कने अवसर पाएको थियो । तर ७३औं मिनेटमा सेभियाका लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क स्टेगनले बचाए ।
निर्धारित ९० मिनेमा बार्सिलोनाले एक गोलको अग्रता बनाए पनि समग्रमा सेभिया २-१ ले अघि थियो । तर इन्जुरी टाइममा खेलले नाटकीय मोड लियो ।
इन्जुरी टाइममको दोस्रो मिनेटमा फर्नान्डोले रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदान बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटियो । त्यसैको फाइदा बार्सिलोनालाई भयो । इन्जुरी टाइमको चौथो मिनेटमा पिकेले गोल गरेपछि बार्सिलोनाले २-० को अग्रता बनायो र खेल समग्रमा २-२ को बराबरीमा पुग्यो ।
त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ ९५औं मिनेटमा मार्टिन ब्रेथवेइटले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । अन्तत: त्यही गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो ।
खेलको १०३ औं मिनेटमा लुक डी जोङले रातो कार्ड पाएपछि सेभिया ९ खेलाडीमा समेटिएको थियो ।
दोस्रो लेग ३-० ले जित्दै बार्सिलोना समग्रमा ३-२ ले विजयी भएको हो ।
अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ । यी टोलीले पहिलो लेगमा १-१ को बराबरी खेलेका थिए ।
प्रतिक्रिया 4