Comments Add Comment

स्वार्थ बाझिने व्यक्तिलाई बिमा समितिले दियो अध्ययनको जिम्मेवारी

२० फागुन, काठमाडौं । बिमा समितिले नयाँ पुनर्बिमा कम्पनी सञ्चालन गर्नका लागि बनाएको अध्ययन समितिको सदस्यमा स्वार्थ बाझिने व्यक्ति राखिएको छ ।

बिमा समितिले हालै नयाँ पुनर्बिमा कम्पनी आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन गर्नका लागि तीन सदस्य अध्ययन समिति बनाएको छ ।

समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले दीप प्रकाश पाण्डे, भोजराज शर्मा र सुजन आचार्य रहनेगरी तीन सदस्यीय अध्ययन समिति बनाएका छन् । अध्ययन समितिमा रहेका शर्मा बिमा समितिमै विज्ञको रुपमा काम गरेका व्यक्ति हुन् भने आचार्य चार्टर्ड एकाउन्टेन्ट हुन् । अर्का पाण्डे भने हाल सञ्चालनमै रहेको नेपाल पुनर्बिमा कम्पनीका सञ्चालक तथा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

नयाँ पुनर्बिमा कम्पनीको विषयमा अध्ययन गर्न पुनर्बिमा कम्पनीकै सञ्चालकलाई जिम्बेवारी दिनु गलत भएको बिमा क्षेत्रका अधिकारीहरुले बताएका छन् । अध्यक्ष सिलवालले बद्नियत राखेर पुनर्बिमा कम्पनीका सञ्चालकलाई समितिमा राखेको एक बिमा कम्पनीका अध्यक्षले बताए ।

‘पाण्डे सर अहिले पनि पुनर्बिमा कम्पनीको सञ्चालक हुनुहुन्छ भने उहाँले कसरी स्वतन्त्र रुपमा अध्ययन रिपोर्ट दिनसक्नु होला र ?’ ती अध्यक्षले भने, ‘स्वार्थ बाझिने व्यक्तिलाई नै अध्ययनको जिम्मा दिइनु गलत हो, साच्चिकै अर्को राम्रो पुनर्बिमा कम्पनी चाहिएको हो भने अध्ययन समितिमा स्वतन्त्र र विज्ञ व्यक्ति राखिनु पर्छ ।’

पाण्डे सम्मिलित अध्ययन समितिलाई १५ दिनको समयसीमा दिइएको छ । सो समितिले दिएको अध्ययन प्रतिवेदनपछि समितिले सञ्चालन अनुमति दिने वा नदिने भन्ने विषयमा निर्णय लिने बताइएको छ ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने बदनियत राखेर पाण्डेलाई समितिमा नराखिएको बताउँछन् । निर्जीवन बिमा कम्पनीका सीईओहरुको संगठन बिमक संघको अध्यक्ष भएका कारण पाण्डेलाई समितिमा राखिएको उनको भनाइ छ ।

‘शिखरको सीईओ भएका कारण वा पुनर्बिमा कम्पनीको सञ्चालक हुनुभएका उहाँलाई समितिमा राखिएको होइन, बिमक संघको अध्यक्ष भएका कारण राखिएको हो, यसलाई अन्यथा नसोच्न आग्रह गर्दछु,’ कार्यकारी निर्देशक पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment