Comments Add Comment

अमलेखगञ्ज ढुकुवाबासमा खानेपानीका लागि सास्ती

१८ फागुन, वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्ज ढुकुवाबासमा पानीको स्रोत नहुँदा स्थानीयले सधैं सास्ती भोग्नुपर्ने बाध्यता छ । वर्षायाममा फुट्ने स-साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको छ ।

पानी ओसार्नकै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरुको सधैंको बाध्यता बनेको छ । त्रिभुवन राजपथमा पर्ने ३ नम्बर पुल खाजा नास्ताका लागि चर्चित ठाउँ हो ।
सिरानमा बस्नेलाई पानी ल्याउन डेढ घण्टा समय लाग्छ । १ सय २३ घरधुरी बासिन्दालाई डोकोमा तल खोलाबाट पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता छ । स–साना बालबालिका पनि पानी ओसारिरहेको दृश्य त्यो क्षेत्रमा देख्न सकिन्छ ।

‘वस्तुका लागि घाँसपात राम्रोसँग पाइन्छ, तर पानी नहुँदा वस्तुभाउ पाल्न सकिएको छैन । मान्छेलाई खानसमेत पानीको जोहो गर्न कठिन भइरहेको समयमा वस्तुभाउलाई कसरी पानी खुवाउने ?’ स्थानीयको गुनासो छ ।

पानीको व्यवस्था हुने हो भने गाउँ ‘स्वर्ग भन्दा सुन्दर’ हुने उनीहरु बताउँछन् । ढुकुवासकी तारा आले मगरलाई गाईवस्तु पाल्ने रहर छ । खोलाबाट पानी बोकेर ल्याउनुपर्ने पीरले वस्तु पालेकी छैनन् । ‘पिउने पानीको जोहो गर्न त कठिन छ, वस्तुभाउलाई कहाँबाट पानी ल्याएर खुवाउनु ? ’ उनी भन्छिन्, ‘त्यसैले वस्तु नै पालेकी छैन ।’
स्थानीय हरिबहादुर लो र दीपक रुम्बाले केही वस्तुभाउ पालेका छन् । घरका केही सदस्य वस्तुको लागि पानी जोहो गर्नका लागि नै व्यस्त हुनुपर्छ । गाउँमा पानीको स्रोत हुँदा त्यो समय अन्य काममा लगाउन सकिने आशमा उनीहरु छन् ।

४ वर्षदेखि खानेपानी आयोजनाको काम, अझै अधूरो

त्यसो त ढुकुवाबास गाउँका लागि भनेर राष्ट्रिय खानेपानी योजना नै परेको छ । २०७३ सालदेखि उपभोक्ता समिति र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले योजनामा काम गरिरहेको छ । अमलेखगञ्ज–८ लिफ्ट ३ नम्बर पुल खानेपानी आयोजनामार्फत बाघ लुक्ने खोल्सीको पानी तल लगिन्छ । त्यसलाई लिफ्टिङ गरेर गाउँमा लैजाने आयोजनाको उद्देश्य छ ।

तर यो आयोजना स्थानीयका लागि ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएको छ । किनकी आयोजनाको काम अझै पूरा हुन सकेको छैन । आयोजना अन्तर्गत ट्रान्सफरमर जडान, खानेपानी ट्याङकी निर्माण, खोलादेखि माथि ट्याङकीसम्म पाइप जडान भइसकेको छ भने विद्युतगृह बनाउने, लाइन जोड्ने, पम्प जडान गर्ने र ट्याङकीबाट घर–घरमा पाइप जडान गर्न बाँकी छ ।

कारण आयोजनाका लागि पर्याप्त बजेट विनियोजन भएको छैन । आयोजनाको लागत १ करोड ४८ लाख २८ हजार अनुमान गरिएको छ । पहिलो वर्ष ५ लाख, दोस्रो र तेस्रो वर्षमा १५–१५ लाख र चौथो वर्षमा १० लाख बजेट आएको जानकारी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराले उपभोक्ता समितिलाई दिएको छ । पाइप खरिद गर्ने, पोल खरिद गर्ने, ट्रान्स मिटर जडान गर्ने लगायतको काम खानेपानीले गरेको र ट्याङकी निर्माण गर्ने, पोल गाड्ने लगायतका काम उपभोक्ता समितिमार्फत भएको छ ।
खानेपानी आयोजना निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष अक्कलबहादुर पाख्रिन पर्याप्त बजेट नआउँदा खानेपानी आयोजनाको काम अधूरो रहेको बताउँछन् ।

‘चार वर्षदेखि खानेपानी आयोजनाको काम भइरहेको छ, उपभोक्ता समितिमार्फत तीनवटा ट्याङ्की बनाइसकेका छौं, विद्युतको पोल गाड्ने, ट्रान्सफर्मर जडान गर्ने तथा खोलादेखि माथि डाँडाको ट्याङ्कीसम्म पाइप जडान भइसकेको छ ।’ उनले भने, ‘आयोजनाका लागि पर्याप्त बजेट नआउँदा पानीको दुःख कायमै छ ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका प्रमुख इन्जिनियर जक्की अहमद अन्सारी दुई दिनअघि आयोजनाको स्थलगत निरीक्षणमा पुगेका थिए । उनलाई स्थानीयले छिटोभन्दा छिटो काम सम्पन्न गराइदिन आग्रह गरे । उनले आर्थिक वर्ष २०७८–०७९ भित्र आयोजना सम्पन्न गर्ने आश्वासन स्थानीयलाई दिएका छन् ।
संघले बजेट विनियोजन गर्दा मातहतका कार्यालयसँग परामर्श नगर्दा छिटो छरितो ढंगले आयोजना सम्पन्न गर्न नसकिएको अन्सारी बताउँछन् ।

चकरीमा पुरानो आयोजनाको मुहान सुकेपछि …

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष मनिकलाल थिङ वडामा खानेपानीको समस्या चरम अवस्थामा रहेको बताए । चकरीमा मात्रै ६ सय घरधुरीमा खानेपानीको समस्या देखिएको उनको भनाइ छ । खोला र नयाँ बस्ती क्षेत्रमा पनि खानेपानीको हाहाकार छ ।

वडाको बजेटबाट योजना पूरा गर्न नसकिने र अन्यत्रबाट सहयोग नपाउँदा आफूले वडाबासीको समस्या समाधान गर्न नसकेको उनले सुनाए । ‘वडामा जताततै पानीको दुःख छ,’ उनले भने, ‘बजेटको अभावमा समस्या समाधान गर्न सकिएको छैन ।’

चकरी गाउँका लागि बंगेरी खोलाबाट पानी ल्याउन सम्भव देखिएको भएपनि वडाको मात्रै बजेटले नभ्याउने उनले बताए ।

वडा नम्बर २१ को समस्या समाधानको बाटोमा

चुरे पर्वतको फेदमै भएपनि बाराको अमलेखगञ्ज बजार क्षेत्रमा पनि खानेपानीको समस्या छ । टाढा रहेको मुहानको पानी ल्याएर वितरण गर्दा खर्चिलो छ । वर्षायाममा बाढीले पाइप बगाउने गरेको छ । समय–समयमा आयोजना मर्मत गर्नुपर्ने हुँदा मर्मत सम्भार पनि खर्चिलो छ ।

साविक अमलेखगञ्ज गाविसको ६ वटै वडा र हाल जितपुर सिमरा उपमहानगरको वडा नम्बर २१ मा खानेपानीको समस्या छ । २०५२–०५३ सालको खानेपानी आयोजनाको भरमा अमलेखगञ्जबासीले पानी पिउँदै आएका छन् ।

विगतमा जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालयले २४ लाख रुपैयाँ खर्च गरेर डिप बोरिङ गरायो, तर त्यसमा पानी आएन । मन्त्रालयसम्म भूमिगत जल सतह निकै तल रहेको रिपोर्ट गयो । बिना मगर खानेपानी तथा सरसफाइ मन्त्री हुँदा स्थानीयले गएर सम्भाव्यता अध्ययनका लागि आग्रह गरे ।
उनले छुट्ट्याइदिएको १० लाख रुपैयाँ बजेटले तीन महिनाअघि पुनः सम्भाव्यता अध्ययन भएको छ । पाँच ठाउँमा गरिएको अध्ययनका क्रममा दुई ठाउँमा दुई सय मिटरमुनि पानीको लेयर भेटिएको छ ।

यसले अमलेखगञ्ज क्षेत्रमा भूमिगत पानीको समेत अभाव रहेको देखाउने प्राविधिकहरु बताउँछन् । डिप बोरिङ गर्दा निजगढमा पानी भेटिने तर अमलेखगञ्जमा पानी नभेटिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका प्रमख इन्जिनियर अन्सारीले बताए ।

‘डिप बोरिङ गर्दा पानी निस्कन्छ कि भनेर सर्भे गरेका थियौं,’ उनले भने, ‘अमलेखगञ्जतिर ५ ठाउँमा सर्भे गराउँदा २ ठाउँमा मात्रै पानी भेटियो ।’ तर वडाध्यक्ष कृष्णबहादुर ठकुरी जसरी पनि डिप बोरिङ गरेर अमलेखगञ्ज क्षेत्रमा देखिएको खानेपानीको समस्या हल गर्ने मनस्थितिमा देखिएका छन् ।

अमलेगञ्ज क्षेत्रमा विद्यमान खानेपानी समस्या यसै आर्थिक वर्षमा समाधान गर्ने लक्ष्यका साथ आफू अघि बढेको उनले सुनाए । ‘सुन्न त राप्ती डाईभर्सनको योजना पनि सुनेका छौं,’ उनले भने ‘प्रदेश र नगरको रकमले डिप बोरिङ गराएर यसैवर्ष खानेपानी समस्या हल गर्ने लक्ष्य छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment