+
+
Shares

थोत्रा टायर भारततर्फ तस्करी हुँदा उद्योगलाई कच्चा पदार्थ अभाव

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २२ गते १८:५०

२२ फागुन, बुटवल । फालिएका थोत्रा टायर तथा ट्युबको भारत तस्करी हुँदा फर्नेश आयल उत्पादन गर्ने स्वदेशी उद्योग संकटमा परेको छ । रुपन्देहीको केरवानीमा रहेको नेपालकै पहिलो स्पिड इनर्जी इण्डष्ट्रिज प्रालिसहित देशभरका चारवटा उद्योग कच्चा पदार्थको अभावले बन्द हुने अवस्थामा पुगेका हुन् ।

थोत्रा टायरको भारततर्फ तस्करी मौलाउँदा कच्चा पदार्थको अभाव भएको र उत्पादन आधा घटेको उद्योगीको दाबी छ । टायर र ट्युब तस्करीमा प्रहरी र भन्सार कर्मचारीको समेत मिलेमतो रहेको उद्योगीहरुको आरोप छ ।

‘भारततर्फ तस्करी नहुने हो भने यहीं उपलव्ध हुने थोत्रा टायरले उद्योगका लागि आवश्यक कच्चा पदार्थको माग पूरा गर्छ, तर अहिले तस्करी नियन्त्रण हुन नसक्दा उद्योग बन्द हुने अवस्थामा पुगेको छ,’ उद्योगका प्रबन्ध सञ्चालक अजयमान श्रेष्ठले बताए ।

२०७२ सालदेखि १६ करोड लगानीमा सञ्चालनमा आएको उद्योगको क्षमता दैनिक १० हजार लिटर तेल उत्पादन गर्ने रहेपनि अहिले ४ हजार लिटरको हाराहारीमा मात्रै उत्पादन भइरहेको उनको भनाइ छ । कच्चा पदार्थ अभावमा उद्योगका दुईवटा प्लान्टमध्ये एउटा प्लान्ट दुई महिनादेखि बन्द गर्नुपरेको उनले गुनासो गरे ।

यो उद्योगले काम नलाग्ने टायर, ट्युबजस्ता रबरहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी पायरोलाइसिस प्रक्रियाद्वारा विभिन्न उद्योगहरुले इन्धनको रुपमा प्रयोग गर्ने फर्नेश आयल उत्पादन गर्ने गर्दछ । यस्तै कोइलाको प्रतिस्थापनको रुपमा प्रयोग हुने कार्बन ब्ल्याक र स्टील वायर जस्ता औद्योगिक वस्तु पनि यो उद्योगबाट उत्पादन हुन्छ ।

आन्तरिक रुपमा उत्पादित फर्नेश आयल स्थानीय उद्योगले अनिवार्य उत्पादन गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने हो भने इन्धन आयातमा कमी आउने श्रेष्ठले बताए । ‘उद्योगले चाहे अनुसारको कच्चा पदार्थ पाए यहींबाट वार्षिक २५ लाख लिटर इन्धन उत्पादन गर्छौं,’ उनले भने, ‘एकातिर आयात भएका फर्नेश आयलसँग स्थानीय उत्पादनले प्रतिष्पर्धा गर्न नसक्ने अवस्था र अर्कोतिर कच्चा पदार्थको अभावले उद्योग सञ्चालनमा निकै कठिनाइ झेल्नुपरेको छ, टायरको तस्करी नरोकिने हो भने उद्योग बन्द गर्नुको विकल्प हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?