Comments Add Comment

खोप कूटनीति : भारत र चीनसँगै रसिया पनि दौडमा

कोभिड-१९ को महामारी शुरु भएलगत्तै ‘मास्क कूटनीति’ चर्चामा रह्यो । अहिले विश्वभर ‘खोप कूटनीति’ तातो बहसको विषय बनेको छ ।

दक्षिण एसियाको सन्दर्भमा यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न प्रतिस्पर्धा गरिरहेका एसियाका दुई शक्ति मुलुक भारत र चीन पछिल्लोपटक त्यही उद्देश्य प्राप्तिको लागि खोप कूटनीतिलाई नयाँ औजारको रुपमा प्रयोग गर्दैछन् ।

अनि अर्काे शक्ति राष्ट्र तथा खोप उत्पादक मुलुक रसियाले पनि खोप कूटनीतिमार्फत आफ्नो प्रभाव र उपस्थिति बढाउने प्रयास गरिरहेको छ ।

रसियाले भारत र चीनले भन्दा केही महिना अगाडि नै खोप उत्पादन गरी नेपालसहित दक्षिण एसियाली मुलुकलाई ‘अफर’ गरे पनि अहिलेसम्म कुनै पनि मुलुकले उसको खोप खरिद गरिसकेका छैनन् ।

विश्वका धनी र विकसित देशहरुले अमेरिका र युरोपका कम्पनीले उत्पादन गरेका खोपहरु खरिदको तयारी गरिरहेका छन् । तर, भारत, चीन र रसियाको ध्यान भने न्यून र मध्यम आय भएका मुलुकहरुमा छ ।

प्रभाव विस्तार गर्नका लागि नै तिनै मुलुकले केही लाख डोज अनुदानमा उपलब्ध गराएका छन् र खरिदका लागि पनि सहजीकरण गरिरहेका छन् ।

भारतको जिन्डल स्कुल अफ इन्टरनेसनल अफेयर्सका डीन श्रीराम चौलियाले भ्वाइस अफ अमेरिकासँग भनेका छन्, ‘यो इमेज बनाउने र सफ्ट पावरको विषय हो । भारत आफूलाई एक विश्व शक्तिको रुपमा स्थापित गराउन चाहन्छ ।’

औषधि उत्पादनमा यस अगाडि नै विश्व हवको रुपमा चिनिएको भारत खोप कूटनीतिमा चीनभन्दा निकै अगाडि देखिएको छ । पाकिस्तानबाहेक भारतले आफ्नो छिमेकमा रहेका सबै मुलुकलाई अनुदानमा खोप उपलब्ध गराइसकेको छ ।

दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र इन्डियन ओसनका क्षेत्रका मुलुकले भारतले अनुदानमा उपलब्ध गराएको खोपले नै आफ्नो देशमा खोप अभियान सुरु गरे । अनुदानमा खोप प्राप्त गरेपछि यी मुलुकहरुले भारतबाट खोप खरिद गरिरहेका छन् ।

भारतले आफ्नो मुलुकमा रहेका कूटनीतिज्ञ र आश्रति परिवारका सदस्यलाई पनि खोप उपलब्ध गराएको छ । यतिबेला भारतले अफ्रिका र अन्य विभिन्न मुलुकलाई खोप उपलब्ध गराइरहेको छ । छिमेकपछि भारतले रणनीतिक र आर्थिकरुपले महत्वपूर्ण अन्य मुलुकलाई अनुदान र व्यापारीक हिसाबले खोप उपलब्ध गराइरहेको छ ।

नेसनल युनिभर्सिटी अफ सिंगापुरको इस्टिच्युट अफ साउथ एसियन स्टडिजका डाइरेक्टर राजा मोहनले डी डब्लु च्यानलसँगको कुराकानीमा भारतले खोप मार्फत आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गरेर स्मार्ट कदम चालेको तर्क गरेका छन् । उनले भनेका छन्, ‘नयाँ दिल्लीले आफ्नो राजनीतिक इच्छाशक्ति र कूटनीतिक संवेदनशीलता देखाएर आफ्नो कार्ड प्रयोग गरेको छ ।’

कोरोना खोपको दौडमा भारत चीनभन्दा केही पछि देखिन्छ । खोप वितरणमा चीनले आफूलाई दक्षिण एसिया, दक्षिणपूर्वी एसियाका आफ्ना मुलुक, खाडी मुलुक र अफि्रकामा केन्द्रित गरेको छ । त्यसैगरी उसले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमलाई तत्काल १० लाख खोप दिने घोषणा गरेको छ । चीन गत वर्षमात्र कोभ्याक्समा प्रवेश गरेको हो ।

दक्षिण एसियाली मुलुकमा सबैभन्दा पहिला चिनियाँ खोप प्राप्त गर्ने मुलुक पाकिस्तान हो भने अर्काे मुलुक श्रीलंकालाई पनि चीनले खोप प्रदान गरेको छ । भारतले सबै दक्षिण एसियाली मुलुकलाई अनुदानमा खोप उपलब्ध गराए पनि पाकिस्तानलाई दिएन । भारतले नदिने भएपछि चीनले लगत्तै दियो । चीनबाट खोप प्राप्त गरेपछि पाकिस्तानले खोप अभियान सुरु गरिसकेको छ ।

श्रीलंकाले चीनबाट ३ लाख डोज प्राप्त गरिसकेको छ । तर खोप प्राप्त गरेको केही दिनमा नै श्रीलंकाले चीनको खोप केही समय रोक्ने र भारतबाट नै थप खोप खरिद गर्ने निर्णय गरेको छ ।

चिनियाँ खोप किन रोकिएको हो भन्ने विषयमा श्रीलंकाले केही पनि बताएको छैन । यद्यपि चीनको सिनोफार्म खोपले तेस्रो चरणको परीक्षण सम्पन्न गरिनसकेको भन्दै केही समयका लागि रोकिएको हो ।

दक्षिणपूर्वी एसियाली मुलुकहरु इन्डोनेसिया, भियतनाम, थाइल्याण्ड, मलेसिया, सिंगापुर, लाओस, म्यानमार, फिलिपिन्सलगायतका मुलुकले चीनबाट अनुदानमा खोप प्राप्त गरेका छन् । अनुदानमा केही लाख डोज प्राप्त गरेपछि यी मुलुकहरु यतिबेला खोप खरिदको प्रक्रियामा छन् । चीनले ५३ वटा मुलुकलाई खोप अनुदानमा उपलब्ध गराउने र २७ मुलुकमा व्यापारिक हिसाबले निर्यातको तयारी गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

अघिल्लो साता चिनियाँ विदेश मन्त्रालयमा आयोजना भएको पत्रकार सम्मेलनमा होउ चुनयिङले भनिन्, ‘पछिल्ला केही दिनयता चिनियाँ खोप देशबाहिर पुगेको र धेरै मुलुकले ग्रहण गरेको हामीले पढेका र सुनेका छौं ।’ चीनले भने लगातार आफू कुनै खोप कूटनीतिमा नरहेको भन्दै खोपलाई एक विश्वव्यापी सामग्रीको रुपमा लिएको बताउँदै आएको छ ।

चिनियाँ विज्ञहरुले खोपको निर्यात र विश्वमा आफ्नो इमेज बढाउने विषय एक अर्कासँग सम्बन्धित नरहेको दाबी गरिरहेका छन् । समाचार संस्था एपीसँगको कुराकानीमा चाइना एण्ड ग्लोबलाइजेसनका अध्यक्ष वाङ हुयायोओले भनेका छन्, ‘भ्याक्सिन निर्यात गर्ने र चीनको इमेज बनाउने विषय एकअर्कासँग सम्बन्धित छ जस्तो मलाई लाग्दैन । चीनले अन्य मुलुकहरुलाई अझ सहयोग गर्नुपर्छ ।’

चीनले विशेषगरी न्यून र मध्यम आय भएका मुलुकहरुलाई केन्दि्रत गरिरहेको छ । तर चीनले रणनीतिकरुपमा महत्वपूर्ण र आफूले राजनीतिक तथा आर्थिक प्रभाव जमाउन खोजेका मुलुकलाई खोप उपलब्ध गराइरहेको छ ।

दक्षिण एसियामा यसको उदाहरणहरु नेपाल, पाकिस्तान र श्रीलंका हुन् । त्यसैगरी युरोपमा यसका उदाहरणहरु सर्बिया र हंगेरी हुन् जहाँ रसिया र चीन राजनीतिक र आर्थिक प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन् । हंगेरीले त्यस क्षेत्रमा सबैभन्दा पहिला चिनियाँ खोप प्रयोगको अनुमति दिएको थियो ।

भारत र चीनपछि खोप कूटनीतिमा रसिया पनि अगाडि भएको छ तर उसको प्रयास त्यति सफल भने हुन सकेको छैन । गत हप्तासम्म ३८ वटा मुलुकहरुले रसियामा बनेको खोपलाई प्रयोगको लागि अनुमति दिएका छन् ।

तर, रसियाको खोपको सम्बन्धमा सुरक्षा र गुणस्तरको विषय उठेको छ । किनभने त्यहाँ दोस्रो चरणको क्लिनिकल अध्ययनलगत्तै प्रयोगको लागि स्वीकृति दिइएको थियो । त्यसैले पनि धेरै मुलुकले रसियाको खोप खरिदका लागि त्यति हतार गरेका छैनन् ।

एसियाका दुई मुलुक भारत र चीन यतिबेला नेपाललाई खोप उपलब्ध गराउने प्रतिस्पर्धामा रहेका छन् । भारतले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गरायो र त्यसपछि लगत्तै नेपालले १० लाख खोप खरिदसमेत गरिसकेको छ ।

भारतले १० लाख उपलब्ध गराउने घोषणा गरेलगत्तै चीनले नेपाललाई ३ लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गर्‍यो । पछि नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले पाँच लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरे ।

केही दिन अगाडि मात्रै चीनले सो संख्या बढाएर नेपाललाई आठ लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ र सो खोप आउने प्रक्रिया छ । यस अगाडि महामारी शुरु भएलगत्तै भारत र चीनको विचमा नेपाललाई मास्क, टेष्ट किट र अन्य सामाग्रीहरु सहयोग गर्ने प्रतिस्पर्धा चलेको थियो ।

उता नेपाललाई खोप बिक्री गर्न रसिया पनि इच्छुक देखिएको छ । यसका लागि उसले राजनीतिज्ञदेखि मन्त्रीसम्म लविङ गरिरहेको छ । नेपालका लागि रसियाका राजदूतले स्वास्थ्य र अन्य मन्त्रीहरुसँग यस विषयमा लविङ गरिरहेका छन् ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले रसियाबाट पनि खोप खरिद गर्ने विषयमा कुराकानी भइरहेको सार्वजनिक अभिव्यक्ति दिए पनि सरकारले औपचारिक निर्णय भने गरिसकेको छैन । यसरी यी ती मुलुकले खोपलाई कूटनीतिको सफ्ट पावरको रुपमा प्रयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment