Comments Add Comment

सन्दीपको अलराउण्ड प्रदर्शनमा काठमाडौं मेयर ११ को विजयी सुरुवात

२३ फागुन,काठमाडौंसन्दीप लामिछानेले अलराउण्ड प्रदर्शन गरेपछि काठमाडौं मेयर्स ११ ले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौं मेयर्स ११ ले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।

सन्दीपले ब्याटिङमा ६ छक्कासहित ४२ रन बनाए भने बलिङमा ३ विकेट लिए ।

काठमाडौं मेयर्स ११ ले दिएको २४५ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले ३४.३ ओभरमा सबै विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो ।

बागमतीका लागि पृथु बास्कोटाले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । पृथुले ७९ बल खेल्दै ८ चौकाको मद्दतमा ६० रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र इशान पाण्डेले समान १७ रन जोडे । आदिल खान १५ र पारस खड्का १० रन बनाएर आउट भए ।

बागमतीलाई अलआउट गर्न काठमाडौंका कप्तान सन्दीपले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । यस्तै विपिन खत्री र अनिल खरेलले २-२ तथा कृष्ण कार्की र र सिद्धान्त लोहनीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडैं मेयर्स ११ ले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४४ रन बनाएको थियो । पछिल्लो खेलमा खेलाडीहरुले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौं मेयर्स ११ ले चुनौतीपूर्ण स्कोर तयार पारेको थियो ।

२७ महिनापछि घरेलु क्रिकेट प्रतियोगिता खेलिरहेका सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरेको खेलमा सिद्धान्त लोहनी,  सौरभ खनाल र विपिन आचार्यले उत्कृष्ट ब्याटिङ गरे ।

काठमाडौं मेयर्स ११ टिमको कप्तानी गरिरहेका सन्दीपले बागमती प्रदेश विरुद्ध आक्रामक ब्याटिङ गर्दै ४२ रन बनाए ।  उनले २० बल खेल्दै ६ छक्का मद्दतमा ४२ रन बनाए । सन्दीपले अरियो पौडेललाई ३ छक्का प्रहार गर्दा विपिन आचार्यलाई २ र पारस खड्कालाई १ छक्का प्रहार गरेका थिए ।  काठमाडौं मेयर्स ११ ले ११९ रनमा ७ विकेट गुमाएको अवस्थामा सन्दीपले सौरभसँग महत्वपूर्ण साझेदारी गरेका हुन् ।

नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले आठौं विकेटका लागि सौरभ खनालसँग ५७ रनको साझेदारी गरे ।  सौरभले अविजित रहँदै काठमाडौं मेयर ११ का लागि सर्वाधिक ४९ रन बनाए । उनले ५८ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । सौरभ र विपिन खत्रीले नवौं विकेटका लागि ६० रनको साझेदारी गरे । विपिनले ३० बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए ।

त्यसअघि काठमाडौंले ४३ रनमा सुरुवाती ५ विकेट गुमाएको थियो । छैटौं विकेटका लागि सन्दीप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

काठमाडौं मेयर ११ का ओपनर हरिशंकर शाह ६, अर्जुन कुमार ८, विपिन रावल ११, कृष्ण कार्की शून्य र विवेक यादव १ रनमा आउट भएका थिए । बलिङमा बागमतीका नन्दन यादवले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरी र अरियो पौडेलले २-२ र दीपेश श्रेष्ठले १ विकेट लिए ।

बागमतीको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार मूलपानी मैदानमै भएको खेलमा बागमती नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो ।

बागमतीले आफ्नो तेस्रो खेल मंगलबार एपीएफसँग खेल्नेछ । यस्तै काठमाडौं मेयर्स ११ ले सोमबार टीयू मैदानमा त्रिभुवन आर्मीसँग खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment