२३ फागुन काठमाडौं । सन्दीप लामिछानेले घरेलु क्रिकेटमा पुनरागमन गर्दा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जित दिलाए । उनी आफ्नो स्वभाविक लेग स्पीनभन्दा ब्याटिङमा चम्किए । लामो समयपछि घरेलु क्रिकेट खेलेका सन्दीपले शानदार पुनरागमन गरे ।
काठमाडौं मेयर्स कप २०७७ मा आयोजक मेयर्स ११ टिमकै कप्तानी गरेका सन्दीपले मूलपानी मैदानमा बागमती प्रदेशविरुद्ध अलराउण्ड प्रदर्शन गरे ।
सन्दीपले ब्याटिङमा ४२ रन बनाए भने बलिङमा ३ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका उनी म्यान अफ दी म्याच नै घोषित भए ।
सन्दीपको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं मेयर्स ११ टिमले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्कादेखि पृथु बास्कोटा, इशान पाण्डे, रामनरेश गिरी जस्ता खेलाडी रहेको बागमती प्रदेशलाई सहजै ९४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
५० ओभरको प्रतियोगितामा सन्दीपले कप्तानी डेब्युमै जित हात पारेका हुन् । यसअघि सन् २०१८ मा भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० फ्रेन्चाइज टुर्नामेन्टमा सन्दीपले विराटनगर टाइटन्सको कप्तानी गरेका थिए । जसमा विराटनगरले लिगमा ५ खेल खेल्दा १ खेल मात्र जितेको थियो ।
विश्वभर फ्रेन्चाइज क्रिकेट टुर्नामेन्ट खेलेर ग्लोबल स्टारको छवि बनाइसकेका २० वर्षीय लेगस्पीनर सन्दीप लामिछानेले २७ महिनापछि घरेलु क्रिकेटमा पुनरागमन गरेका हुन् । उनले पछिल्लो पटक सन् २०१८ डिसेम्बरमा एभरेष्ट प्रिमियर लिग खेलेका थिए ।
ललितपुर प्याट्रिओट्सका लागि चितवन टाइगर्स विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका सन्दीप त्यतिबेला पनि म्यान अफ दी म्याच घोषित भएका थिए ।
यो २७ महिनाको अवधिमा सन्दीपले धेरै देश घुमे, लिग खेले, विकेट लिए । तर घरेलु प्रतियोगिता खेल्ने अवसर पाएका थिएनन् ।
जतिखेर अवसर पाए उनले आफ्नो प्रदर्शन देखाइहाले ।
बागमती प्रदेशविरुद्ध आफ्नो टिम संकटमा परेका बेला सन्दीपले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले खेलपछि आफू चार्जिङ मुडमा मैदान प्रवेश गरेको र त्यही अनुसार ब्याटिङ गरेको बताए । ‘ब्याटिङ गर्न सजिलो त थिएन तर म चार्जिङ मुडमा गएको थिएँ । क्याल्कुलेटिभ रिस्क लिनु जरुरी थियो आज कनेक्ट भयो ।’
सन्दीपले २० बल खेल्दै ६ छक्का प्रहार गरेर र ४२ रन बनाए । सन्दीपले बागमतीका अरियो पौडेललाई ३ छक्का प्रहार गर्दा विपिन आचार्यलाई २ र पारस खड्कालाई १ छक्का प्रहार गरेका थिए । काठमाडौं मेयर्स-११ ले ११९ रनमा ७ विकेट गुमाएको अवस्थामा सन्दीपले सौरभ खनालसँग आठौं विकेटका लागि महत्वपूर्ण साझेदारी गरेका हुन् ।
नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले सौरभसँग ५७ रनको साझेदारी गरेका थिए । सौरभले अविजित रहँदै काठमाडौं मेयर ११ का लागि सर्वाधिक ४९ रन बनाए । उनले ५८ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे ।
सौरभ र विपिन खत्रीले नवौं विकेटका लागि ६० रनको साझेदारी गरे । विपिनले ३० बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए ।
त्यसअघि काठमाडौंले ४३ रनमा सुरुवाती ५ विकेट गुमाएको थियो । छैटौं विकेटका लागि सन्दीप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
‘केही कन्सन्ट्रेसन नभएर हामीले सुरुमा विकेट गुमायौँ । मूलपानी भन्ने बित्तिकै आत्तिन्छौ । सन्दीपले भने, ‘अन्तिम सम्म लिएर जानुछ भने रन बन्छ भन्ने थियो । मूलपानीमा पूरै ५० ओभर खेल्नु राम्रो हो । यस्तो खासै देखिँदैन ।’
सन्दीपले प्रदेशका लागि कप्तानी गरिसकेका ५ खेलाडी टिममा हुँदा कप्तानी गर्न त्यस्तो गाह्रो नभएको सुनाए ।
काठमाडौं मेयर ११ टिममा बागमती प्रदेश बाहेकका ६ प्रदेशका उत्कृष्ट खेलाडीहरु समावेश छन् । गत माघमा भएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु समेटर यो टिम बनाइएको हो ।
पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेल्न गएका सन्दीप कोरोनाका कारण लिग नै अनिश्चितकालको लागि स्थगित हुँदा शुक्रबार नेपाल फर्किएका थिए । र, आयोजक नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई मेयर्स ११ टिमको कप्तान नियुक्त गर्दै टिममा राखेको हो ।
काठमाडौं मेयर्स ११ ले अब सोमबारै बलियो टोली त्रिभुवन आर्मीविरुद्ध खेल्नेछ । प्रधानमन्त्री कपको विजेता आर्मी पहिलो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको थियो ।
सन्दीपले आर्मीविरुद्ध पनि राम्रो खेल्ने आशा राखेका छन् । ‘हामी एक पटकमा एक खेललाई हेर्छौँ । भोलि आर्मीसँग पनि राम्रो गर्ने आशा छ । जित्ने हो भने हरेक खेल महत्वपूर्ण छ । हामी बेस्ट क्रिकेट खेल्ने प्रयास गर्छौँ ।’ सन्दीपले भने ।
आर्मी र काठमाडौं मेयर्स ११ टिमको खेल सोमबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया 4