Comments Add Comment

कांग्रेस : गठबन्धन सरकार र ‘अर्ली इलेक्सन’को पक्षमा

कांग्रेस संसदीय दल

२४ फागुन, काठमाडौं । अघिल्लो सातासम्म नेकपाको प्रचण्ड-माधव समूहले प्रधानमन्त्री पद प्रस्ताव गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका थिए, नेकपा फुटेकै छैन । हतार नगरौं ।’

त्यसबेला नेकपा ओली र प्रचण्ड-माधव समूहमा विभाजित थिए । त्यसले कानूनी मान्यता नपाउँदै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा गरेको फैसलाले नेकपा औपचारिक रुपमै फुटेको छ, तर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिने गरी ।

नेकपामा पुष्पकमल दाहाल प्रचण्डसँग हातेमालो गर्न पुगेका माधवकुमार नेपाल समूह फैसलामा असहमति रहेपनि आफूहरु एमालेमै रहने निर्णय गरेपछि फैसलाले राजनीतिक वैधता पनि पाएको छ ।

त्यसो भए अब कांग्रेसले के गर्छ ?

देउवा निकट एक नेताका अनुसार अब प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र पार्टीको नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी दल (जसपा)को गठबन्धन सरकार बनाउने प्रयास हुनसक्छ ।

अरुको नेतृत्वलाई स्विकार गरेर गठबन्धन सरकारमा जान नहुने देउवा निकट नेताहरुको मत छ ।

यद्यपि यसबारे पार्टीले औपचारिक निर्णय गरेको छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘नेकपाको नाम विवादमा सर्वोच्चको फैसलाले राष्ट्रिय राजनीतिबारे हामी पनि एउटा टुंगोमा पुग्नैपर्ने भएको छ । उहाँहरु -एमाले र माओवादी केन्द्र) सम्हालिएपछि पार्टीको औपचारिक बैठक राखेर एउटा निर्णय लिन्छौं ।’

संसदको अंक गणित

२७० (२७५ मध्ये चार निलम्बित र एक सांसदको मृत्यु) सांसद भएको संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्न ६८ सांसद चाहिन्छ भने सरकार बनाउन १३६ ।

प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् । यदि उसले प्राधनमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हो भने अरु दलका थप ७ सांसदको साथ चाहिन्छ भने सरकार बनाउन ५३ सांसद भएको माओवादी केन्द्र र ३२ सांसद भएको जसपाको साथ लिनुपर्ने हुन्छ ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र तयार देखिएको छ । दुबै दलका नेताहरुबीच सम्भवतः छिट्टै सम्वाद हुनेछ ।

‘अर्ली इलेक्सन’ मा जोड

कांग्रेस नेताहरुका अनुसार गठबन्धन सरकार बनाउँदा पनि कांग्रेसको जोड ‘अर्ली इलेक्सन’ मा हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले संस्थागत रुपमा असंवैधानिक भन्दा पनि सभापति देउवा मध्यावधि चुनावको पक्षमा देखिएका थिए । सर्वोच्च अदालतले विघटन बदर गर्दै संसद पुनस्र्थापित गरिदिँदा पनि कांग्रेस नेताहरु प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष पुरा हुनु पर्ने पक्षमा खुलस्त थिएनन् ।

नाम उल्लेख नगर्ने शर्तमा देउवा निकट एक जना नेता भन्छन्, ‘तत्कालीन नेकपाको विभाजनले जनमत खण्डित भइसक्यो । अब ‘अर्ली इलेक्सन’ मा जानुको विकल्प छैन ।’ उनका विश्लेषणमा २०७८ जेठ असारमा चुनाव हुन सम्भव नभएकाले मंसिरमा चुनाव गर्ने गरी नयाँ गठबन्धन सरकार बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment