Comments Add Comment

कुनै पनि मन्त्री माओवादी केन्द्रमा फर्किने सोचमा हुनुहुन्न : थापा

२४ फागुन, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा रहेका पूर्वमाओवादी नेताहरु पूर्ववत पार्टीमा नफर्किने एकजना मन्त्री मणि थापाले बताएका छन् ।

खानेपानी मन्त्रीको जिम्मेवारीमा रहेका थापाले माओवादी केन्द्रमा नफर्किने बताए पनि अन्य मन्त्रीहरुले यस विषयमा खुलेर बोलेका छैनन् ।

वर्तमान सरकारमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपाल पक्ष एमालेमै फर्किने निर्णयमा पुग्यो । प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले एमाले अलग, माओवादी केन्द्र अलग भएर जाने निर्णय गर्‍यो ।

तर, खानेपानीमन्त्री मणि थापाका अनुसार वर्तमान सरकारमा रहेका कुनै पनि पूर्वमाओवादी मन्त्रीहरु पूर्वमाओवादीमा फर्किने सोचमा छैनन् । ‘सबैले राजनीतिक निर्णय लिनुभएको हो सायद त्यसैमा रहनुहुन्छ,’ मन्त्री थापाले अनलाइनखबरसँग भने ।

मन्त्री थापा अगाडि भन्छन्, ‘सर्वोच्चले नेकपा फुटायो, जे भए पनि उक्त फैसलालाई मान्नुको विकल्प रहेन । तर, हामीले नेकपाभित्रको अन्तरसंघर्षमा केपी ओलीलाई समर्थन गरेको हो । यो राजनीतिक समर्थनलाई अदालतको फैसलाले तलमाथि गर्दैन ।’

पूर्वमाओवादीमा नफर्किनेमा प्रष्ट हुनुहुन्छ उसो भए ? भन्ने थप जिज्ञासामा उनी भन्छन्, ‘हामीले गरेको राजनीतिक निर्णय हो ।’

ओलीले आफ्नो खेमामा आएका पूर्वमाओवादी नेताहरुलाई पार्टीमा ‘उचित जिम्मेवारी’ दिने बताउने गरेका छन् । तर, उनीहरुलाई कसरी र कहाँ-कहाँ समायोजन गरिन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment