Comments Add Comment

कांग्रेस नेता जोशीलाई फेरि भेन्टिलेटरमा राखियो

फाइल तस्वीर

२४ फागुन, काठमाडौं । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई शनिबारदेखि फेरि भेन्टिलेटरमा राखिएको छ ।

१३ फागुनमा अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा एक्कासी गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ ।

तर शनिबार बिहान एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न डा. राजीव झाले बताए । ‘भेन्टिलेटरबाट निकालेको २४ घण्टा भइसकेको थियो । तर शनिबार बिहान एक्कासी समस्या भयो,’ उनले भने, ‘अहिले ब्लड प्रेसर, हर्ट विट लगायत नर्मल नै देखिएको छ ।’

भेन्टिलेटरको सपोर्टमा भए पनि अहिले उनको रक्तचाप सामान्य छ भने प्रति मिनेट उनी आफैंले ८–१० पटक सास फेरिरहेका छन् । ‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ’ वरिष्ठ न्यूरो सर्जन डा. झाले भने ।

मष्तिष्कघात हुँदा रक्तश्राव भई जोशीको टाउकोमा रगत जमेको थियो । मंगलबार दिउँसो ३ बजेसम्मको उहाँको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण नै देखिएको अस्पतालले जनाएको छ ।

यसअघि गत सोमबार बिहानबाट जोशी आफैंले सास फेर्न थालेपछि भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको थियो ।

बेहोस अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर केही दिनअघि नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) समेत गरिएको थियो ।

‘उहाँको स्वास्थ्य अवस्थामा तीव्र सुधार आउने हामीले अपेक्षा गरेका छौं’ डा. झाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment