
२६ फागुन, काठमाडौं । चीन र रुसले चन्द्रमाबारे अध्ययनका लागि ‘लुनार स्पेस स्टेसन’ बनाउने घोषणा गरेका छन् । रुसको स्पेस एजेन्सी रोसकोसमोसले चीनको राष्ट्रिय स्पेस एड्मिनिस्ट्रेसनसँग चन्द्रमाको सतह वा कक्ष वा दुवैमा अध्ययनका लागि अन्तरिक्षमा अनुसन्धान केन्द्र खोल्ने सहमति भएको बताएको छ । दुवै मुलुकका अन्तरिक्ष केन्द्रले उक्त स्पेस स्टेसन अन्य मुलुकका लागि पनि उपलब्ध गराइने बताएका छन् ।
रुसको मानिससहितको अन्तरिक्ष विमानले उडान भरेको ६० औं वर्षगाँठ आउँदै गरेको अवस्थामा चीनसँग रुसले यस्तो सम्झौता गरेको हो । चीन र रुसले संयुक्तरुपमा निर्माण गर्ने स्पेस स्टेसनबाट चन्द्रमाको विषयमा थप धेरै अनुसन्धानका लागि सहयोग पुग्नेछ । चिनियाँ विश्लेषक चेन लानले बीबीसीसँगको कुराकानीमा यो ठूलो सम्झौता भएको उल्लेख गरेका छन् । चीनको लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरिक्षको साझेदारीको प्रोजेक्ट भएकाले यो निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।
पछिल्लो समय चीनले आफ्नो पहुँच अन्तरिक्षमा पनि विस्तारका लागि विभिन्न योजना ल्याइरहेको छ । गत डिसेम्बरमा चिनियाँ अन्तरिक्ष विमानले चन्द्रमाबाट नमुना संकलन गरेर ल्याएको थियो ।
-एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4