Comments Add Comment

ह्यारी र मेघनमाथि भएको व्यवहारप्रति बेलायती राजपरिवारले भन्यो : हामी स्तब्ध छौं

२६ फागुन, काठमाडौं । बेलायतको राजपरिवारले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजपरिवारबारे उठेको रंगभेदसम्बन्धी प्रश्नको जवाफ दिएको छ । उक्त विज्ञप्तिमा प्रिन्स ह्यारी र उनकी पत्नी मेघनका लागि पछिल्लो केही वर्ष कति चुनौतीपूर्ण थियो भन्ने थाहा पाउँदा पूरै परिवार स्तब्ध भएको उल्लेख छ ।

साथै उक्त विज्ञप्तिमा ह्यारी र मेघनले अन्तर्वार्ताको क्रममा उठाएको रंगभेदको विषयमा पनि ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । मानिसहरुले यसलाई निकै गम्भीरतापूर्वक लिएको र यो विषयलाई निजी रुपमा नै समाधान गरिने पनि उक्त विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा राजपरिवारका सदस्यले ह्यारी मेघन र उनीहरुका छोरा आर्चीलाई धेरै माया गर्ने पनि उल्लेख छ । यसअघि एक अन्तर्वार्ताको क्रममा ह्यारी र मेघनले राजपरिवारभित्र आफूहरुले विभेद भोग्नुपरेको उल्लेख गरेका थिए । उनीहरुको अन्तर्वार्तापछि बेलायतको राजपरिवारमाथि यस विषयमा जवाफ दिन दबाब बढेको थियो ।

के थियो विवाद ?

चर्चित अमेरिकी टेलिभिजन सञ्चालिका ओप्रा विन्फ्रेलाई दिएको अन्तर्वार्तामा मेघनले राजपरिवारमा रहँदाको अनुभव सुनाएकी थिइन् । सो क्रममा उनले शाही परिवारका एक सदस्यले उनीहरुको छोराको वर्ण कति कालो हुन्छ होला भनेर ह्यारीलाई सोधेको बताएकी थिइन् । यद्यपि यो प्रश्न प्रिन्स फिलिप अर्थात् ह्यारीका हजुरबाले भने नगरेको अन्तर्वार्तामा स्पष्ट पारिएको थियो ।

अमेरिकी अभिनेत्री मेघन मर्केल गोरा बुबा र अश्वेत आमाकी सन्तान हुन् । यो अन्तर्वार्तापछि राजपरिवारमा यसबारे जवाफ दिने दबाब बढेको थियो । मंगलबार यो विज्ञप्ति आउनुभन्दा पहिला शाही परिवारका वरिष्ठ अधिकारीको आपतकालीन बैठक पनि बसेको थियो ।

अन्तर्वार्ताको क्रममा मेघनले राजपरिवारमा आफूले भोगेको रंगभेद, आफ्नो मानसिक स्वास्थ्य र सञ्चारमाध्यमप्रतिको व्यवहारको विषय उठाएकी थिइन् । उनले राजपरिवारमा रहँदा आफूले लामो समयसम्म एक्लोपना महसुस गरेको बताएकी थिइन् । उनले त्यस्तो एक्लोपना त्यसअघि कहिल्यै पनि गर्न नपरेको उल्लेख गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘राजपरिवारमा मलाई धेरै किसिमको नियम लगाइएको थियो । म साथीहरुसँग लन्च खान बाहिर जान पाउँदैनथेँ ।’

मेघनले ह्यारीसँग हुँदा भने एक्लो महसुस नहुने तर उनलाई कुनै काम विशेषले बाहिर जानुपर्दा भने एक्लोपनाले सताउने उल्लेख गरेकी थिइन् । उनले आफूलाई धेरै काम गर्ने अधिकार नभएकाले पनि एक्लोपनाको समस्या बढेको अन्तर्वार्तामा बताएकी थिइन् ।

त्यस्तै अर्को एक प्रसंगमा उनले भनेकी थिइन्, ‘म बाँच्न चाहँदैनथेँ । मलाई यो कुरा ह्यारीलाई भन्न पनि लाज लागिरहेको थियो किनकी उसले जिन्दगीमा धेरै कुरा गुमाएको छ । यस किसिमको डरलाग्दो सोच मेरो दिमागमा सधैं आइरहन्थ्यो ।’

मेघनले आफू गर्भवती हुँदा नै आर्ची (ह्यारी र मेघनको छोरा) को सुरक्षा र उसले पाउने उपाधिको नियम परिवर्तन गरिएको र ऊ जन्मिनुअघि नै उसको वर्ण कति कालो हुन्छ भन्ने चिन्ता गर्न थालिएको बताइन् ।

अन्तर्वार्तामा ह्यारीले रंगभेदको विरोधमा आफ्नो परिवार नउभिएको विषयमा आफूलाई निकै दुःख लागेको बताएका थिए ।

गत वर्षको सुरुदेखि नै ह्यारीले आफू र पत्नीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग गरेको घोषणा गरेका थिए । साथै उनले आफू आर्थिकरुपमा स्वतन्त्र बन्नका लागि काम गर्ने बताएका थिए । एक विज्ञप्ति जारी गर्दै उनले अब बेलायत र उत्तरी अमेरिकामा आफ्नो समय बिताउने बताएका थिए ।

राजपरिवारका सदस्यहरुले यो निर्णयबाट आफूहरु दुःखी भएको बताएका थिए । सन् २०२० को फेब्रुअरीमा ह्यारी आफ्नी पत्नी र छोरा आर्चीसँग अमेरिकाको क्यालिफोर्निया गएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment