Comments Add Comment

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

२७ फागुन, काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ । पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएको बताएका छन् । यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ ।

बुधबार भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । तृणमूल कांग्रेसले यो घटनामा विपक्षीको हात रहेको बताएको छ । भारतीय जनता पार्टीले भने यो आक्रमणलाई नौटंकीको संज्ञा दिँदै यसबारे अनुसन्धान हुनुपर्ने माग गरेको छ । मुख्यमन्त्रीको उपचारमा खटिएका डाक्टरले भने उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको बताएका छन् । उनका अनुसार उनको दायाँ काँध, पाखुरा र गर्धनमा पनि चोट लागेको छ । मुख्यमन्त्रीलाई २४ घण्टा ४८ घण्टासम्म चिकित्सकीय निगरानीमा राखिने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

विपक्षीहरुले भने उनलाई जेड प्लस सुरक्षा दिइएको र यो सुरक्षा तोडेर उनीमाथि कसैले आक्रमण गर्न नसक्ने भएकाले उनले मानिसहरुको सहानुभूति बटुल्न यो नौटंकी गरेको बताएका छन् । मुख्यमन्त्री बनर्जीले भने आफू कारमा यात्रा गरिरहेको समयमा सुरक्षाकर्मी आफ्नो साथमा नरहेको र सोही मौकामा आफूमाथि आक्रमण भएको बताएकी थिइन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment