२१ वैशाख, काठमाडौं । पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनको मत गणना जारी छ । हालसम्मको रुझान हेर्दा भारतीय जनता पार्टी (भाजपा) जितको नजिक पुगेको देखिएको छ । भाजपाले जितको खुसीयालीको तयारी पनि सुरु गरिसकेको छ ।
सन् २०११ देखि निरन्तर सत्तामा रहेकी ममता बनर्जी नेतृत्वको सर्वभारतीय तृणमूल कांग्रेस (टीएमसी)लाई पराजितलाई पछि पार्दै भाजपाले पहिलो पटक पश्चिम बंगालमा सरकार बनाउने अवस्था देखिएको हो ।
२९४ सदस्यीय विधानसभामा भाजपाले स्पष्ट बहुमतको आँकडा पार गरिरहँदा टीएमसी एक सय सिटभन्दा तल नै हुने देखिएको छ । पछिल्लो रुझानअनुसार भाजपाले २०५ सिटमा अग्रता लिइरहँदा टीएमसी ८२ सिटमा अग्रता लिइरहेको छ ।
अन्य दलतर्फ भारतीय राष्ट्रिय कांग्रेस(कांग्रेस आई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) र अखिल भारतीय धर्मनिरपेक्ष मोर्चाले दुई–दुई सिटमा अग्रता लिइरहेका छन् । यस्तै अन्य दुई सिटमा आम जनता उन्नयन पार्टीले अग्रता लिएको देखिएको छ ।
मतदानपछि एक्जिट पोलले पनि भाजपाले जित्ने बताएका थिए । जसमा धेरैले प्रश्न उठाउँदै भनेका थिए–बंगालमा भाजपा जित्न सक्दैन । तर नतिजाले भने एक्जिट पोलहरू सही सावित भएको देखाएका छन् ।
पूरापूर उलटफेर
सन् २०२१ को विधानसभा चुनावमा टीएमसीले २१३ सिट जित्दै प्रचण्ड बहुमत हासिल गरेको थियो । भाजपा ७७ सिटसहित दोस्रो स्थानमा पुगेको थियो ।
त्योबेला टीएमसीको मत ४८.०२ प्रतिशत र भाजपाको ३८.१५ प्रतिशत मात्र थियो । कांग्रेस आई र वाममोर्चा गठबन्धन भने एक सिट मात्रै जित्न सकेका थिए ।
तर, अहिलेको नतिजाले भने समीकरण पूर्ण रूपमा उल्टाएको देखिँदैछ । अघिल्लो पटक दुई तिहाइ पाएको टीएमसीले रुझानका आधारमा हेर्दा १३१ सिट गुमाउने देखिन्छ ।
मत प्रतिशतको हिसाबले पनि यो उलटफेर ऐतिहासिक हुने देखिएको छ । भाजपाको मत बढेर ४५.५६ प्रतिशत पुग्दा सन् २०२१ को तुलनामा उसले ७.४१ प्रतिशतले बढाएको देखिन्छ ।

टीएमसीको मत प्रतिशत ४८.०२ प्रतिशतबाट घटेर ४०.८१ प्रतिशतमा झरेको देखिएको छ ।
यसप्रकारको मत परिवर्तनले पश्चिम बंगालको राजनीतिमा आएको संरचनात्मक परिवर्तन आएको स्पष्ट पारेको देखिन्छ ।
मतदानका हिसाबले पनि यो चुनाव निकै ऐतिहासिक बनेको छ । सन् २०२१ मा ८१.८ प्रतिशत मतदान भएकामा यसपटक ९२.४७ प्रतिशत पुगेको छ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले यसलाई स्वतन्त्रता पश्चात्को सबैभन्दा उच्च मतदान भएको घोषणा गरेका छन् ।
प्रेसिडेन्सी क्षेत्रमा भाजपाको पकड
पश्चिम बंगालको राजनीतिमा निर्णायक मानिने १११ सिटको प्रेसिडेन्सी क्षेत्रमा यसपटक भाजपाले उल्लेख्य सफलता प्राप्त गरेको छ । सन् २०२१ मा यस क्षेत्रका ९६ सिट जितेर वर्चस्व जमाएको टीएमसी अहिले ५१ सिटमा खुम्चिएको छ, भने भाजपा ५५ सिटमा अगाडि देखिएको छ ।
विशेषगरी कोलकाताका श्यामपुकुर, एन्टाली र माणिकतला जस्ता टीएमसीका पुराना गढहरूमा भाजपाले अग्रता लिएको छ । सबैभन्दा ठूलो उलटफेर अभिषेक बनर्जीको प्रभाव क्षेत्र मानिने डायमन्ड हार्बरमा देखिएको छ, जहाँ भाजपा उम्मेदवार दीपककुमार हल्दारले अग्रता बनाएका छन् ।
साथै, ग्रामीण क्षेत्र र आरक्षित निर्वाचन क्षेत्रहरूमा प्राप्त व्यापक जनसमर्थनले भाजपाको बहुमतलाई थप सुनिश्चित गरिदिएको छ ।
प्रमुख नेताको अवस्था
मुख्यमन्त्री ममता बेनर्जी भबानीपुर निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेकी छिन् । उनी भाजपाका सुभेन्दु अधिकारीभन्दा केही मतले अगाडि देखिन्छन् ।

यद्यपि बिहानको प्रारम्भिक रुझानमा अधिकारीले नै अग्रता लिएका थिए । उता, सुभेन्दु अधिकारीले नन्दीग्राम क्षेत्रबाट आफ्नो अग्रता कायम राख्दै भाजपाको जित सुनिश्चित भएको दाबी गरेका छन् ।
नतिजाले टीएमसीको मन्त्रिमण्डलमा समेत ठूलो धक्का पुर्याएको छ । ममता सरकारका २० भन्दा बढी मन्त्री पराजित हुने अवस्थामा पुगेका छन् ।
दिनहाटाबाट उदयन गुहा, नवदाबाट साहिना मोमताज खान र श्यामपुकुरबाट शशी पाञ्जा प्रतिस्पर्धीसँग पछाडि परेका छन् । यसले टीएमसीको सङ्गठन र नेतृत्वमा आएको ठूलो क्षयलाई प्रस्ट पारेको छ ।
निर्वाचन आयोगमाथि गम्भीर आरोप
प्रारम्भिक रुझानहरूमा भाजपाले अग्रता लिएपछि मुख्यमन्त्री बनर्जीले एक भिडिओ सन्देशमार्फत निर्वाचन आयोगको भूमिकामाथि गम्भीर प्रश्न उठाएकी छिन् ।
‘सुरुवाती चरणको नतिजा आफ्नो पक्षमा देखाउनु उनीहरूको रणनीति हो,’ बेनर्जी ले भनेकी छिन् । उनले मतगणना प्रक्रियामा अनियमितता भएको र धेरै निर्वाचन क्षेत्रमा नियोजित रूपमा गणना सुस्त बनाइएको वा रोकिएको आरोपसमेत लगाएकी छिन् ।
बनर्जीले टीएमसीका कार्यकर्ताहरूलाई कुनै पनि हालतमा मतगणना केन्द्र नछोड्न र अन्तिम समयसम्म धैर्य राख्न भनेकी छन् ।
वाममोर्चा र कांग्रेसको स्थिति
३४ वर्षसम्म पश्चिम बंगालमा शासन गरेको भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)को स्थिति यो निर्वाचनमा पनि उस्तै दयनीय देखिएको छ । हालको स्थितिमा उसले २ सिटमा मात्रै अग्रता लिएको देखिन्छ । सन् २०११ मा सत्ताच्युत भएपछि सुरु भएको वाममोर्चाको गिरावट यसपटक पनि उस्तै कायम रहेको छ ।

वाम मोर्चासँग चुनावी तालमेल गरेको अखिल भारतीय धर्मनिरपेक्ष मोर्चा (आइएसएफ) ले २९ क्षेत्रमा उम्मेदवारी दिए पनि एक सिटमा मात्र अग्रता लिन सकेको छ ।
कांग्रेस आईको हबिगत पनि उस्तै देखिन्छ । उसले दुई सिटमा अग्रता कायम गरेको छ ।
संरचनात्मक परिवर्तन
यो परिणामले बंगालको राजनीतिमा गहिरो संरचनात्मक परिवर्तन देखाएको विश्लेषण भइरहेको छ । विश्लेषकले भाजपाको यो जित केवल चुनावी सफलता मात्र नभएर ठूलो वैचारिक फड्को भनिरहेका छन् ।
यो नतिजाले सन् २०२९ को आगामी लोकसभा चुनावका लागि पनि भाजपालाई बलियो आधार दिएको छ ।
१५ वर्षपछि बनर्जीको बहिर्गमन
सन् २०११ मा ३४ वर्षे वाम शासन अन्त्य गरेकी ममता बनर्जी त्यसपछि १५ वर्ष शासन गरेर आफै बहिर्गमन हुने चरणमा पुगेकी छन् ।
आसामपछि पश्चिम बंगालमा प्राप्त यो सफलताले भाजपा भने ‘पूर्वी भारत विस्तार’ को रणनीतिलाई निर्णायक उचाइमा पुगेको छ ।
यद्यपि, मुख्यमन्त्री बनर्जीले निर्वाचन आयोगको भूमिकामाथि गम्भीर प्रश्न उठाएकाले आगामी दिनमा राजनीतिक तनाव बढ्नसक्ने सम्भावना उत्तिकै छ । उसैपनि भारतका विपक्षी दलले लामो समयदेखि निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको भूमिकाप्रति प्रश्न उठाइरहेकै छन् । त्यसमा बनर्जी पनि थपिँदा राजनीतिक तिक्तता निकै चुलिनसक्ने विश्लेषण भइरहेको छ ।
प्रतिक्रिया 4