Comments Add Comment

सरकार र जसपाबीच आज पनि वार्ता

२८ फागुन, काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो । त्यसैले यो वार्तालाई चासोका साथ हेरिएको छ ।

जसपा नेता कर्णका अनुसार प्रधानमन्त्री ओलीले जसपाले राखेका मागहरुमा सरकार सकारात्मक भएको बताएका थिए । सोही आधारमा शुक्रबारको वार्ता टुंगोमा पुग्ने अपेक्षा गरिएको उनले बताए ।

जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ । आफ्ना माग सम्बोधनका लागि जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा छलफल नै नगरी सरकारसँग वार्ता गर्न कार्यदल गठन गरेपछि कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई असन्तुष्ट छन् ।

प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ । निलम्वितबाहेक ३२ सांसद रहेका जसपाको एउटा खेमालाई भए पनि साथ लिने रणनीतिमा ओली छन् ।

यो पनि पढ्नुहोस किन मुख्य सत्ता सर्त बन्दैछन् रेशम चौधरी ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment