
८ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी दुई मन्त्रीहरू फेरबदल गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको छ । अध्यक्ष अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय भन्दै पत्र पठाएका थिए ।
तर, प्रधानमन्त्रीले त्यसअनुसार मन्त्रिपरिषद् पुनर्गठन भने गरेका छैनन् । मन्त्री नफेरेपछि जसपाले प्रधानमन्त्रीसँग ताकेता गर्न थालेको छ ।
जसपाले खानेपानीमन्त्री प्रदीप यादवको स्थानमा वीरेन्द्र महतो र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको ठाउँमा रञ्जु झालाई पठाउनेगरी निर्णय गरेको हो । शनिबार बसेको पार्टीको बैठकमा फेरि यो कुरा उठेको हाे ।
बैठक स्रोतका अनुसार, शनिबार बैठकमा मन्त्रीहरूलाई राजीनामा दिन भनिएको छ । पार्टीभित्रको सहमति अनुसार गत वैशाखमै उनीहरूको एक वर्षे समयावधि सकिएको र त्यसपछि बजेटसम्म पर्खिने भन्दै उनीहरू पदमै रहेको विषयमा कुराकानी भएको थियो ।
बजेट पास भएपछि पनि उनीहरूले पद नछाडेकोले शनिबारको बैठकमा उनीहरूलाई छोड्न पुन: ताकेता गरिएको हो ।
मन्त्री बन्ने सूचीमा रहेका जसपा नेपालका नेता वीरेन्द्र महतोका अनुसार, सरकारमा सहभागी हुने बेलामै पार्टीमा एक वर्षमा मन्त्री फेरबदल गर्ने भन्ने सहमति थियो ।
त्यही सहमति अनुसार अहिले समयावधि पुगेकाले फेर्न लागिएको उनको भनाइ छ ।
‘सरकारमा जाने बेलामा नै एक वर्षमा फेर्ने भन्ने पार्टीको सहमति हो । सम्माननीयज्यूकोमा पत्र गइसकेको छ । कहिले औपचारिकता पाउँछ सम्मानीयज्यूको हातमा छ,’ महतोले अनलाइनखबरसँग भने ।
महिलामन्त्री नवलकिशोर साह सुडीले आफूहरूलाई बदल्नेबारे कुनै जानकारी नआएको बताए । ‘मन्त्री बनाउने कुरा पार्टी र प्रधानमन्त्रीमाथि निर्भर रहन्छ,’ उनले भने, ‘मलाई यसबारे केही जानकारी आएको छैन ।’
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसकै पनि मन्त्रीहरू फेरबदलको चर्चा चलिरहेको छ । तर, मन्त्री फेर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएसँग प्रधानमन्त्री ओलीले पुनर्गठन अघि बढाएका छैनन् ।
प्रतिक्रिया 4