+
+
Shares

एसपीलाई गाली गर्ने जसपा मधेश अध्यक्ष यादवविरुद्ध पहिल्यै चलेका थिए ७ मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २१ गते २१:४०

२१ असार, काठमाडौं । सर्लाहीका प्रहरी उपरीक्षकलाई गालीगलौज गरेपछि पक्राउ पुर्जी जारी भएका जसपा मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध यसअघि पनि ७ वटा कसुरमा मुद्दा चलेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोन कुराकानीमा अश्लिल शब्द प्रयोग गदै गालीगलौज गरेपछि यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष यादवले यसअघि नै ५ पटक अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपेको प्रहरी स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

यस्तै, यादवविरुद्ध प्रहरीले यसअघि ज्यान मार्ने उद्योगसहित चोरी मुद्दाको कसुरमा समेत मुद्दा चलाइएको थियो ।

शुक्रबार पक्राउ पूर्जी जारी भएपछि उनी फरार छन् ।

यादवले यसअघि खेपेका मुद्दाहरुको पृष्ठभूमि

राजनीतिक संरक्षणको आडमा पटकपटक उम्किँदै आएका यादवको पृष्ठभूमि भने विवादित छ ।

सर्लाहीका एसपी खड्कालाई ‘मधेशमा लुट्न आएको’ आरोप लगाउँदै अश्लिल गाली गरेका जसपा मधेश अध्यक्ष यादवविरुद्ध यसअघि दुई पटक प्रहरीलाई नै गालीगलौज गरेपछि अभद्र व्यवहारको मुद्दा चलाइएको थियो ।

पछिल्लो पटक पाँच वर्षअघि ०७७ जेठ २७ मा सर्लाहीको चक्रघट्टामा जग्गाको विषयमा विवाद हुँदा उनले ज्यानै मार्ने किसिमले निर्घात् कुटपिट गरेका थिए ।

चक्रघट्टा गाउँपालिका-७ का राज नारायण रायसँग सडकको जग्गाको विषयमा विवाद हुँदा यादवले उनलाई कुटपिट गरेका थिए । त्यसपछि रायले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।

०७३ कात्तिक २९ मा पनि सर्लाहीकै साविकको सलेमपुर गाविस-७ मा डिउटीमा खटिएका प्रहरी टोलीलाई गालीगलौज गरेपछि उनीविरुद्ध अभद्र व्यवहारको कसुर मुद्दा चलाइएको थियो ।

यादवमाथि शंका लागेपछि प्रहरीले जाँच गर्न खोज्दा उनले गालीगलौज गर्दै हातपात गर्न खोजेका थिए ।

०७३ साउन १३ मा सर्लाहीको मलंगवा नगरपालिका-४ स्थित सिंचाइ विकास डिभिजन कार्यालयमा अनधिकृतरुपमा प्रवेश गरी यादवले कर्मचारीको मोबाइल नम्बर मागेर गालीगलौज गरेका थिए ।

सिंचाइ विकास डिभिजन कार्यालय, मलंगवाका प्रमुख मनोरंजन कुमार सिंहले आफूलाई यादवले मोबाइल नम्बर मागेर फोन गर्दै ‘लात, जुत्ताले हान्छु’ भन्दै धम्की दिएको भनेर जाहेरी दिएपछि प्रहरीले अभद्र व्यवहारको कसुर मुद्दा चलाएको पाइएको छ ।

०७२ पुस ५ गते तत्कालीन संघीय समाजवादी फोरमका सर्लाही जिल्ला अध्यक्ष रहेका यादवले जिल्ला प्रशासन कार्यालयको नागरिकता तथा राहदानी फाँटमा प्रवेश गरी कम्प्युटर, मोनिटर र प्रिन्टर तोडफोड गरी क्षति पुर्याएका थिए ।

हुलहुज्जत गरी सरकारी सम्पत्तिमा क्षति पुर्याएपछि प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।

यादवविरुद्ध ०७२ फागुनमा मादक पदार्थ सेवन गरी डिउटीमा रहेका प्रहरीलाई गालीगलौज गरेको कसुरमा मुद्दा चलाइएको थियो ।

०६६ असोज १० गते काठमाडौंबाट मलंगवातर्फ फर्कदै गरेका जिल्ला शिक्षा कार्यालयका लेखापाल शिवशंकर प्रसाद महतोलाई मोटरसाइकल रोकेर यादवले डेढ लाख नगद लुटपाट गरेको अभियोगमा चोरी मुद्दामा कारबाही गरिएको थियो । सो क्रममा यादवको समूहले लेखापाल यादवको मोटरसाइकलमा समेत तोडफोड गरेका थिए ।

यस्तै ०५७ पुस ८ गते सर्लाहीकै मलंगवा नगरपालिका-१० मा जिल्ला कृषि विकास कार्यालयमा बसिरहेका नथुनी साहलाई यादवले गालीगलौज गरेको अभियोगमा जाहेरी परेपछि अभद्र व्यवहारकै कसुरमा मुद्दा चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?