Comments Add Comment

ओलीको मूर्खतापूर्ण निर्णय मान्दैनौं : घनश्याम भुसाल

२८ फागुन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भनेका छन् ।

ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाएका छन् । उनले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

यसबारे प्रतिक्रिया दिँदै माधव नेपाल पक्षीय नेता भुसालले ओलीको निर्णय कुनै हालतमा मान्य नहुने बताएका छन् ।

यो कदमको राजनीतिक रुपमा भर्त्सना र निन्दा गर्नुका साथै कानूनी रुपमा च्यालेन्ज गर्ने भन्दै उनले भने, ‘सामान्यता ५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा यस्तो हुन्थ्यो होला । हाम्रो मुलुकमा कुनै तानाशाहले पनि यो तहमा गरेको छैन ।’

स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भन्दै नेता भुसालले अनलाइनखबरसँग भने, ‘उहाँले दुई तिहाईको बहुमत र पार्टी एकता सक्नुभयो । संसदलाई हिँडाउन खोज्नुभयो । सक्नलाई एउटा मात्र बाँकी थियो, त्यो हिजोको पार्टी नेकपा एमाले ।’

एमाले स्थिर लोकतान्त्रिक विकासको कर्णाधार भएकाले ओलीले त्यसमाथि आक्रमण सुरु गरेको भुसालले बताए ।

यो लोकतान्त्रिक स्थिरताका साथ मुलुकले लिएको संकल्प र विश्वासमाथि भइरहेको आक्रमणमध्ये अन्तिम चरणको पहिलो किस्ता हुनसक्ने भन्दै उनले भने, ‘ओलीको यो कदम सफल हुने भनेको कम्युनिस्ट आन्दोलन र मुलुकले हार्ने कुरा हो ।’

एमाले अध्यक्ष ओलीको यस्ता कदमलाई परास्त गर्नसक्ने शक्ति समाज र एमाले पार्टीमा रहेको उनले बताए । ‘ओलीजीका यस अगाडिका हर आक्रमणलाई परास्त गरेझैं यो आक्रमणलाई पनि परास्त गरिने छ’ एमाले उपमहासचिव भुसालले भने, ‘यो मुलुकको कम्युनिस्ट आन्दोलनमा एमालेले बनाएको जुन सामर्थ्य र जीवनशक्ति छ । त्यसलाई संगठित गरेर यसलाई परास्त गरिनेछ ।’

संसद विघटन, एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि तेस्रो किस्ताका रुपमा यो कदम आएको भन्दै उनले न्यायिक र वैधानिक हिसाबले च्यालेन्ज गर्ने बताए । ‘राजनीतिक हिसाबले त भर्त्सनायोग्य, निन्दायोग्य छ’ उनले भने ।

माधव नेपाल पक्षमा रहेका उपमहासचिव भुसालले कुनै न कुनै ठाउँमा लगेर ओलीलाई सुधार्न सकिन्छ वा ओलीजीको गलत प्रवृत्तिबाट पार्टीलाई मुक्त पार्न सकिन्छ भनेर अहिलेसम्म ओलीसँग रहेका नेताहरुले पनि यसबारे सोच्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment