Comments Add Comment

बसाइसराइ रोक्न होमस्टे, आकर्षित हुँदै पर्यटक

२९ फागुन, चितवन । चितवनको माडी नगरपालिका वडा नं. ६ लक्ष्मीवासबाट पछिल्लो दशकमा बसाइसराइ गर्ने क्रम त्रीव बन्यो । कोेही सदरमुकाम भरतपुर, कोही राजधानी काठमाडौं त कोही माडीकै केन्द्र बसन्तपुरलगायतका सहरी क्षेत्रतिर बसाइ सर्न थालेपछि गाउँ रित्तो बन्ने खतरा आयो ।

सुविधाको खोजीमा सहर पस्नेहरु बढ्दै गए । खेतबारी बाँझा भए । अलिक वर्षअघिसम्म चहलपहल निकै भएको गाउँमा युवाहरु देखिन छाडे । सो ठाँउमा बागमती प्रदेश सरकारले मदन पुष्पबाटिका, भ्यूटावर लगायतका संरचना बनाउन सुरु गरेपछि यहाँका स्थानीय जनताको दिमाखमा पनि एउटा जुक्ति फुर्‍यो ।

भ्यूटावर, पुष्पबाटिकामा रमाउने आउनेहरुका लागि होमस्टे सञ्चालन गर्ने । सोही गाउँका स्थानीय शिक्षक खडानन्द अधिकारी निवृत्त भए । बाँकी जीवनको सदुपयोग सामाजिक काममा लगाउने र गाउँबाट भइरहेको तीव्र बसाइसराइ रोक्ने र गाउँमा नै आयआर्जन गर्ने सोचका साथ उनले होमस्टे बनाउने अभियानलाई गाउँलेहरुलाई सहमत गराए ।

स्थानीय वासिन्दाकै लगानीमा ५ वटा घरमा होमस्टे बनेका छन् । थप केही घरहरुमा बनाउने काम भैरहेको छ । माडी भ्यू सामुदायिक होमस्टे सञ्चालन गर्ने तयारी भएकै बेला कोरोना भाइरस संक्रमणले गर्दा बाधा उत्पन्न गरेको सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारीले बताए ।

विगत दुई महिना अगाडिबाट सुरु भएको होमस्टेमा आन्तरिक पर्यटकहरु आउन थालेपछि गाउँको रौनक नै फेरिएको छ । गाउँमा चहलपहल बढेको छ । स्थानीय खुसी बन्न थालेका छन् ।

दुई महिनाको अवधिमा करिब ५०० जति पाहुनालाई स्वागत गरिसकिएको घरबास सञ्चालक समितिका सचिव प्रेम विष्ट बताउँछन् । ‘शान्त ठाउँ छ । सहरको कोलाहलबाट निकै ग्रामीण परिवेशमा पाहुनाहरु बस्न पाउनुहुन्छ केही समय भए पनि शान्त हुन यहाँ आउन सकिन्छ । ‘यहाँको संस्कृति बुझ्न र खानपानका परिकारमा रमाउन पर्यटकहरु आउन थाल्नुभएको छ,’ सचिव विष्टले भने ।

होमस्टे बनाउन कल्याणपुर मध्यवर्ती सामुदायिक वन र रेवा मध्यवर्ती उपभोक्ता समितिले तीन लाख ५० हजार सहयोग गरेका छन् । स्थानीय सरकारबाट भने कुनै सहयोग नपाएको गुनासो अध्यक्ष अधिकारीको छ । नगर क्षेत्रका अन्य भागमा होमस्टे बनाउन सहयोग गरे पनि यहाँ भने नगरपालिकाले सहयोग नगरेको गुनासो स्थानीयको छ ।

घरबासमा रहेका पाँच घरमा १९ बेड छन् । एउटा होमस्टे बनाउन सातदेखि आठ लाख रुपैयाँ खर्च भएको छ । संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर आयआर्जन गर्ने अवधारणाका साथ घरबास सञ्चालन गरिएको सल्लाहकार श्रीप्रसाद दवाडीले बताए । ‘यो ठाँउ यस्तो होला भन्ने लागेको थिएन, हामीले यो काम गर्न ढिलो गरे जस्तो लाग्छ । घरबास थोरै भएको छ । थप्ने तयारीमा छौँ,’ सल्लाहाकार दवाडीले भने,’यो असाध्यै राम्रो पेशा हो, परिवारका सबै सदस्य यसमा नै आवद्ध हुनसक्छन्, एकै रातमा एउटा पाठो बेचे बराबरको रकम कमाउन सकिन्छ ।’

गाउँमा होमस्टे चल्न थालेपछि विदेश गएका युवाहरूसमेत स्वदेश फर्किन थालेका छन् । १० वर्ष साउदी अरवमा बसेका तुलसी रेग्मी गाउँमा होमस्टे चलेपछि स्वदेश फर्किएको बताउँछन् । आफ्ना बाँकी जीवन घर परिवारसँग नै बसेर समाजको सेवा गर्दै विताउने उनले बताए ।

होमस्टे बनाउन सरकारी निकायबाट केही साथ पाए गाउँमा धेरै होमस्टे हुने र त्यसले थप चहलपहल बढ्ने सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारी बताउँछन् । ‘कतिपयलाई ८ १० लाख तत्काल जुटाउन पनि समस्या छ, सरकारी निकायबाट सानोतिनो सहयोग भए आँट पनि आउथ्यो,’ अध्यक्ष अधिकारीले भने, ‘हामी कहीबाट केही गर्न सकिन्छ कि भनेर लागिपरेका छौं ।’

राज्यका निकायबाट सहयोग प्राप्त भए अझै आठदेखि १० घरबास तत्काल थप्न सक्ने अवस्था रहेको अध्यक्ष अधिकारीले बताए । घरबासमा आवासीय तालिम हलको अभाव रहेको छ ।

होमस्टे चलेपछि अन्य युवाहरुलाई अर्गानिक तरकारी उत्पादन, पशुपन्छी पालनमा लगाउने उत्प्रेरणसमेत जागेको अध्यक्ष अधिकारीले बताए । अतिकति प्रचारप्रसार र यसको ब्यूटिफिकेशन अझै गर्न बाँकी रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

पर्यटकलाई पञ्चेबाजा बजाएर स्वागत

भरतपुर-माडी-ठोरी हुलाकी राजमार्गको तमुचोकबाट तीन किलोमिटरको दूरीमा माडी भ्यू सामुदायिक होमस्टेमा पुग्न सकिन्छ । घरबासको एउटा कोठाको ५०० लिइन्छ । एउटा कोठामा दुई बेड छन् ।

सादा खानाको एक सय ५० लिइन्छ । त्यसमा दूध, दही र घ्यूमध्ये एक अनिवार्य गरिएको छ । चिकन खाना दुई सय ५० र मटन खानाको ३ सय लिइन्छ ।

होमस्टेमा बस्न आउने पाहुनालाई पञ्चेबाजा बजाएर स्वागत गर्ने तयारी भैरहेको सचिव पे्रम विष्टले बताए । ‘पाहुनाहरुलाई बाटोबाट नै पञ्चैबाजा बजाएर नाचगान गर्दै होमस्टेसम्म ल्याउने योजना बनाइरहेका छौं, भरखरै त दुई महिना भयो, अझै कयौं काम बाँकी नै छ’ सचिव विष्टले भने, ‘त्यति धेरै प्रचारप्रसार पनि भा छैन, तै पनि पर्यटकहरुको आवागमनदेखेर हामी खुसी भएका छौं, उर्जा पनि मिलेको छ ।’

अहिले आउने पाहुनाहरुको सत्कारका लागि लोकसंस्कृति, नाँचगान र भजनले मनोरञ्जन प्रदान गरिन्छ । पुराना संस्कृतिहरू लोप हुने अवस्थामा रहेका कारण त्यसको जगेर्ना गर्न र पाहुनालाई मनोरञ्जन प्रदान गर्न लोकभजन गाउने गरिएको होमस्टेका सल्लाहकार श्री दवाडीले बताए । क्षत्री र बाहुन बाहुल्य गाउँमा सबै समुदायका मानिसहरुको बसोबास छ ।

पुष्पमदन बाँटिकामा बन्दैछन् संरचना

घरबासमा आउने पाहुनाका लागि घुमाउन नजिकै पुष्पमदन स्मृति बाटिका छ । यहीँ नै नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी र संगठक जीवराज आश्रतिको अस्तु विसर्जन गरिएको थियो ।

बाटिकामा सङ्ग्रहालय र वनभोजस्थल तयारी अवस्थामा छन् । एमाले नेता स्वर्गीय मदन भण्डारी र नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिक बनाउने काम पनि सुरु गर्न लागिएको यसका बाटिकाका अध्यक्ष श्याम विष्टले बताए । ‘यहाँ वाटर फाउण्डेशनलगायतका संरचना बनाउँछौं, माडीको आर्कषक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी कामअघि बढेको छ’ अध्यक्ष विष्टले भने, ‘ग्रामीण पर्यटनलाई उकास्न यसले पक्कै पनि टेवा दिन्छ ।’

बाटिकामा रहेको भ्यूटावरबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र र धवलागिरि, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । मूर्ति राख्ने संरचना, फूलबारी, कम्पाउण्ड निर्माण र खानेपानीको काम भइरहेको छ । स्मृति बाटिका निर्माणका लागि गत वर्ष बागमती प्रदेश सरकारले ७२ लाख बजेट विनियोजन गरेको थियो । यस वर्ष पनि प्रदेश सरकारबाट ४० लाख र संघीय सरकारबाट १० लाख बजेट विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment