Comments Add Comment

दीपेश र प्रिन्स उपाधिका लागि भिड्ने

१ चैत, काठमाडौं । एपीएफका दिपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधिका लागि भिड्ने भएका छन् ।

शनिबार साङ्गलास्थित साइनो स्पोर्टस् हलमा भएको प्रतियोगितामा दिपेशले सेनाका रुकेश महर्जनमाथि जित निकाल्दै उपाधिका लागि प्रिन्ससँगको भेट पक्का गरेका हुन् । प्रिन्सले पुलिसका बिष्णु कटुवाललाई ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

राष्ट्रिय च्याम्पियन दिपेशले फाइनल प्रवेश गर्ने क्रममा सेनाका रुकेश महर्जन माथि २१-१४, २१-१७ को जित निकाले भने विश्व जुनियरको वरीयतामा तेश्रो नम्बरमा रहेका प्रिन्सले प्रतियोगितामा दोश्रो वरीयता पाएका पुलिसका बिष्णु कटुवाललाई २१-१५, २१-१२ ले हराए ।

साइनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबका अमिता गिरी र अनुमाया राईले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अमिताले धादिङ्गकी तारा आलेलाई २१-९, २१-४ ले र राईले एपीएफकी शोभा गौचनलाई २१-८, २१-१२ ले सहजै हराए ।

पुरुष युगलतर्फ हिमालय क्लबका विशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरी फाइनल प्रवेश गरे । उक्त जोडीले सुर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडीलाई २१-१६, २१-१२ ले पराजित गर्दै उपाधिका लागि आयोजक साइनोको अभिषेक बोस र सुजन थापाको जोडीसँगको भेट पक्का गरे । बोस र थापाको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडीलाई २१-१७, २१-१३ ले पराजित गरे ।

पुरुष युगल ४५ को प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नवीन बाबु श्रेष्ठको जोडी जित निकाल्दै फाइनल प्रवेश गरे । उक्त जोडीले युनिक स्पोर्टस्का अनिलकुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडीलाई २१-१३, २१-१९ ले पराजित गरे ।

अर्को प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र संजय कपालीको जोडीले ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीलाई २१-९, २१-१३ ले पराजित गर्दै उपाधिका लागि जेष्टका श्याम र नविनको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र संजय श्रेष्ठको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडी माथि १५-२१, २१-१८, २१-१८ को जित निकाल्दै फाईनल प्रवेश गरे । यस्तै अर्को खेलमा गण्डकीका तिलक छन्त्याल र हिरा राईको जोडीले चितवन ब्याडमिन्टन संघका साजकुमार गुरुङ्ग र साइनोका सुजन थापाको जोडीलाई २१-१९, १९-२१, २२-२० ले पराजित गरे ।

पुरुष युगल सी तर्फको खेलमा टोखा युग क्लबका क्षितीज खनाल र अमन महर्जन तथा किर्तिपुरका दिप्रिस मुन बज्राचार्य र निखिल भट्टको जोडी फाइनल प्रवेश गरेका छन् ।

खनाल र महर्जनको जोडीले बुटवलका किरण बिष्ट र चितवन जिल्ला ब्याडमिन्टन संघका राजकुमार गुरुङ्गको जोडीलाई १५-२१, २१-१०, २१-१७ ले तथा दिप्रिस र निखिलको जोडीले गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठको जोडीलाई २१-१५, २१-१७ को सहज जित निकाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment