Comments Add Comment

नेपाल सुपर लिग फुटबलको टिम सार्वजनिक

१ चैत, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम र टिम मालिकको घोषणा भएको छ । आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आइतबार सोल्टी होटलमा एक कार्यक्रम गरी सात फ्रेन्चाइज  टिम र टिम मालिकको घोषणा गरेको हो ।

देशका सात सहरको नामबाट ७ टिम र टिम मालिक सार्वजनिक गरिएको छ । फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब रहेका छन् ।

फ्रेन्चाइज टिम मालिकहरुले एनएसएलमा सहरको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउँदा उत्साहित रहेको बताए ।

एनएसएस आगामी वैशाख ११ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिनेछ । सिंगल राउण्ड रोविन लिगका आधारमा एनएसएल हुनेछ ।

एनएसएसलाई अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक सहयोग गर्नेछ ।

२०१९ जनवरी १ मा एनएसएस गर्ने घोषणा भएपनि त्यसको दुई वर्षपछि मात्रै यसले मूर्त रुप लिन लागेको हो । क्रिकेटमा जस्तै अब फुटबलमा पनि सहरको नामबाट टिम बनाएर खेलाडीको अक्सन गरेर एनएसएल आयोजना गर्न लागिएको हो ।

विदेशी खेलाडी समेत लिगमा समावेश हुने आयोजकले जनाएको छ । भारतीय कलाकार सोहेल खान गुडविल एम्बासडरको रुपमा रहने आयोजकले जनाएको छ ।

नेपाल स्पोर्टस् एण्ड ईभेन्ट म्यानेजमेन्टले भविष्यमा क्रिकेट, भलिबल लगायत अन्य खेलको पनि फ्रेन्चाईज लेभलको प्रतियोगिता गर्ने योजना बनाएको जनाएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एनएसएसले नेपाली फुटबलमा नयाँ इतिहास रच्ने बताए ।

‘यसले नेपाली फुटबललाई व्यवसायिकतातर्फ लैजाने विश्वास छ । नेपालमा चलिरहेको लिगलाई पनि व्यवस्थित गर्दै एनएसएललाई पनि अघि बढाइनेछ,’ शेर्पाले भने ।

फ्रेन्चाइज टिम र टिम मालिक

विराटनगर सिटी फुटबल क्लब (बीसीएफ)

अनुप रन्जन भट्टराई, अध्यक्ष बीसीएफ ।

काठमाडौं रेजर्स फुटबल क्लब

चिरञ्जीवी शाह, सीईओ यामाहा ।

ललितपुर  सिटी फुटबल क्लब

कामना गुरुङ, निर्देशक, भाटभटेनी सुपर मार्केट ।

एफसी चितवन

सचिन ढकाल, चन्द्र ढकाल, हेमराज ढकाल, केमन ग्रुप ।

पोखरा थण्डर्स 

निराकार श्रेष्ठ, लक्ष्मी ग्रुप ।

बुटवल लुम्बिनी एफसी

राजकुमार तिमल्सिना, भीमप्रसाद तिमल्सिना

धनगढी फुटबल क्लब

सुवास शाही ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment