Comments Add Comment

माओवादी बैठकमा रिपोर्टिङ : कति रहे ? कति एमालेमा गए ?

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा खारेज भएर पूर्ववत पार्टीमा फर्किँदा संगठनमा भएको क्षतिबारे प्रारम्भिक रिपोर्ट तयार पारेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरुले गरेको रिपोर्टिङअनुसार लुम्बिनी र प्रदेश २ मा बढी क्षति भएको देखिएको छ ।

बैठकमा नेताहरुले नेता बलियो हुने, तर संस्थागत संरचना लथालिंग हुने हालको अवस्था सुधार गर्नुपर्ने बताएका छन् । साथै विचार र नीतिमा स्पष्ट हुँदै माओवादीको के हो भन्ने स्थापित गर्नुपर्नेमा धेरैले जोड दिएका छन् ।

‘हिजो जनयुद्ध थियो, आज छैन । त्यसो भए माओवादी के हो भन्नुपर्छ’ एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टी एकता गरेर नेकपा भएपछि हामीले समाजवादतर्फ जाने भन्यौं । कस्तो समाजवाद ? कसरी समाजवादमा पुग्ने ? प्रष्ट हुनुपर्छ । हाम्रो नेतृत्व यस्तो हुन्छ भन्न सक्नुपर्छ ।’

साविकको एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनको निष्कर्षलाई आजको सन्दर्भमा थप व्याख्या गरेर अगाडि बढ्नुपर्ने र संगठन निर्माणमा ध्यान दिनुपर्ने धेरैको जोड छ ।

प्रदेश १ को अवस्था के छ ?

प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेका अनुसार दुई जना केन्द्रीय सदस्य पासाङ शेर्पा र टंक आङबुहाङ एमालेतिर लागेका छन् । आङबुहाङ प्रदेशसभा सदस्य पनि हुन् ।

‘प्रदेश कमिटीका दुई जना (धनकुटा र सोलुखुम्बु), जिल्लाका १०/१२ जना यता लाग्नु भएको छ’ उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन्, ‘जिल्ला कमिटीमा हाम्रोतिरबाट जो जो अध्यक्ष र सचिव हुनुहुन्थ्यो, उहाँहरु हामीसँगै हुनुहुन्छ ।’

पार्टी विभाजनले कम्युनिस्ट आन्दोलनलाई धक्का लागेको भन्दै उनले साविकको नेकपामा ओली प्रवृत्तिलाई रुपान्तरण गरेर अगाडि बढ्न सकेको भए राम्रो हुन्थ्यो भन्ने धारणा राखेका थिए ।

प्रदेश २ मा केही गए, केही फर्किए 

प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहका अनुसार साविकको नेकपामा प्रदेश २ बाट केन्द्रीय सदस्य भएकामध्ये तीन जना एमालेतिर गएका छन् । प्रभु साह, ज्वालाकुमारी साह र टेकबहादुर बलमपाकी एमालेतिर गएका हुन् ।

२१५ सदस्यीय प्रदेश कमिटीका माओवादीका १०७ जना थिए । उनीहरुमध्ये १७ जना एमालेमा गएका छन् । यद्यपि ४/५ जना अलमलकै अवस्थामा रहेको साहले बताए ।

प्रदेशसभा सदस्यमध्ये तीन जना कुन्दन कुशवाह, रामचन्द्र मण्डल र मोहम्मद समिर एमालेमा गएका थिए । रामचन्द्र मण्डल माओवादी केन्द्रमा फर्किन तयार छन् भने समिर अलमलमा छन् । अर्का प्रदेशसभा सदस्य दिलिप साह एमाले नगएको तर माओवादी केन्द्रमा सक्रिय नभएको साहको रिपोर्टिङ थियो ।

रौतहटका दुई र धनुषाका एक मेयर एमालेमा गएको रिपोर्टिङ साहले बैठकमा गरेका छन् । ‘कार्यकर्ता तहमा धेरै यताउता भएको छैन’ साहले भने, ‘यद्यपि नेकपा विभाजनले आमरुपमा निराशा छ, केहीलाई पहिल्यै एकता ठीक लागेको थिएन, उनीहरु खुसी छन् ।’

माओवादी केन्द्रलाई पुनर्गठित गर्न सहज नभएको उनले बताए । यद्यपि पार्टी नेतृत्व र नीति ठीक हो भने माओवादीले आफ्नो जनमतलाई कायमै राख्नसक्ने उनको दाबी छ ।

प्रदेश ३ : हिसाब खोज्दैछौं

प्रदेश ३ का अध्यक्ष नारायण दाहालले रिपोर्टिङ गरेका थिए । उनका अनुसार केही केन्द्रीय सदस्य एमालेमा गएको देखिएको छ । तर सबै हिसाब निकालिएको छैन ।

गण्डकी : एक जिल्ला अध्यक्ष एमालेतिर लागे

गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले प्रदेश सभाका कोही पनि एमालेमा गएका छैनन् । जिल्ला अध्यक्षमध्ये स्याङ्जाका पारस गैरे एमालेमा गएका छन् । ‘बाँकी ठीक छ भन्ने उहाँको रिपोर्टिङ थियो’ एक केन्द्रीय सदस्यले भनेका छन् ।

ओनसरीको प्रस्ताव : तीन सम्मेलन गरौं

लुम्बिनी प्रदेशकी अध्यक्ष ओनसरी घर्ती मगरले संगठनात्मक अवस्था मात्र राखिनन्, वैचारिक, विधान र संगठनात्मक गरी तीन सम्मेलन गर्न प्रस्ताव गरेकी छन् ।

हिजोको दिनमा एमाले र माओवादी केन्द्रबीच एकता गर्दा पनि वैचारिक रुपमा राम्रोसँग छलफल नभएको भन्दै उनले भनिन्, अहिले पनि प्रतिगमनको पक्षमा केही साथीहरु जानुभएको छ । किन गए भन्दा वैचारिक प्रष्टतामा कहीँ न कहीँ समस्या छ ।’ रगतसँग नाता जोडिएको प्रचण्डपथलाई पनि सहजै छाडेको र एकता गर्दा माओवादलाई पनि पछि छलफल गर्ने नाममा छाडिएको भन्दै उनले वैचारिक प्रष्टता हुनुपर्ने बताइन् ।

साविकको नेकपामा ओलीले विधि विधान मानेन भनेर विद्रोह गरेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न विधान सम्मेलन गर्नुपर्ने बताइन् । विचार र विधि सही हुने हो भने संगठन बनाएर अगाडि बढ्न सकिने लुम्बिनी प्रदेशकी इन्चार्ज घर्तीले बताएकी छन् ।

उनका अनुसार नेकपा, एमाले र माओवादी केन्द्रमा फर्किँदा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का एमालेतिर लागेका छन् । रायमाझी माओवादी केन्द्र र नेकपामा स्थायी कमिटी सदस्य थिए । उनीसँगै अर्का स्थायी कमिटी सदस्य मणि थापा पनि एमालेतिर छन् ।

केन्द्रीय सदस्यहरु गिरिधारी न्यौपाने, दधिराम न्यौपाने, नविन रोका र दिनेश पन्थी एमालेमा लागेका छन् । दधिराम र दिनेश प्रदेशसभा सदस्य पनि हुन् ।

कर्णालीका एक सांसद एमालेमा गए

कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले प्रदेशसभा सदस्य धर्मराज रेग्मी एमालेतिर गएको जानकारी दिए । शर्माले ठम्बर विष्टले आफू माओवादी केन्द्रमै रहेको प्रष्ट पारेको भन्दै अन्यत्रका सबै पार्टीमै संगठित रहेको बताएका थिए ।

सुदूरपश्चिमको अवस्था के छ ?

यस्तै सुदूरपश्चिमका सचिव नेपबहादुर चौधरीले साविक नेकपामा रहेका १४ केन्द्रीय सदस्यमध्ये लेखराज भट्ट एमालेतिर गएका छन् भने बाँकी १३ जना माओवादी केन्द्रमा रहेको बताए ।

प्रदेशसभा सदस्य झपड बोहोरा पनि उतै लागेका छन् । जिल्ला अध्यक्षमध्ये कञ्चनपुरमा अध्यक्षमा भने अलमल देखिएको उनले बताए । अन्यत्र धेरै समस्या नभएको उनले बताएका थिए ।

उपत्यका विशेष कमिटीका इन्चार्ज लीलामणि पोखरेल, प्रदेश समन्वय कमिटीका प्रल्हाद बुढाथोकी र प्रवास कमिटीका अध्यक्ष युवराज चौलागाईले रिपोर्टिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment