Comments Add Comment

फोहोर शौचालय : शिक्षक र जनप्रतिनिधिको जुहारी

वीरगञ्ज महानगरपालिका चोर्नी टेढा सेमरास्थित श्रीमती मन मिश्र निमाविको शौचालय

१ चैत, वीरगञ्ज । ‘पालिका र विभिन्न संघ संस्थाले लाखौं खर्च गरेर शौचालय बनाइदिन्छन् । तर त्यसको नियमित सरसफाइ गर्न विद्यालयसँग पैसा हुँदैन । मान्छे राख्दा मासिक ३ देखि ५ हजार खर्च लाग्छ कहाँबाट ल्याउने ?’

वीरगञ्ज-१५ लक्ष्मणवा स्थित सिन्दुरियामाई प्राविका प्रधानाध्यापक हरेन्द्र चौरसियाले आइतबार आयोजित एक कार्यक्रममा भने, ‘कि पालिकाले खर्च जुटाइदिनुपर्छ, कि स्रोत खोजिदिनुपर्छ ।’

विद्यालयमा सुरक्षित सिकाइका लागि नीति बनाउने बारेमा कार्यक्रम भए पनि उनको कुराले विषयबस्तु मोडिन पुग्यो । मावि, निमाविमा विद्यार्थी शिक्षक मिलेर सफा गर्दा हुने भए पनि प्रावि विद्यालयमा बालबालिकालाई सफा गराउनु उचित नहुने प्रअ चौरसियाको तर्क थियो ।

नेपाल शिक्षक संघ पर्साका सचिव प्रदीप जयसवालले पनि शौचालय सफाइका लागि विद्यालयमा बजेटको अभाव भएको बताए ।

‘विद्यालय सञ्चालनका लागि आउने १५ हजारले तीन पटक त परीक्षा नै लिनुपर्ने हुन्छ । चक डष्टरमा खर्च हुन्छ,’ उनले भने, ‘शौचालय महिनामा कम्तिमा दुईपटक सफा गराउनुपर्ने हुन्छ खर्च कहाँबाट ल्याउने ?’

पर्साका अधिकांश सामुदायिक विद्यालयहरुमा पुरानोको शौचालयको सरसफाइ र मर्मत नगर्नेर् र नयाँ शौचालय माग गर्ने प्रवृत्ति देखिएको सरोकारवालाको भनाइ थियो ।

प्रयोग गर्ने व्यक्तिले नै सफाइ गर्ने संस्कारको विकास हुन नसक्दा शौचालयहरुको अवस्था बिग्रेको उनीहरुको तर्क थियो ।

तर जनप्रतिनिधिहरुले शौचालय सफाइ जस्तो सामान्य कामका लागि विद्यालयले पालिकाको आश गर्नु दुःखद भएको बताए ।

शिक्षक, विद्यार्थी र अभिभावकसमेतको सहभागितामा शौचालय सफा गर्ने गराउने गर्नुपर्ने उनीहरुको तर्क छ ।

पोखरिया नगरपालिकाकी उप प्रमुख सलमा खातुनले शौचालय सफाइका लागि विद्याय नै जिम्मेवार हुनुपर्ने बताइन् ।

‘विद्यालयमा पियन हुन्छन्, स्वीपर हुन्छन् । आन्तरिक स्रोत भएका विद्यालयले त खर्च पनि गर्न सक्ने हैसियत राख्छन् । विडम्बना के छ भने जतिपटक जाँदा पनि जालै जालो हुन्छ । फोहोर दुर्गन्ध हुन्छ ।’

उनले भनिन्, ‘ विद्यार्थीलाई सरसफाइको महत्वको बारेमा सिकाउने हो भने उनीहरुले पनि सफा गर्छन् । सरसफाइका लागि आवश्यक सामग्रीको बन्दोबस्त गरिदिनुपर्छ । त्यस्ता सामग्रीका लागि पालिकाले सहयोग गर्न सक्छ ।’

उनले नगरपालिकाले सधैँ मोनिटरिङ गर्नुभन्दा शिक्षक, अभिभावक र विद्यार्थी जिम्मेवार हुनुपर्ने सुझाइन् ।

पर्सागढी नगरपालिकाका नगर प्रमुख लोक नारायण यादवले सामुदायिक विद्यालयको शौचालय कसले सफाइ गरिदने ? भन्ने सोचबाट माथि उठनुपर्ने बताए ।

‘१०/२० लाख रुपैयाँ खर्च गरेर पालिकाले शौचालय बनाउन सजिलो छ । २ वर्षपछि जाँदा अस्तव्यस्त देखिन्छ । त्यसको संरक्षण र सफाइ नै हुँदैन,’ उनले भने, ‘सफाइ कसले गरिदिने ? भन्ने मानसिकताबाट माथि नगएसम्म समस्या हट्दैन । जसले प्रयोग गर्छ, ऊ नै जिम्मेवार हुनुपर्छ । सामान्य बजेट फिनाइल, हर्पिक, पञ्जा, ब्रस किन्नमा खर्च हुन्छ ।’

शिक्षक, विद्यार्थी र अभिावक जिम्मेवार हुने हो भने शौचालयको सरसफाइ र मर्मत सम्भार ठूलो विषय नभएको उनको भनाइ छ ।

गैरसरकारी संस्थाको सहयोग

वीरगञ्ज महानगर सहित जिल्लाका ९ पालिकामा गैरसरकारी संस्थाले गरेको अनुगमनका क्रममा २२ वटा सामुदायिक विद्यालयमा पुराना शौचालय प्रयोग गर्नै नसक्ने अवस्थामा भेटियो । ती शौचालय अपांगमैत्री पनि थिएनन् ।

वीरगञ्जसहित पोखरीया, बहुदरमाई र पर्सागढी नगरपालिका तथा बिन्दबासीनी, पकाहामैनपुर, कालीकामाई, धोबिनी र जगरनाथपुरका २२ वटा सामुदायिक विद्यालयका पुराना शौचालयको सरसफाइ र मर्मत सम्भार दुवै भएको थिएन ।

गैरसरकारी संस्था आस्मान नेपालका डाक्टर वीरेन्द्र सिंहले अनुगमनका क्रममा विद्यालयहरुको शौचालय जीर्ण र दुर्गन्धित अवस्थामा रहेको बताए ।

‘विद्यालयमा शौचालय हुँदै नभएको हैन, केहीमा सरसफाइ नगरिएकाले फोहोरले भरिएको पाइयो, कतै ढोका नै थिएन, त कतै प्यान सिट नै फुटेका थिए । पानीको सुविधासमेत नभएका शौचालय थिए,’ उनले भने, ‘एक डेढलाख खर्च गर्दा ती सबै राम्रो बन्ने स्थिति थियो ।’

विद्यालयको शौचालय प्रयोग गर्न नपाएपछि बालबालिकाहरु बीचमै विद्यालय छाडेर घर जान बाध्य भएको गुनासो आयो । त्यसपछि ती सबै शौचालयको सरसफाइ र मर्मत सम्भारको लागि दार्त निकायको सहयोगमा दुईवटा गैरसरकारी संस्थाले आर्थिक सहयोग गरेका छन् ।

१२ वटा विद्यालयमा शौचालय मर्मत सम्भारका लागि असमान नेपालले २४ लाख रुपैयाँ र १० वटा विद्यालयका शौचालय मर्मतका लागि दिव्य युवा क्लबले १२ लाख ५० हजार रुपैया सहयोग गरेका हुन् ।

श्ाौचलय मर्मतका लागि विद्यालयसँग बजेट नभएको गुनासो आएपछि दुवै संस्थाले मिलेर २२ वटा विद्यालयका शौचालय मर्मतका लागि ३६ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको आसमान नेपाल पर्सा जिल्ला संयोजक मुन्निलाल बैठाले बताए ।

१०/२० लाख रुपैयाँ लगाएर बनाएको शौचालयको सरसफाइ र मर्मत सम्भारका लागि विद्यालयसँग बजेट नै नहुने कुरा आएपछि सहयोग गरेको उनको भनाइ छ ।
संस्थाले रकम उपलब्ध गराएपछि २२ वटा विद्यालयमध्ये कतिपयमा शौचालय मर्मतको काम भइसकेको छ भने कतिपयमा काम सम्पन्न हुने अवस्थामा रहेको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment