Comments Add Comment

पर्यटकको लागि ‘अनिवार्य क्वारेन्टिन’ हटाउन र अनअराइभल भिसा दिन प्रस्ताव

२ चैत, काठमाडौं । नेपाल आउने पर्यटकका लागि अनिवार्य क्वारेन्टिनको प्रावधान हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको नेगेटिभ रिर्पोट लिएर आउने पर्यटकका लागि विमानस्थल मै स्वाव संकलन गरी नेगेटिभ आएमा निर्वाध घुमफिर गर्न पाउने गरी प्रावधान समेटेर मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको हो ।

मन्त्रालयका सहसचिव तारानाथ अधिकारीका अनुसार पर्यटक आगमन सहज बनाउने गरी यसअघिका प्रावधान खुकुलो बनाउने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपषिद्को कार्यालय पुगेको छ ।

यसलाई मन्त्रीपरिषद्ले पास गरेपछि कार्यान्वयनमा आउने भएको हो । ‘अवधारणागत रुपमा हाम्रो प्रस्तावमाथि सबै निकायको सहमति छ,’ उनले भने, मन्त्रिपरिषद्बाट पास भएपछि भने कार्यान्वयनमा आउने छ ।’

अधिकारीका अनुसार कडा प्रावधान लागु गर्नु हुँदैन भन्नेमा सहमति गरी यस्तो प्रस्ताव गरिएको हो ।

के छ प्रस्तावमा ?

पर्यटन मन्त्रालयले कोरोना खोपको मात्रा पुरा गरी आएमा पुनः पीसीआर नचाहिने प्रस्ताव गरेको छ । विदेशबाट पीसीआर नेगेटिभ रिर्पोट लिएर आएकाको हकमा भने विमानस्थलमै स्वाव संकलन गरी नेगेटिभ आएमा क्वारेन्टिन बस्न नपर्ने गरी प्रस्ताव गरिएको छ ।

अहिले नेपाल आउने पर्यटकका लागि क्वारेन्टिन बस्न अनिवार्य होटेल बुकिङको प्रमाण चाहिन्छ । ७२ घण्टा भित्रको नेगेटिभ रिर्पोट नभएका जहाज नै चढ्न पाइँदैन ।

व्यवसायी पनि वातावरण सहज बनिरहेको अवस्थामा पर्यटकका लागि तोकिएका कडा प्रावधान हटाउनु पर्ने पक्षमा छन् । अहिले नेपालमा पर्वतारोहण सिजन सुरु भएको छ ।

टे्रकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी भन्छन्, ‘पर्यटकलाई सहजै आउने वातावरण बनाइइदिए पर्यटन क्षेत्र आफैं माथि उठ्छ ।’

अनअराइभल भिसा खुलाउने तयारी

मन्त्रिपरिषद्बाट क्वारेन्टिनसम्बन्धी कडा प्रावधान खुकुलो भएपछि अनअराइभल आगमन समेत खुला गर्ने प्रस्ताव गरिएको छ । सहसचिव अधिकारी भन्छन्, ‘अब पर्यटकलाई आगमन सहज बनाउने गरी अनअराइभल भिसा सुविधा पनि दिन प्रसत्ाव गरेका छौं  ।’

त्यसअगाडि कोरोना तथा ट्राभल बीमा, पर्यटकलाई नेपालमा ट्राभल तथा टूर एजेन्सीले गर्नुपर्ने सिफारिसजस्ता प्रावधान भने यथावत नै रहने उनले बताए ।

हाल नेपाल आउन चाहने पर्यटकले ट्राभल तथा पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायी तथा निकायको सिफारिसमा सोही मुलुकस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र नेपाल आउनुपर्ने नियम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment