Comments Add Comment

महबाट वार्षिक २० लाख आम्दानी

फाइल तस्वीर

३ चैत, बाँके । बाँकेको कोहलपुर नगरपालिका-६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जंगलको छेउमा आधार चाका दिन व्यस्त छन् ।

कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घार मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउछन् । मौरीहरुको आधार चाका हेरचाह गर्दै उनीहरुको दिनचर्या बित्छ ।

मौरीलाई आधार चाका  दिँदा वर्षमा एक लाख रुपैयाँको दुई क्वीन्टल दिने गरेको लीलबहादुरले बताए । त्यसैगरी वार्षिक दुई लाखको चिनी दिने गरिएको छ । गाडीमा राखी ठाउँठाउँमा चराउँदा ढुवानी खर्च वार्षिक पाँच लाखसमेत लाग्ने गरेको राणा बताउँछन् ।

तराईको गर्मीमा हुने मेली फेरा नामक मौरी तराईको ४० डिग्री गर्मीमा समेत बाँच्न सक्छ ।  आजकाल प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री हुन्छ । कोहलपुर र नेपालगञ्जमा मह उत्पादन गरी बिक्री गर्नेमा सफल नाम राणाको परिवारको छ । नौजनाको परिवार मह बेचेर चलाएको   राणाले बताए । त्यही मौरीले दिएको मह वर्षमा ४० क्विन्टल उत्पादन गरी २० लाख रुपैयाँ आम्दानी हुने गरेको छ । राणा परिवार मौरीपालनमा लागेको १० वर्ष भयो ।  आफूहरुको मेहनत देखेर नेपाल सरकारले गत वर्ष १४ लाख रुपैयाँ अनुदान कृषि ज्ञान केन्द्र बाँकेमार्फत  मौरीपालन गर्न दिएको राणाले बताए । यस वर्ष पनि १० लाख रुपैयाँ अनुदान मौरी पकेट कार्यक्रम कोहलपुर नगरपालिका र कृषि ज्ञान केन्द्र बाँकेले दिएका छन् ।

२०७१ सालमा जीआई जेटले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य हुँदा आफूहरुलाई मह प्रशोधनका लागि घर निर्माण गर्न र यन्त्रका लागि १० दश लाख अनुदान रकम दिएकाले साहस बढेको राणाले बताए । मौरी पकेट कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र बाँकेले तीनवर्षे मौरी पकेट अनुदानसमेत दिएको छ ।

राणा सञ्जीवनी मौरी फार्मको सञ्चालकसमेत बनेका छन् । ‘गरे के हुँदैन, अहिले रुदिलो, सिसौको फूलहरु भएको ठाउँमा मौरी लिएर चराउँदै व्यस्त हुन्छौं,’ बाबुछोराले हाँस्दै भने, ‘विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ । हामी त मौरीमा रमाउँछौँ । कात्तिकदेखि माघमा तोरीको फूलको रस खान्छन् मौरीले, माघ–फागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाख–जेठसम्म जामुनको फूलको रस खान्छन् ।’

उनीहरु कहिले राजापुर, कहिले ठाकुरद्वारा र कहिले बाँसगढी हरेक दुई महिनामा ठाउँ सर्छन् । जेठदेखि असोजसम्म चिनी दिएर मौरी बचाउनुपर्छ । राणाले भने, ‘४० डिग्री तापक्रम सहन सक्ने क्षमता हुन्छ मेली फेरा मौरीको ।’ मौरी रहेको धर्तीमा खेती राम्रो सप्रने उनले बताए ।

मौरी प्रकृतिमैत्री जीव हो जसले प्रकृतिको रक्षा गर्छ र अन्न उत्पादनमा सुधार हुन्छ ।  अहिले महको बजारीकरण सजिलो भएको र प्राङ्गारिक मह भनेर धेरैले घरैमा लिन आउने गरेको राणा बताउँछन् । ‘चितवन, दाङ र सुर्खेतदेखि मौरीपालन व्यवसायीहरु मौरी चराउन बर्दिया आउँछन् ।’ उनले भने ।

बर्दिया मेली फेरा मौरीका लागि उत्तम ठाउँ हो । अन्य किसानलाई पनि सरकारले अनुदान दिएर सहयोग गरेमा मौरीपालनमा घाटा नहुने उनी सुझाउँछन् । तरकारी, अन्नपात जस्तै मह नकुहिने र  बिक्री नभएमा तापक्रम मिलाएर राखेपछि अर्को वर्ष पनि बिक्री भइहाल्ने गरेकाले यस पेशामा लाग्न राणाले आग्रह गरे । उनी अगाडि भन्छन्, ‘तर ल्याब टेष्ट नगरी मह बिक्री गर्न दिनुहुँदैन । भारतको मह नेपाल आउँदा सरकारले जाँच गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment