+
+
Shares

चीनको खोप लगाए भिसा सहजै पाइने, तर खोप चाहिँ आइपुगेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते २०:०९

४ चैत, काठमाडौँ । मंगलबार नेपालसहित कम्तीमा २० मुलुकका चिनियाँ दूतावासले चीनमा विकास भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनेलाई भिसामा सहजीकरण गर्ने सूचना जारी गरेका छन् ।

गत वर्षको मार्चमा चीनले कोरोना नियन्त्रणको लागि भन्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेयता पहिलोपटक सीमा खोल्ने योजना अघि सारेको हो । त्यसका लागि चीनले ‘खोप पासपोर्ट’ को अवधारणा अघि सारेको हो ।

यद्यपि, चीनले अघि सारेको योजना भने विवादित देखिएको छ । चीनले आफ्नो मुलुकमा विकास भएका खोप लगाउनलाई भिसामा सहजीकरण गर्ने बताएको छ । तर, मंगलबार सूचना जारी गरिएका धेरै मुलुकमा चिनियाँ खोप नै पुगेको छैन  भने पुगेका केही मुलुकमा पनि निकै कम मात्र चिनियाँ खोप पुगेको छ ।

यसरी सूचना जारी भएका भारत र श्रीलंकाजस्ता मुलुकमा चिनियाँ खोप नै पुगेको छैन । त्यस्तै अमेरिका, अष्ट्रेलिया तथा युरोपेली मुलुकमा चिनियाँ खोप मानिसहरुलाई लगाइएको पनि छैन । नेपालमा पनि चिनियाँ खोप आइसकेको छैन । चीनले ८ लाख खोप अनुदानमा दिने घोषणा गरेपनि नेपाल आफैले ल्याउनुपर्ने भएकाले केही ढिलाइ भएको छ ।

यस्तोमा चीनले अहिले ल्याएको योजनाले आफ्नो मुलुकलाई केही फाइदा नहुने ती मुलुकले बताइसकेका छन् । त्यसैले वास्तविक अभ्यासमा भने चीनको नयाँ योजनालाई निकै कम मानिसलाई मात्र फाइदा पुग्‍ने देखिएको छ ।

साथै, चीन प्रवेशको लागि पीसीआर नेगेटिभ र एन्टीबडी पोजेटिभको साथै अहिले यथावत रहेको क्वारेन्टिनको नियम पनि कायम राखिएको छ । यस्तोमा चिनियाँ खोप लगाउने मानिसले पनि चीन जान निकै झन्झट पार गर्नुपर्ने देखिएको छ ।

यद्यपि चीनले भने यो योजनाको बचाउ गरेको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले यो योजनासँगै चीनले सुरक्षित रुपमा विदेशीका लागि आफ्नो सीमा खोल्न सकिने बताएको छ ।

विश्वका धेरै मुलुकमा चिनियाँ खोपले मान्यता पनि पाएको छैन । चिनियाँ खोपबारे परीक्षण चरणको विस्तृत विवरण सार्वजनिक नगरिएको भन्दै यो खोपमा मानिसहरुले आशंका व्यक्त गर्दै आएका छन् ।

यस्तो अवस्थामा चीनले आफ्नो खोपलाई विश्वका सबै मुलुकले मान्यता दिउन् भन्ने उद्देश्य अनुसार यस्तो कदम चालेको हुन सक्ने कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।

अहिलेसम्म चीनले मुलुकमा पाँच कोरोना खोपलाई अनुमति दिएको छ । जसमध्ये तीन खोप चीनले बिक्री वा सहयोगको रुपमा अन्य मुलुकमा पनि पठाएको छ ।

त्यसो त चीनले स्पष्ट रुपमा अन्य खोप लगाउने मानिसलाई मात्र आफ्नो मुलुकमा आउन दिने उल्लेख गरेको छैन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मंगलबार प्रेस ब्रिफिङमा विश्वका अन्य मुलुकलाई चिनियाँ खोप स्वीकार्न बाध्य गर्न उक्त योजना नल्याइएको दाबी गरे ।

‘हाम्रो प्रस्ताव चिनियाँ खोपहरुको सुरक्षा र प्रभावकारिताको राम्रो अध्ययनपछि ल्याइएको हो’, उनले भने, ‘यो व्यवस्था चीनले एकपक्षीय रुपमा गरेको हो । खोपलाई मान्यता दिनेभन्दा यो फरक कुरा हो ।’

अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीका संक्रामक रोग विशेषज्ञ रोबर्ट बूयले चीन तथा अन्य मुलुकले पनि आफ्नो मुलुकमा बनेको खोपमा गर्व गर्ने तर यस विषयमा राजनीति गर्नुभन्दा पनि सुरक्षित र प्रभावकारी खोपलाई मान्यता दिनुपर्ने बताए । उनले सबै मुलुकमा चिनियाँ खोप उपलब्ध हुन सम्भव पनि नहुने भएकाले चीनले भने अन्य प्रतिष्ठित खोपलाई अनुमति दिने विश्वास व्यक्त गरे ।

चीनले अन्य मुलुकका कम्पनीहरुले विकास गरेको खोपलाई मान्यता दिएको छैन । यहाँसम्मकी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिएको खोपले पनि चीनमा अनुमति पाएको छैन । यद्यपि, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियानले भने चीनले अन्य मुलुकसँग सम्झौता गरी एकअर्काका मुलुकको खोपलाई अनुमति दिन सक्ने बताएका छन् । तर, यस विषयमा विस्तृत जानकारी भने उनले दिएका छैनन् ।

लिजियानले डब्ल्यूएचओले अनुमति दिएको खोपले चीनमा अनुमति पाउन सक्नेबारे सोधिएको प्रश्नमा सम्बन्धित कम्पनीले चीनमा अनुमतिका लागि आवेदन दिनुपर्ने बताए । त्यसपछि नियामकले गरेको निर्णयको आधारमा उनीहरुलाई अनुमति दिने पा नदिने निधो हुने उनको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?