Comments Add Comment

बालुवाटार हिँडेका माधव समूहका सांसद बीच बाटोबाटै फर्किए

माधव नेपाल समूहले राखेको राष्ट्रिय भेलाका सहभागीहरु ।

५ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरू अन्ततः बालुवाटार बैठकमा नजाने भएका छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन केही सांसदहरु सानेपाबाट हिंडिसकेका थिए ।

तर उनीहरु बीच बाटोबाटै फर्किएका छन् । ‘अनौपचारिक छलफलबाट बालुवाटार जाऔं भन्ने भयो । यसपछि हामी त हिंडिसकेका थियौं । फेरि अर्को सूचना आयो, हामी फर्कियौं’, सांसद गणेश पहाडीले भने ।

उनका अनुसार स्थायी कमिटीबाहेकका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने भन्ने सल्लाह भएको थियो ।

तर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको उपस्थितिमा भएको छलफलले बालुवाटार नजाने निष्कर्ष निकाल्यो । ‘पहिले जाने भन्ने भयो, फेरि नजाने भन्ने भयो । अब हामी जान्नौं’, सांसद दीपकप्रकाश भट्टले भने ।

छुट्टै राष्ट्रिय भेला भइरहेकाले पार्टी अध्यक्ष ओलीले बोलाएको बैठकमा जान उचित नहुने निष्कर्षसहित बालुवाटार हिंडिसकेका सांसदहरु फर्किएका हुन् । ‘दलको नेताले बोलाएको बैठकमा जानुपर्छ, तर आज होइन भन्ने भयो’, एक सांसदले भने ।

ओलीले बोलाएको छलफलमा जाने वा नजाने भन्नेबारे छलफल गर्न बिहान १० बजे छलफल राखिएको थियो । १५ मिनेट मात्रै छलफलको सूचना गरिएकाले अधिकांश सांसदहरु हेरिटेज गार्डेन पुगेकै थिएनन् ।

स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, वेदुराम भुसाललगायत नेताहरुसहित थोरै सांसदहरुबीच भएको छलफलपछि स्थायी कमिटी बाहेकका सांसद बालुवाटार जाने निर्णय लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment