+
+

कोइरालाले भनेका थिए : प्रजातन्त्रप्रति समर्पितलाई बिर्सने चलन देखियो

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १४:०६

५ चैत, विराटनगर । नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका कांग्रेस नेता अशोक कोइरालाले जीवनको उत्तरार्धमा भनेका थिए, ‘प्रजातन्त्र प्राप्तिको आन्दोलनमा समर्पित रहेकालाई बिर्सेने चलन देखियो ।’

बिहीबार बिहान ७७ वर्षको उमेरमा निधन भएका कोइरालाले माघ २ गते आयोजित एक कार्यक्रममा ‘प्रजातन्त्रप्रति समर्पित व्यक्तिलाई बिर्सने चलन चलेको’ बताएका थिए ।

स्वास्थ्य समस्याका कारण केही वर्षयता उनी सक्रिय राजनीतिमा थिएनन् । गत माघ २ गते कोइराला निवासमा निरञ्जन कोइरालाको श्रद्धाञ्जलीसभामा सहभागी भएयता उनी सार्वजनिक कार्यक्रममा देखिएनन् ।

श्रद्धाञ्जलीसभामा उनले प्रजातन्त्रप्रति समर्पित मानिसलाई अहिले बिर्सने चलन चलेको गुनासो गरेका थिए । ‘प्रजातान्त्रिक आन्दोलनप्रति समर्पित, प्रजातन्त्रका लागि योगदान गरेका र लडेका मानिसलाई बिर्सने चलन आयो,’ कांग्रेस नेता शेखर कोइराला सहभागी कार्यक्रममा उनले भनेका थिए, ‘अहिले आउने पिँढीलाई जानकारी छैन, यो कुरा सबैले जान्न आवश्यक छ ।’

नेपाली कांग्रेस मोरङको तीन कार्यकाल सभापति बनेका कोइराला विराटनगर उपमहानगरपालिकाको पहिलो निर्वाचित मेयर पनि हुन् । २०४९ सालमा मेयरमा निर्वाचित भएका कोइरालाले विराटनगरको विकासमा महत्वपूर्ण योगदान दिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्मरण गरे ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाको योगदान महत्वपूर्ण रहेको उनले बताए । लोकतन्त्रकै लागि लडेका कोइराला पट्क पटक जेलमा बसेको उनले बताए ।

जेलमा बस्दा कोइरालालाई मलद्वारमा नुन, खुर्सादी दलेर समेत यातना दिइएको उनले बताए । मेयर पराजुलीका अनुसार २०६२-६३ सालको आन्दोलनमा खटिँदा कोइरालाको टाउकोमा प्रहरीले लाठी हानेको थियो ।

कोइरालाको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रद्धाञ्जली दिएका छन् । ‘नेपाली कांग्रेसका नेता एवं मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहित भएको छु’, देउवाले लेखेका छन्, ‘उहाँको निधनले कांग्रेसले एउटा असल नेता गुमाएको छ ।’

कांग्रेसका वरिष्ठ नेता रामचन्ऽ पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय अशोक कोइरालाको योगदान शब्दमा ब्याख्या गर्न नसकिने बताएका छन् ।

‘अशोक कोइरालाको निधनबाट नेपाली कांग्रेसले एक असल र महत्वपूर्ण अभिभावक गुमाएको छ’, उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री सुशील कोइरालाका सहोदर भाइ कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा शब्दमा गर्न सकिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?