
नेपालीे आकाशमा एक नयाँ टेलिभिजनको सुरुवात गरिएको छ । कान्तिपुर नेटवर्क अन्र्तगत ‘कान्तिपुर सिनेप्लेक्स’को आज शुभारम्भ गरिएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आज यो टीभीको शुभारम्भ गरेका हुन् । उनले भने–‘नेपाली चलचित्र क्षेत्रका लागि हामी नयाँ ढंगले काम गर्ने सोच बनाइरहेका थियौं । यसपटक लकडाउनमा कान्तिपुर सिनेप्लेक्सको जन्म भएको हो ।’
काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना गरिएको कार्यक्रममा नेपाली चलचित्रका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा पत्रकारहरुको उपस्थितीमा टेलिभिजनको शुभारम्भ गरियो ।
टेलिभिजनको शुभारम्भ कार्यक्रममा हाँस्य कलाकार हरिवंश आचार्य, नायक राजेश हमाल, भूवन केसी, कृष्ण मल्ल, संगीतकार शम्भुजित बास्कोटा, कलाकार सुनिल थापा, दीपकराज गिरी, केदार घिमिरे, नायिका निरुता सिंह, गौरी मल्ल, पूजा शर्मा, रेजिना उप्रेती, निर्देशक दीपाश्री निरौला, शोभित बस्नेत, सुदर्शन थापा लगायत पुगेका थिए ।
यस्तै, शुभारम्भ समारोहमा चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्षहरुको पनि उपस्थिती थियो । उनीहरुले नेपाली चलचित्रको विकास र विस्तारको लागि सिनेप्लेक्स टीभीले नयाँ खालको भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
यो टेलिभिजनले घरमै बसी–बसी नेपाली चलचित्र हेर्ने वातावरणको विकास गर्ने विश्वास व्यक्त गरिएको छ । टेलिभिजनमा नयाँ तथा पुराना नेपाली चलचित्र, चलचित्र सम्बन्धी गतिविधी प्रशारण हुनेछन् ।
तस्वीरः शंकर गिरी
प्रतिक्रिया 4