Comments Add Comment

भारतमा दोस्रोपटक उच्च विन्दुको यात्रामा कोरोना संक्रमण

७ चैत, काठमाडौं । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका करिब ४० हजार नयाँ संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितको यो संख्या गत नोभेम्बर २९ यताकै सबैभन्दा उच्च हो । यस्तो अवस्थामा भारतमा कोरोना संक्रमण पुनः उच्च विन्दुमा पुग्न सक्ने आशंका बढेको छ ।

शुक्रबारको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख १४ हजार नाघेको छ, जसमध्ये एक लाख ५९ हजार ३७० को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १५४ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितमध्ये ६५ प्रतिशत महाराष्ट्रमा फेला परेका हुन् । सरकारको तथ्यांकअनुसार पञ्जाब, केरला, कर्नाटका, गुजरात र राजधानी दिल्लीमा पनि कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको छ ।

पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरैले बढेको छ । गत सेप्टेम्बरयता भारतमा कोरोना संक्रमण घट्न थालेको थियो, तर, पछिल्लो समय पुनः संक्रमण बढ्न थालेको हो ।

किन बढिरहेको छ त संक्रमण ?

विशेषज्ञहरुका अनुसार कोरोना संक्रमण नियन्त्रणको लागि भारत सरकारले आवश्यक मापदण्डको पालना नगरेको कारण संक्रमण बढिरहेको आरोप लगाएका छन् । साथै मानिसहरुले पनि मास्क लगाउने र भौतिक दुरी कायम राख्नेजस्ता मापदण्ड मान्न छाडेकाले संक्रमण बढेको उनीहरुको भनाइ छ ।

भारतको पब्लिक हेल्थ फाउण्डेसनका अध्यक्ष के श्रीनाथ रेड्डीले दुवै पक्षले राम्रोसँग कोरोना नियन्त्रणको मापदण्ड पालना नगरेकाले अहिलेको अवस्था आएको उल्लेख गरे ।

उनका अनुसार विशेषगरी जनवरीको सुरुआतपछि भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आएसँगै मानिसहरुले मापदण्डको पालनामा बेवास्ता गर्न थाले । यसले कोरोना संक्रमण बढ्ने मौका पाएको श्रीनाथले बताए । ‘त्यस्तै धेरै राजनीतिक, सामाजिक र धार्मिक गतिविधिहरु र धेरै राज्यको स्थानीय निर्वाचन र अन्य केही राज्यमा भएको संसदीय निर्वाचनको तयारीजस्ता कार्यक्रमहरु भए । यी सबै घटनाहरुले कोरोना संक्रमणलाई तीव्र गतिमा बढ्न सहयोग ग¥यो’, उनले थपे ।

रेड्डीले भारतमा कोरोनाविरुद्धको हर्ड इम्युनिटी कहिले पनि विकास नहुने जिकिर गरे । उनले मानिसहरुले आवश्यक मापदण्डहरु पालना गर्ने र सरकारी निकायले पनि आवश्यक कदम चालेको अवस्थामा मात्र कोरोना नियन्त्रण गर्न सकिने बताए । ‘हामीले सबै क्षेत्रहरु निकै छिटो खुला ग¥यौं । अहिले मानिसहरु पार्टी, मलामी, नाचगानलगायतका भेलामा सहभागी भइरहेका छन् । यदि हामी आवश्यक मापदण्ड पालना गर्दैनौं भने अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्छ’, इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का ललितकान्त बताउँछन् । सरकारी पक्षको पनि केही कमजोरी रहेको उनको बुझाइ छ ।

अनपेक्षित होइन दोस्रो लहर

महाराष्ट्रमा किन यति धेरै नयाँ संक्रमित भेटिइरहेका छन् भन्ने विषयमा रेड्डी भन्छन्, ‘यहाँ उच्च स्तरको आर्थिक गतिविधि हुने र अत्यधिक जनघनत्व भएका सहर छन् । त्यसैले निकै भिडभाडयुक्त अवस्थामा सामान्य जीवन सुरु गर्नुहुन्छ, लामो समयसम्म रेलमा यात्रा गर्नुहुन्छ । अत्यधिक भिड हुने कारखानामा काम गर्नुहुन्छ भने तपाईंले भाइरसलाई फैलिने मौका दिइरहनुभएको छ ।’

भारतका सार्वजनिक स्वास्थ्य विशेषज्ञ तथा महामारीविद् गिरिधारा बाबु कोरोनाका नयाँ संक्रमित बढ्नु नौलो कुरा नरहेको बताउँछन् । ‘यो अचम्मलाग्दो कुरा होइन । कोरोनाको दोस्रो लहर अपेक्षाकृत नै हो तर अचम्मलाग्दो कुरा त अझै केही राज्यमा यो लहर नफैलिनुचाहिँ हो’, उनले भने ।

केही राज्यमा कोरोनाको दोस्रो लहर नफैलिएको देखिए पनि ती राज्यमा पनि कम परीक्षण र कमजोर स्वास्थ्य पूर्वाधारको कारण संक्रमण नबढेको पाइएको उनले बताए । विश्व स्वास्थ्यको विषयमा अनुसन्धान गरिरहेका अनन्त भानले बिस्तारै अन्य राज्यमा पनि कोरोना संक्रमण बढ्न सक्ने बताए ।

भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म चार सय मानिसहरु कोरोनाको नयाँ प्रकार (भेरियन्ट) बाट संक्रमित भएको बताएको छ । जसमध्ये १५८ जना मानिसहरु पछिल्लो दुई सातामा फेला परेका छन् । भानले बाहिरबाट आएको नयाँ प्रकार र आन्तरिकरुपमा नै म्युटेट भएर बनेको नयाँ प्रकारको कारण भारतमा कोरोना संक्रमण बढिरहेको हुन सक्ने बताए ।

पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्न थालेपछि भारतका केही सहरले रात्रीकालीन कफ्र्यु र धार्मिक तथा राजनीतिक भेलामा रोक लगाउनेजस्ता नियम लगाएका छन् । शुक्रबार भारतको महाराष्ट्रले थिएटर तथा सिनेमा हलमा कुल क्षमताको आधा मानिस मात्र राख्न पाइने नियम ल्याएको छ ।

भारतले कोरोना महामारी नियन्त्रणको लागि अहिले खोप अभियान पनि चलाइरहेको छ । जनवरीको अन्तिममा स्वास्थ्यकर्मी तथा फ्रन्टलाइन वर्करलाई लक्षित गरी चलाइएको खोप अभियानमा अहिलेसम्म तीन करोड ५० लाखभन्दा धेरै मानिसले खोप लिइसकेका छन् । यद्यपि भारतको जनसंख्या निकै भएकाले खोप अभियानलाई अझै तीव्रता दिनु आवश्यक रहेको विशेषज्ञहरुको भनाइ छ । आईसीएमआरका ललितकान्त भन्छन्, ‘खोप अभियानको गति सुस्त छ । भारतको जनसंख्या ठूलो त र अहिलेसम्म केवल केही प्रतिशत मानिसले मात्र खोप पाएका छन् ।’

उनी थप्छन्, ‘खोप अभियान संक्रमण बढ्नुको कारण होइन तर हामीले खोप अभियानलाई बढाउँदै संक्रमण नियन्त्रण गर्न सक्छौं ।’विश्व स्वास्थ्यबारे अनुसन्धान गरिरहेका भान भारतले अर्को लकडाउनबाट बच्न गम्भीर भएर कोरोना संक्रमण नियन्त्रणको योजना ल्याउनुपर्ने बताउँछन् । ‘यद्यपि यदि नयाँ संक्रमितको संख्या बढिरह्यो भने यो (लकडाउन) पनि हुन सक्छ ।’

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment