+
+

‘सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ’

रासस रासस
२०७७ चैत ८ गते २०:३१
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित वडा कार्यालयमा आइतबार १०० वर्षिया ज्येष्ठ नागरिक मनकुमारी लामिछानेलाई परिचयपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ। तस्वीर :कृष्ण न्यौपाने/रासस

८ चैत, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको छ । गाउँपालिकाले वडास्तरबाटै ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण शुरु गरेको हो ।

आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित वडा कार्यालयमा आज १०० वर्षीया मनकुमारी लामिछानेलाई गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले परिचयपत्र प्रदान गरे । विसं १९७६ पुस ५ गते जन्मिएकी लामिछानेले पहिलो पटक ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुशी लागेको बताइन् ।

“एक सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ, अब पाउनुपर्ने अन्य सुविधा पनि पाउने आशा जाग्यो’, लामिछानेले भनिन् । गाउँपालिकाले वडा वडाबाटै परिचयपत्र वितरण गरिदिँदा आफूहरूलाई सहज भएको उनले बताइन् । ‘यो अवस्थामा गाउँपालिकासम्म गएर परिचयपत्र लिन परेको भए समस्या हुन्थ्यो’, उनले भनिन् , “घरआँगनमै परिचयपत्र पाउँदा एकदमै खुशी छु ।’

परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जानकारी दिँदै परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्ने बताए । पोख्रेलका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार ४०० बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ ।

चैत ९ गते आँबुखैरेनी गाउँपालिका–२ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए । वडा नं ४, ५ र ६ मा भने परिचयपत्र वितरणका लागि पछि मिति तोकिनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?