Comments Add Comment
एमालेमा चार नेतालाई स्पष्टीकरण :

माधव नेपाललाई महासचिवको प्रश्न : प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको अर्थ के हो ?

९ चैत, काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेपाल माधवकुमार नेपालसहित चार नेतासँग विभिन्न १० बुँदामा स्पष्टीकरण माग गरेको छ ।

सोमबार महासचिव ईश्वर पोखरेलले पत्र लेखी पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध क्रियाकलापको नेतृत्व र अगुवाई के कति कारणले गरेको भनी १० बुँदामा स्पष्टीकरण माग गरेका हुन् ।

ओली पक्षीय नेताहरु मात्र उपस्थितिमा ७ चैतमा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

त्यसअनुसार महासचिव पोखरेलले चार नेपाललाई पत्र काटेर ३ दिनभित्र स्पष्टीकरण दिन भनेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई लेखेको पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको अर्थ के हो भनेर सोधिएको छ ।

प्रचण्डले ‘माधव नेपालहरु सके नेकपा एमाले कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा माओवादी केन्द्रसँग एकता गर्न आउनुहुन्छ’ भनी दिएको अभिव्यक्तिप्रति मौन समर्थन रहनुको रहस्य के हो भन्ने प्रश्न पनि गरिएको छ ।

महासचिव पोखरेलले माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला किन गरेको भनी प्रश्न गरेका छन् ।

‘… विभिन्न अन्य भेलाहरु निरन्तर गरिरहेको, विभिन्न पार्टी कमिटी तथा भातृ संगठनहरुको भेला गरी अनधिकृत रुपले विभिन कार्य गरी÷गराई पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गर्नुभएको हो ?’ पत्रमा प्रश्न गरिएको छ ।

त्यस्तै निर्वाचन आयोगमा पार्टी विधान र हित विपरीत पटक पटक किन गएको, पार्टीको नाम, चिह्न र झण्डा कुनै समूह वा गुटले मात्र प्रयोग गर्ने उद्देश्यले निवेदन लिएर किन निर्वाचन आयोगमा गएको भनेर पनि प्रश्न गरिएको छ ।

स्पष्टीकरण पत्रमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकार विरुद्ध संसद, सञ्चार माध्यम, सडकबाट निरन्तर विरोध गर्ने, प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव तयार पार्ने र संसद सचिवालयमा दर्ता गर्ने काम किन गरेको भनी सोधिएको छ ।

त्यस्तै पार्टी अध्यक्ष ओलीलाई साधारण सदस्यसमेत नरहने गरी किन कारबाही गरिएको ? प्रचण्डले नेकपा रहदैको अवस्थामा १९ बुँदे ‘आरोपपत्र’ पेश गर्दा प्रचण्डको मतियार भई पार्टी हित विपरीत किन काम गरेको भनी प्रश्न गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment