Comments Add Comment

गड्डाचौकी नाका वर्षदिनसम्म पनि सुनसान

१० चैत, महेन्द्रनगर । गत वर्षको चैतमा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण ठप्प रहेको कञ्चनपुरको गड्डाचौकी नाका अझै सहज हुन सकेको छैन ।

कोरोना संक्रमण कम भएर मुलुकमा अवस्था सामान्य भइरहेका बेला गड्डाचौकी नाकामा आवागमन केही सहज भए पनि पूर्णरुपमा सञ्चालन आउन सकेको छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्ले लकडाउनको एक वर्ष बितिसक्दा पनि नाका सहज हुन नसकेको बताए ।

‘केही समयअघि मात्रै स्थानीय प्रशासनले भारतीय नागरिकलाई आवागमनका लागि सहज गरे पनि सवारीसाधन अझै सीमा नाकामा निर्वाध रुपमा सञ्चालन हुन सकेको छैन,’ उनले भने, ‘भारतमा कोरोना बढिरहेकाले अझै सीमामा हामीले पनि सतर्कता अपनाउन आवश्यक छ ।’

नाका सहज नहुँदा यहाँको होटेल व्यवसाय, यातायात सेवा र व्यापार व्यवसाय प्रभावित बनेको छ । यसैबीच सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतका विभिन्न शहरमा पुनः कोरोनाका बिरामी बढ्न थालेपछि सुदूरपश्चिममा नेपाल–भारत सीमा क्षेत्रमा कोरोना जाँचलाई अघि बढाएको छ ।

‘केही दिनअघि गड्डाचौकी नाकामा पनि कोरोना नमूना परीक्षण गर्दा पोजेटिभ देखिएको छ,’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘भारतमा सङ्क्रमित क्षेत्रबाट आएका र शंकास्पद देखिएका व्यक्तिहरुको नाकामै अहिले कोरोना परीक्षण गरिरहेका छौं ।’

उहाँले केन्द्रबाट पनि स्वास्थ्य सतर्कता अपनाउन दिएको निर्देशन बमोजिम यहाँका स्थानीय प्रशासन, स्वास्थ्य संस्था र पालिकाहरुलाई पत्राचार गरिने बताए ।
सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले मंगलबार बिहान पनि सीमा नाकामा स्वास्थ्य परीक्षण गराउँदा एकजनामा कोरोना पोजेटिभ देखिएको बताए ।

‘पोजेटिभ देखिएकालाई महाकाली अस्पतालमा व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘हालसम्म पछिल्लो समय भारतबाट स्वदेश फर्किने चारजनामा कोरोना देखिएको छ ।’
सीमा नाकामा सतर्कता अपनाउने विषयमा छलफल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment