Comments Add Comment

एमाले हाम्रो हो, केपी ओली पार्टी छाडेर गए हुन्छ : माधव नेपाल

ओलीप्रति अझ आक्रामक बने नेता नेपाल

१० चैत, काठमाडौं । अनुशासन उल्लंघन गरेको भन्दै १० बुँदे स्पष्टीकरण पत्र काटेपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल पार्टी नेतृत्वप्रति अझ आक्रामक देखिएका छन् । स्पष्टीकरणले नतर्सने भन्दै उनले जनवर्गीय संगठनसँगै जिल्ला कमिटीहरुको भेला गर्ने बताए ।

एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र सहभागी ७ चैतको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । महासचिव ईश्वर पोखरेलले सोमबार पठाएको पत्रमा नेता नेपालमाथि १० बुँदे आरोप लगाएका छन् र तीनदिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

त्यसको भोलिपल्ट मंगलबार नेपाल समूहसम्वद्ध विद्यार्थीहरुले गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता नेपाल प्रमुख अतिथि थिए । नेपाल समूहका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु उपस्थित भेलालाई सम्बोधन गर्दै उनले ‘कथित स्पष्टीकरण’बाट नतर्सिने बताए ।

मंगलबार मात्र एक नेताले आफूलाई भेटेर ‘कमरेड केपी ओलीसँग मिल्नुस्, जेजे कारबाही नै गरे पनि सहिदिनुस्’ भनेको भन्दै उनले सहभागीहरुलाई प्रश्न गरे, ‘के हामी घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ?’

(हलबाट होइन भन्ने चर्को अवाज आयो) उनले पनि भने, ‘यो हामीलाई किमार्थ मन्जुर छैन । केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौं, आतंकित भएका छैनौं । त्यसको सामना गर्न तयार छौं ।’

तत्कालीन राजा वीरेन्द्र, राजा ज्ञानेन्द्रका साथै कांग्रेसका नेताहरुसँग डिल गरेको, विदेशीका दबावसामु नझुकेको र पार्टीमा आएका हरेक सामस्या सामना गरेरआफू यहाँसम्म आएको भन्दै उनले भने, ‘कस्ता कस्ता कहाँ आए, केपी ओली मेरो सामुन्नेमा । केपी ओलीसँग लड्नु ठूलो कुुरा होइन ।’

‘यिनका चुरीफुरीहरु प्रधानमन्त्रीको कुर्सीमा बस्दासम्म मात्र हो । जब प्रधानमन्त्रीको कुर्सीबाट सडकमा उत्रिनेछन्, केपी ओली प्रवृत्तिको हावा खुस्किनेछ ।’

२२ सालमा राजनीतिमा होमिएको आफू बाधा पन्छाउँदै नदी अगाडि बढेजस्तै अगाडि बढेको उनले सुनाए । यो ठाउँसम्म आउन साथ दिएको भन्दै केही नेताको नाम लिए । कतिले साथ छाडेको भन्दै उनले भने, ‘ठाउँमा पुर्‍याइएकाले धोका दिएकाहरु पनि सम्झिइरहेको छु ।’

नेता नेपालले अघि भने, ‘हामी तर्सिएका छैनौं, मैदान छोडेर भाग्ने वाला पनि छैनौं । पार्टी पनि फुटउँदैनौं । पार्टी फुटाउँछन् भने केपी ओलीले फुटाउँछन् ।’

ओली हिटलरको नेपाली अवतार

पार्टी अध्यक्षमाथि निशाना साँधेका उनले ओली हिटलरको नेपाली अवतार भएको बताए । ओली व्यक्तिवादी र आफूहरुलाई संगठनवादी भएको दाबी गरेका उनले पार्टीको विवादलाई पदको झगडाको रुपमा नबुझ्न आग्रह गरे ।

यद्यपि ओलीले ‘असली एमाले हामी हौं’, ‘जबजको हिमायती हामी हौं’ भन्ने भ्रम छर्न खोजेको उनको दाबी छ । जबज र केपी ओलीको भेट कहिल्यै नभएको भन्दै वरिष्ठ नेता नेपालले, ‘जबज भनेको बहुमतको निर्णयलाई मान्नु हो । उनले कहिल्यै बहुमतलाई टेरेका छैनन् ।’

साबिकको नेकपाको सबै कमिटीमा आफू अल्पमतमा परेपछि बैठक बस्न नमानेको तथा सचिवालयलाई हुल्लडबाज, स्थायी कमिटीलाई बाहुबली र केन्द्रीय कमिटीलाई सडक छापहरुको कमिटी भनेको भन्दै उनले अघि भने, ‘अहिले उनले आसेपासे र दासहरुलाई मात्र राखेका छन् ।’

जबजलाई मान्ने हो भने आलोचनात्मक चेत हुनुपर्ने र आलोचना सुन्न सक्नुपर्ने भन्दै उनले ओली समूहमा भएका कोहीसँग पनि गलत कुराको आलोचना गर्ने हिम्मत नभएको बताए । जबजको अर्को मान्यता कम्युनिस्ट पार्टी पनि लोकतान्त्रिक तरिकाले चल्नुपर्छ भन्ने भएको भन्दै उनले भने, ‘आज केपी ओलीले सम्पूर्ण अधिकार आफूमा केन्द्रित गरेका छन् । नेपाल हिटलरको अवतार भएका हुन केपी ओली ।’

उनले अघि भने, ‘यो जनताका बहुदलीय जनवाद होइन, केपी ओलीको निरंकुशतावादी अधिनायकवाद मात्र हो, यसलाई स्वीकार गर्न सकिन्नँ ।’

२०५१ सालबाटै गुटबन्दी सुरु गरेका ओली नवौं महाधिवेशनमा जालझेल गरेर नेतृत्वमा आएको र ओली प्रवृत्तिका कारण पार्टीमा समस्या भएको नेता नेपालको दाबी छ । उनले अघि भने, ‘हामी पार्टी विभाजनको पक्षमा छैनौं, तर कसैको दास बन्न पनि तयार छैनौं ।’

हिम्मत छ निकाल्ने ?

वैचारिक जगमा पार्टीलाई अगाडि बढाउन चाहेको र कार्यकर्ता भेला गरेर निराश कार्यकर्तामा उत्साह जगाएको भन्दै उनले भने, ‘स्याबास भन्नुपर्ने कारबाही गर्छु रे । पार्टीको अध्यक्षले अभिभावकको भूमिका खेल्नुपर्ने होइन ?’

नेकपा हुँदा केपी ओलीलाई अध्यक्ष र पार्टी सदस्यबाट किन हटाएको ? पार्टी फुटाउन निर्वाचन आयोग किन गएको ? अविश्वासको प्रस्तावमा किन हस्ताक्षर गरेको ? पार्टीको बैठकमा किन नआएको ? लगायतका प्रश्न गरेर कारबाही गरी किन ननिकाल्ने भनेको भन्दै वरिष्ठ नेता नेपालले भने, ‘हिम्मत छ निकाल्ने ? निकाल्नुस् त ! सहेर बसिन्छ ?’

आफूहरु नलत्रिएको भन्दै उनले मुस्लिम, दलित, मजदुर, बुद्धिजीविलगायतका जनवर्गीय संगठनको राष्ट्रिय भेला गर्ने तयारी भइरहेको बताए । त्यसपछि जिल्ला भेला सुरु हुने भन्दै नेता नेपालले भने, ‘जिल्लाजिल्लामा तरंग पैदा गर्नेछौं । नेकपा एमालेलाई बलियो बनाउन संगठन प्रत्येक जिल्लामा संगठन निर्माण र सुदृढिकरण अभियान चलाउने छौं ।’

केपी बिमाले, सिमाले हुन्

नेता नेपालले एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली विमाले, सिमाले भएको भन्दै उनले भने, ‘केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले हुन्, सिमाले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीमाथि राजावादीसँग साँठगाँठको आरोप समेत लगाएका छन् । तर अब नेपालमा राजतन्त्रमा फर्किन नसक्ने भन्दै उनले भने, जतिसुकै साँठगाँठ गरुन, राजावादीहरुलाई प्रोत्साहन गर्ने काम गरुन, हुर्काउने प्रयन्त गरुन, त्यसलाई विफल पारिछाड्ने छौं ।’

यो पनि पढ्नुहोस माधव नेपाल भन्छन् : हिटलरका नेपाली अवतार हुन् केपी ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment