Comments Add Comment

डिजिटल बैंकिङ सेवाको प्रयोगमा जोड दिन मन्त्री साहको आग्रह

१० चैत, काठमाडौं । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले ‘डिजिटल बैंकिङ’ सेवाको प्रयोगमा जोड दिन आग्रह गरेका छन् ।

देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिले मंगलबार जनकपुरमा रहेका वाणिज्य बैंकले ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने बताए । यो प्रविधिले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पुर्‍याउने उनले बताए ।

जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साह र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष लालकुमार साहले यस्तो खालको अभियान विस्तारले नगदरहित कारोबार गर्न जनतालाई उत्प्रेरित गर्ने बताएका थिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’ को प्रबर्द्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको बताए ।

क्यूआर कोडको प्रयोग अहिलेको कोभिड–१९ को महामारीको वेलामा झनै उपयोगी सावित हुने उनले बताए ।

कार्यक्रममा उद्योगी/व्यवसायीहरु, बैंकका प्रदेश प्रमुखहरु लगायत विभिन्न वाणिज्य बैंकका प्रमुख/पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment