+
+

चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

सुवास पण्डित सुवास पण्डित
२०७७ चैत १२ गते १०:३९

१२ चैत्र, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । भरतपुर महानगरपालिका–१० घर भई काठमाडौं बस्दै आएकी ५४ वर्षीय धनकुमारी लामामा कलेजो प्रत्यारोपण गरिएको कलेजले जनाएको छ ।

लामालाई उनकी ३४ वर्षीया छोरी उषाले कलेजो दिएकी हुन् । चैत्र ८ गते झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा.वरुण श्रेष्ठ, डा. सागर पौडेल, डा. नविन यादव, डा. सुरेश गौतम, डा. विज्ञान पौडेलको टिमले गरेको प्रत्यारोपणमा एपोलो अस्पतालका डा. निरज गोयल, डा. अरुणकुमार, डा. सञ्जीव अनिजा लगायतको टोलीले सहयोग गरेको थियो ।

चिकित्सकका अनुसार ‘क्रोनिक लिभर डिजिज’को कारण लामाको कलेजो काम नलाग्ने गरी बिग्रिएकाले प्रत्यारोपणको विकल्प थिएन । अहिले आमाछोरीको स्वास्थ्य सुधारोन्मुख छ ।

दक्ष जनशक्तिको टिम तयार

चितवन मेडिकल कलेजले विगत केही वर्षदेखि कलेजो प्रत्यारोपणका लागि तयारी थालेको थियो । कलेजो प्रत्यारोपणका लागि कलेजमा ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सहरू छन् ।

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गराउने धनकुमारी लामा नेपालमा आठौं बिरामी हुन् । यसअघि त्रिवि शिक्षण अस्पतालमा पाँच र मानव अंग प्रत्यारोपण केन्द्रमा दुईजनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेका अनुसार कलेजो प्रत्यारोपणका लागि अलग्गै अप्रेशन कक्ष र आईसीयू तयार गरिएको छ । अहिले भारतीय चिकित्सकले सहयोग गरेको भए पनि ८÷१० वटा प्रत्यारोपणपछि उनीहरुको संलग्नताविना नै प्रत्यारोपण गरिने समेत उनले बताए ।

अहिले कलेजो प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने कलेजले जनाएको छ । यद्यपि केही समयपछि १५ लाखमै कलेजो प्रत्यारोपण सेवा दिने प्रा. डा. न्यौपानेले बताए ।

लामा कलेजो प्रत्यारोपण गर्ने आठौं बिरामी

चितवन मेडिकल कलेजमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गराउने धनकुमारी नेपालमा आठौं बिरामी हुन् । यसअघि त्रिवि शिक्षण अस्पतालमा पाँच र मानव अंग प्रत्यारोपण केन्द्रमा दुई जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ ।

पछिल्लोपटक ३० फागुनमा त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुमा कलेजो प्रत्यारोपण गरिएको थियो । नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण २०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा भएको थियो ।

चिकित्सा विज्ञानमा जटिल सेवामध्ये मानिने कलेजो प्रत्यारोपणका लागि नेपालमा चारवटा स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले सरकारीस्तरमा भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपण अनुमति दिएको छ ।

निजीस्तरमा चितवन मेडिकल कलेज भरतपुर र कलेज अफ मेडिकल साइन्सेस नेपाललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको छ ।

दूषित पानी र खानाले बिग्रन्छ कलेजो

नेपालमा हरेक वर्ष करिब एक हजार जनाको कलेजो फेल हुने अनुमान छ । तर नेपालमा प्रत्यारोपण भर्खर मात्र सुरु भएकाले धेरै बिरामी भारत जाने गरेका छन् । वार्षिक औसत ६० जना बिरामीहरू प्रत्यारोपणका लागि भारत जाने अनुमान छ ।

नेपालमै प्रत्यारोपणको दरलाई बढाउने सहज अवस्था तयार भएमा भारतको भर पर्नुपर्ने बाध्यताको अन्त्य छिट्टै सम्बद्ध चिकित्सकहरू बताउँछन् ।

सामान्यतया कलेजो दूषित पानी र खानाका कारण बिग्रन्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’, जो रगतको माध्यमबाट पनि सर्छ, यसलाई ‘साइलेन्ट किलर’ भनेर बुझ्ने गरिन्छ । एक तथ्यांक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण बिग्रने चिकित्सक डा. सञ्जय यादवले बताए । मधुमेहका कारण कलेजोमा बोसो जमेर पनि कलेजो बिग्रने गर्छ । मानव शरीरमा ५० देखि ६० प्रतिशत कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिने चिकित्सकहरू बताउँछन् ।

त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल हुन्छ । त्यसैले कम्तीमा पनि वर्षमा एकपटक कलेजको अवस्था जा“च गराउनु राम्रो हुने चिकित्सकहरूको सुझाव छ । नाबालकले नाबालकलाई, वयस्कले वयस्कलाई, बालकले वयस्क वा वृद्धलाई सजिलै दिन सकिने कलेजो प्रत्यारोपण ६५ वर्षसम्म उमेर भएका मानिसले दान गर्नसक्ने चिकित्सक डा. सञ्जय यादवले बताए । एक जनाबाट ६० देखि ६५ प्रतिशतसम्म कलेजो निकालेर प्रत्यारोपण गर्न सकिने उनले बताए ।

कलेजोमा ६० प्रतिशतभन्दा बढी बोसो जमेको बाहेक अन्यले पनि सजिलै दान दिनसक्ने डा. यादवको भनाइ छ । कुनै पनि व्यक्तिलाई स्वस्थ मानिसले कलेजो दान गर्दा उक्त व्यक्तिको मृत्यु हुने सम्भावना जम्मा ०.०२ प्रतिशत मात्र हुने गर्छ । अर्थात् दश हजार जनामध्ये दुई जनाको मात्र मृत्यु हुने तथ्यांक छ ।

‘कलेजो आफैं विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि नै यो बिरामीको शरीरमा आफैं विकसित हुन्छ,’ कलेजो सर्जन डा. एकानन्द सिंहले भने, ‘करिब ६ महिनामा झण्डै ९० प्रतिशत कलेजोको विकास हुन्छ । यसले गर्दा कलेजो प्रत्यारोपण गरेका बिरामीले पुनः पहिले जस्तै जीवन जिउन सक्छन् ।’

 

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?