Comments Add Comment

कर्णाली प्रदेशमा लगानी भित्र्याउन परियोजना बैंक स्थापना गरिँदै

१२ चैत, सुर्खेत । कर्णाली प्रदेशमा लगानी भित्र्याउन परियोजना बैंक स्थापनाको काम थालिएको छ । परियोजना बैंक निर्माणको काम अन्तिम चरणमा पुगेको प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायले बताए ।

चैतको अन्तिम सातासम्म परियोजना बैंक स्थापना गरी लगानी सम्मेलन गरिनेछ । ‘निजी लगानीलाई प्रोत्साहन गर्ने खालका योजना परियोजना बैंक मार्फत ल्याइनेछ, आगामी वैशाखभित्र लगानी सम्मेलन पनि गर्ने तयारीमा छौं,’ सदस्य रोकायले भने ।

सदस्य रोकायका अनुसार राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. शंकर शर्माको परामर्शमा परियोजना बैंक स्थापना हुन लागेको हो ।

प्रदेशमा निजी लगानीको सम्भावनालाई मूल्याङ्कन गरी परियोजना बैंकमा समेटिनेछ । ‘राज्यको लगानीले मात्रै जनतालाई पूर्ण विकासको अनुभूति दिलाउन सकिँदैन, त्यसैले निजी लगानीलाई प्रोत्साहन गर्नु जरुरी छ,’ सदस्य रोकायले भने । सडक, पूर्वाधार लगायत आधारभूत आवश्यकतामा सरकारले लगानी गरे पनि अन्य क्षेत्रमा निजी लगानी भित्र्याउन सकिने उनको भनाइ छ ।

पर्यटन, उद्योग, उर्जा लगायतका योजनाहरूलाई पनि परियोजना बैंकले प्राथमिकतामा राख्नेछ । कर्णाली प्रदेशमा उद्योग, उर्जा र पर्यटनको अधिक सम्भावना भएकाले यस्ता योजनाहरूलाई प्राथमिकता दिइएको आयोगले जनाएको छ ।

हाइड्रोपावर, केबलकार जस्ता आयोजनाहरूलाई पनि प्राथमिकतामा राखिएको छ । यिनै क्षेत्रमा निजी क्षेत्रलाई लगानीको लागि आह्वान गर्न लागिएको हो । परियोजना बैंक निर्माण भएपछि सोही अनुसार नै बजेट बनाइने आयोगका अर्का सदस्य योगेन्द्र शाहीले बताए ।

परियोजना बैंकमा परेको योजनालाई नै आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटले समेट्ने आयोगले जनाएको छ । परियोजना बैंकका लागि सबै मन्त्रालयहरूमा योजना माग भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हिरालाल रेग्मीले बताए ।

योजना आयोगका सदस्य सचिव समेत रहेका रेग्मीले विज्ञहरूको परामर्शपछि मात्रै परियोजना बैंकले पूर्णता पाउने बताए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५ मा परियोजना बैंक निर्माण गरिसक्ने भनेपनि कामले गति लिन सकेको थिएन । करिब दुई वर्षपछि कामले गति लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment