Comments Add Comment
(फोटो फिचरसहित) :

६ वर्षपछि रंगशालामा सिनियर टिमको फुटबल

१२ चैत, काठमाडौं ।  घरेलु मैदान । घरेलु टिम । घरेलु दर्शक । तर खेलमा न गोल भयो न त नतिजा नेपालले अपेक्षा गरे जस्तो आयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कप फुटबल अन्तर्गत नेपालले बिहीबार किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेलेको थियो ।

त्रिदेशीय कपको दोस्रो खेलमा नेपालको सिनियर र किर्गिस्तानको ओलम्पिक टिम खेल्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा करिब ७ हजारको संख्यामा दर्शक उपस्थित थिए ।

नेपाली खेलाडीले खेलमा आधा दर्जन भन्दा बढी अवसर पाए पनि गोल गर्न भने सकेन । आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानको युवा टिमसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।

यो नतिजाले प्रतियोगिताको अर्को टिम बंगलादेश भने फाइनल पुगेको छ । अब शनिबार हुने नेपाल र बंगलादेशको खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

नेपालले बंगलादेशसँग बराबरी खेलेे मात्र पनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न भने शनिबार हुने खेलको नतिजा किर्गिस्तानकै अनुकूल आउन पर्छ ।

दशरथ रंगशालमा नेपालको सिनियर फुटबल टिमले सन् २०१५ पछि पहिलो पटक खेलेको हो । गत वर्ष मंसिरमा भएको १३औं सागमा नेपालको यू-२३ टिमले फुटबलमा स्वर्ण जिते पनि त्यो सिनियर स्तरको थिएन । त्यसैले ६ वर्षपछि दशरथ रंगशालमा सिनियर टिमको यो पहिलो खेल रह्यो ।

यस्तै यसै प्रतियोगितामार्फत राष्ट्रिय टिममा पहिलो पटक परेका तीन खेलाडी सन्जोग राई, त्रिदेव गुरुङ र निशान खड्काले सिनियर टिममा पहिलो पटक खेले । मिडफिल्डद्वय सन्जोग र त्रिदेवले पहिलो रोजाइमा खेले भने निशानले अन्तिम चार मिनेट अवसर पाए ।

बराबरीपछि नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अहिले उपलब्ध भएको मध्ये बेस्ट टिम खेलाएको तर फरवार्ड स्कोरिङमा चुक्दा नेपालले स्कोर गर्न नसकेको बताए । उनले अट्याकिङ थर्डमा देखिएको समस्या अर्को खेलमा सुधार गर्दै राम्रो गर्ने बताए ।

महर्जनले बंगलादेश विरुद्धको अर्को खेलमा अंक जोड्दै फाइनल पुग्ने बताए ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment