News Summary
Generated by OK AI. Editorially reviewed.- नवीन अर्यालको खोजमूलक कृति ‘नेपाल–जापान खेल सम्बन्ध’ शुक्रबार जापानको आइची–नागोयामा विमोचन हुने भएको छ।
- पुस्तकमा नेपाल–जापान खेल सम्बन्ध सन् १९५१ को पहिलो एसियाली खेलकुदबाट सुरु भएको र पछि विकसित सम्बन्ध तथा सहकार्य समेटिएको छ।
- अर्यालले पुस्तक तयार पार्न दुई वर्ष लागेको र यसले दुई देशबीचको खेल कूटनीति सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
३० भदौ, काठमाडौं । चिरपरिचित खेल पत्रकार तथा लेखक नवीन अर्यालको नयाँ खोजमूलक कृति ‘नेपाल–जापान खेल सम्बन्ध’ आगामी शुक्रबार जापानको आइची–नागोया शहरमा विमोचन हुने भएको छ।
नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको भए पनि दुई देशबीच त्यसअघि नै खेलकुदका माध्यमबाट सम्बन्ध स्थापित भइसकेको तथ्यलाई पुस्तकमा समेटिएको लेखक अर्यालले बताएका छन्।
उनका अनुसार नेपाल र जापानबीचको खेल सम्बन्ध सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको पहिलो एसियाली खेलकुदबाट सुरु भएको थियो। त्यसयता दुई देशबीच खेलकुदका क्षेत्रमा विकसित सम्बन्ध र सहकार्यका विभिन्न पक्षलाई पुस्तकमा खोज तथा अनुसन्धानमार्फत प्रस्तुत गरिएको छ।
‘नेपाल–जापान खेल सम्बन्ध’ तयार पार्न आफूलाई दुई वर्ष लागेको अर्यालले बताए। “नेपाल र जापानबीचको खेल सम्बन्ध सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको पहिलो एसियाली खेलकुदबाट सुरु भएको हो। यसपछि कसरी हाम्रो सम्बन्ध स्थापित भयो, यही कुरालाई पुस्तकमार्फत उजागर गर्न खोजेको छु,” उनले भने।
नेपालमा जुडो, कराते र सफ्ट टेनिसजस्ता खेल भित्र्याउन जापान सरकारको भूमिका रहेको पुस्तकमा उल्लेख छ। नेपालको भलिबल, जिम्न्यास्टिक र ब्याडमिन्टनलाई विकासको अहिलेको अवस्थासम्म ल्याउन जापान सरकारबाट प्राप्त सहयोगलाई पनि पुस्तकमा समेटिएको छ।
सन् १९७३ मा जापानको चर्चित मोटर कम्पनी टोयोटाका अध्यक्ष सोइची साइतोको नेपाल आगमन तथा टोयोटाले नेपालको खेल क्षेत्रमा गरेको लगानीलगायत विषय पनि पुस्तकमा समावेश छन्।
जापानी पर्वतारोहीलाई नेपालको हिमाल आरोहणमा सफल बनाउन नेपाली शेर्पाहरूले पुर्याएको योगदानलाई समेत अर्यालले पुस्तकमा स्थान दिएका छन्।
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको ७५ वर्ष पूरा भएको अवसरमा एसियाली खेलकुद आयोजना हुने स्थलमै पुस्तक विमोचन हुन लागेको यो पहिलो अवसर भएको लेखक अर्यालको भनाइ छ।
उनले पुस्तकले नेपाल र जापानबीचको खेल कूटनीतिलाई आगामी दिनमा अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
अर्याल विगत २७ वर्षदेखि खेल पत्रकारितामा सक्रिय छन्। उनको पहिलो खोजमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ सन् २०८० मा विमोचन भएको थियो।
‘नेपाल–जापान खेल सम्बन्ध’ को विमोचन जापानको आइची–नागोयास्थित दियालो रेस्टुरेन्टमा शुक्रबार साँझ ५ बजे हुनेछ। जापानले २०औँ एसियाली खेलकुद पनि आइची–नागोयामै आयोजना गर्दैछ।
प्रतिक्रिया 4