Comments Add Comment

चार मन्त्रालय मुख्यमन्त्री राईसँगै, कहिले हुन्छ सरकार विस्तार ?

मन्त्रीको सूचीमा माओवादी छाडेका आङ्बुहाङ

१३ चैत, विराटनगर । सर्वाेच्च अदालतको फैसलापछि पद जोगिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार विस्तारको तयारी थालेका छन् । गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तारको तयारी थालेका हुन् ।

बुधबार नेकपा एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका नेतालाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । अविश्वासको प्रस्ताव असफल हुने भएपछि मुख्यमन्त्री राईले मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

प्रदेश १ मा सातवटा मन्त्रालय छन् । मुख्यमन्त्री राईले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीे सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका छन् ।

उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय जगदिश कुशियतले सम्हालेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार मन्त्रालयमा मुख्यमन्त्री राईले राज्यमन्त्री मात्रै नियुक्त गरेका छन् ।

दुई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले सरकार विस्तारको तयारी रहेको बताए ।

उनका अनुसार अविश्वासको प्रस्ताव छिनोफानो भइसकेपछि मन्त्रीमण्डल विस्तार हुनेछ । मन्त्री कार्कीका अनुसार मन्त्रीमण्डल १०-११ जनाको हुनसक्छ । ‘सातवटा मन्त्रालय छन्, १०-११ जनाको मन्त्रीमण्डल बन्न सक्छ,’ मन्त्री कार्कीले भने, ‘केही दिनपछि विस्तार हुन्छ ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपाको प्रचण्ड-माधव समूहले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्ताव दर्ता भएकै दिन तत्कालीन प्रचण्ड-माधव समूहका नेता तथा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा बातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए । १० पुसमा मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए ।

को-को बन्दैछन मन्त्री ?

मुख्यमन्त्री शेरधन राई निकट स्रोतका अनुसार अब विस्तार हुने सरकारमा माओवादी केन्द्र छाडेका र नेकपा एमालेभित्र माधव नेपाल गुट परिवर्तन गरी साथ दिएकाहरु मन्त्री बन्ने सूचीमा छन् ।

स्रोतका अनुसार माओवादी केन्द्र छाडेका टङ्क आङ्बुहाङ, माधव नेपाल समूह त्याग गरेका उषाकला राई र कला घले, राजकुमार ओझा, गोपाल बुढाथोकीलगायतको नाम चर्चामा छ । त्यसमा केही नाम थपघट हुनसक्ने स्रोतको दाबी छ ।

आङ्बुहाङ छ महिने मन्त्री

माओवादी केन्द्रको संसदीय दलको नेता आङ्बुहाङ नेकपा एमालेमा प्रवेश गरेपछि मन्त्री बन्ने लाइनमा छन् । तर उनीविरुद्ध माओवादी केन्द्रले कारबाही प्रकृया सुरु गरेकाले ६ महिनामात्रै मन्त्री बन्ने सम्भावना छ । माओवादीले संसद पदबाट निलम्बन गरे पनि ६ महिना मन्त्री बन्न पाउनेछन् ।

मुख्यमन्त्री राईले सामाजिक विकास, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था तथा कृषि तथा सहकारीमन्त्री विस्तार गर्ने तयारी छन् । भौतिक पूर्वाधार आफैँ राख्ने तयारीमा रहेका राईले राज्यमन्त्री पनि थप गर्ने सम्भावना छ ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेको ५१ सिट छ । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमाले बाहेकका दल एकठाउमा उभिँदा ४२ मात्रै पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment