१४ चैत, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य गत मंगलबार एकै दिन १०५० रुपैयाँले बढेर ११ हजार ५५० रुपैयाँ पुग्यो । यस कम्पनीको कारोबार रकम १२ करोड ५९ लाख रुपैयाँ नाघ्यो ।
बुधबार पनि प्रि–ओपनिङ सेसनमै साल्ट ट्रेडिङको सेयर मूल्य आकाशियो । जम्मा १५ मिनेट खुल्ने प्रि–ओपनिङ सेसनमै ५ प्रतिशतले बढेको एसटीसीको सेयर मूल्य बुधबार कारोबार खुला भएसँगै लगानीकर्ताहरूको आकर्षण देखियो ।
बुधबार पनि ११५५ रुपैयाँले यस कम्पनीको सेयर मूल्य बढेर १२ हजार ७०५ रुपैयाँ प्रतिकित्ता पुग्यो । बिहीबार पनि बढ्ने क्रम जारी रह्यो । बिहीबार ५३० रुपैयाँले बढेर प्रतिकित्ता १३ हजार २३५ पुग्यो । सेयर मूल्य उच्च भएको भए पनि यस कम्पनीको चुक्ता पूँजी भने कम छ ।
१९ लाख २० हजार २४६ कित्ता मात्रै सेयर सूचीकृत छ । थोरै सप्लाइ भएको यस कम्पनीको सेयर मूल्य एक्कासी बढेपछि इन्साइडर ट्रेडिङ (सूचना चुहाएर कारोबार) को आशंका गरिएको छ ।
सेयर बजारका जानकार हरिकुमार कार्की लाभांश सम्बन्धी सूचना चुहिएको हुनसक्ने आशंका गर्छन् । यस संस्थाले आकर्षक लाभांश दिन्छ भनेर सूचना चुहिएपछि धेरैले सेयर किनेको हुनसक्ने अनुमान उनको छ ।
‘हाम्रो बजारमा इन्साइडर ट्रेडिङ नयाँ कुरा होइन, सूचना हुनेहरूले बदमासी गर्न सक्छन्’ उनले भने, ‘पहिले पहिले पनि भई नै रहेको हो, अहिले पनि मूल्य बढ्ने कुनै निर्णय औपचारिक रूपमा बाहिर नआएकाले शंका गर्ने प्रशस्त ठाउँ छ ।’
सेयर बजारका अन्य जानकारहरू पनि नेपालमा इन्साइडर ट्रेडिङ कुनै नयाँ विषय नभएको बताउँछन् । कारबाही गर्ने संयन्त्र नहुनु र नियामक निकायले पनि बेवास्ता गर्दा इन्साइडर ट्रेडिङ मौलाइरहेको उनीहरूको जिकिर छ ।
कसरी फस्छन् सोझा लगानीकर्ता ?
अलि बाठा लगानीकर्ताहरूको सीधै कम्पनीको सञ्चालक समिति वा उच्च व्यवस्थापनमै पहुँच हुन्छ । जसले गर्दा कम्पनीले गर्ने महत्वपूर्ण निर्णय उनीहरूले अन्य सर्वसाधारणले भन्दा पहिले नै जानकारी पाउँछन् ।
मानौं कुनै कम्पनीले निकै आकर्षक लाभांश दिने निर्णय गर्दैछ भने पहुँच भएकाहरूले पहिले नै जानकारी पाउँछन् र सेयर किन्छन् ।
जब सामान्य लगानीकर्तासम्म यो जानकारी पुग्छ, त्यतिबेलासम्म बाठा लगानीकर्ताले नाफा बुक गरेर बेच्न तयार भइसकेका हुन्छन् ।
अर्को गलत सूचनाको हल्ला फैलाएर पनि बाठा लगानीकर्ताहरूले आफू कमाउने र अरूलाई डुबाउने गर्छन् ।
महिना दिन अगाडि नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मा यस्तै भयो । एकाएक बैंकको सेयर मूल्य बढ्यो । जबकि, त्यसबेला एनसीसी बैंकमा मूल्य बढ्ने किसिमका केही सूचना थिएनन् ।
नेप्सेका एक अधिकारी सेयर मूल्य बढाउनकै लागि केही ठूला लगानीकर्ताहरूले मर्जर सम्बन्धी हल्ला फैलाएको बताउँछन् । यो घटनापछि नेप्सेले बैंकलाई स्पष्टीकरण सोध्यो ।
बैंकले लाभांश यसअघि नै घोषणा गरिसकेको र मर्जर सम्बन्धी कुनै निर्णय भइनसकेको भन्दै नेप्सेलाई स्पष्टीकरण बुझायो ।
नेप्सेले स्पष्टीकरण सोध्नु अगाडिसम्म ३६४ रुपैयाँमा पुगेको एनसीसी बैंकको सेयर मूल्य त्यसपछि भने घट्न थाल्यो । त्यसपछि ३६४ बाट घटेर १५ दिन अगाडि बैंकको सेयर मूल्य ३११ मा झरेको थियो ।
जनउत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि अघिल्लो महिना इन्साइडर ट्रेडिङबाटै बढाइएको धितोपत्र बोर्डका अधिकारीले बताए । तर यथेष्ट प्रमाण भेट्न नसकिने भएका कारण कारबाही गर्न नसकिएको ती अधिकारी बताउँछन् ।
यस कम्पनीको सेयर मूल्य ३ जनवरीमा १८२० रुपैयाँ थियो । यसको सेयर मूल्य लगातार बढिरहेको थियो । जनवरी ३१ सम्म आइपुग्दा २६६६ रुपैयाँ पुगेको यसको सेयर मूल्य भोलिपल्टै (१ फेब्रुअरी) १४९ रुपैयाँले बढेर २८१५ रुपैयाँ पुग्यो ।
सोही दिन संस्थाको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई ४९.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६० प्रतिशत नगद गरी ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय ग¥यो ।
साँच्चिकै अनुसन्धान गर्ने हो भने इन्साइडर ट्रेडिङ पत्ता लगाउन सकिन्छ ।
तर कानून नै नभएका कारण यसमा केही गर्न नसकिएको नेपाल स्टक एक्सचेञ्जका कार्यकारी प्रमुख चन्द्रसिंह साउद बताउँछन् । ‘यस सम्बन्धी कानून धितोपत्र बोर्डले ड्राफ्ट गरेको भन्ने सुनेको छु, तर त्यो ऐन बनिसकेको छैन’ उनले भने, ‘कानून नै नभएपछि कारबाही गर्न सहज हुने कुरै भएन ।’
अस्वाभाविक रूपले सेयर मूल्यमा प्रभाव परेको महसूस भए नेप्सेले स्पष्टीकरण सोधे पनि त्यसको ‘जिस्ट रुल’ भने नभएको साउदले बताए ।
कतिपय देशहरूमा इन्साइडर ट्रेडिङ गरेको अभियोगमा आर्थिक पत्रकारहरूलाई समेत कारबाही हुने गरेको भन्दै उनले पूँजी बजारबारे लेख्ने पत्रकारले लगानी गर्नै नपाउनुपर्ने बताए ।
भारतमै पनि सूचना चुहावट गरे पत्रकारलाई समेत कारबाही हुने सीईओ साउदले बताए ।
‘लगानीकर्ता आफैं सजग हुनुपर्छ’
इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न कानूनी सहजता नभएका कारण यसबाट जोगिन लगानीकर्ताहरू नै सजग हुनुपर्ने सेयर बजारका विश्लेषक प्रकाश तिवारी बताउँछन् ।
‘आफ्ना नजिककालाई त किन्न लगाउँछन्, लगाउँछन् कतिपयले त आफैं पनि किन्न मिल्नेसम्म किन्छन्’ तिवारी भन्छन्, ‘यहाँ त खुलेआम जत्तिकै इन्साइडर ट्रेडिङ भइरहेको छ, तर कारबाही हुनसकेको छैन ।’
नेपाल धितोपत्र बोर्ड वा नेपाल स्टक एक्सचेञ्जले चाहे यो सजिलै पत्ता लगाउन सक्ने विश्लेषक तिवारी बताउँछन् ।
१५ मंसिरमा नेपाल धितोपत्र बोर्डले सुझबुझपूर्ण रूपमा लगानी गर्न भन्दै एउटा विज्ञप्ति निकाल्यो । बजार बढिरहेको बेलामा निकालिएको विज्ञप्तिका कारण त्यसलाई निकै महत्वका साथ हेरिएको थियो ।
कसैले बजार घटाउन नियामक निकाय नै लाग्न लागेको आरोपसम्म लगाए भने धेरैले लगानीकर्तालाई सचेत बनाउनु बोर्डको कर्तव्य भएको बताए ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरी सेयर बजारमा लगानी गर्न चाहनेहरूले जोखिमबारे बुझ्नै पर्ने बताउँछन् । जोखिम रहेको क्षेत्र भएका कारण सुझबुझपूर्ण तरिकाले मात्रै लगानी गर्नुपर्ने उनको भनाइ छ ।
सेयर मूल्य घटबढ हुने केही आधारभूत तथ्यहरूबारे अध्ययन नगरी गरिएको लगानी जोखिममा पर्ने उनको मत छ ।
पछिल्ला केही कम्पनीहरूको सेयर मूल्य अस्वाभाविक रूपले बढेको छ । कम्पनीको सञ्चालक समितिमा रहेका वा उच्च व्यवस्थापनले सूचना चुहाएर इन्साइडर ट्रेडिङ भएको हुनसक्ने जानकारहरू बताउँछन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4