+
+
Shares

शुभेन्दु अधिकारी : ममताकै चेला थिए, भाजपा छिरेर उनैलाई हराए

आफ्नो पुरानो निर्वाचन क्षेत्र नन्दीग्राम पनि सुरक्षित राख्दै शुभेन्दुले बंगालमा भाजपाको दुई तिहाइ बहुमत सुनिश्चित गराए र आफूलाई राज्यको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन् । यसैकारण उनी मुख्यमन्त्री बन्ने संभावना छ ।

कञ्चन कञ्चन
२०८३ वैशाख २२ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ को पश्चिम बंगाल विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले २०६ सिटसहित दुई तिहाइ बहुमत हासिल गरी पहिलो पटक सरकार बनाएको छ।
  • शुभेन्दु अधिकारीले भवानीपुरबाट ममता बनर्जीलाई १५,१०५ मतान्तरले पराजित गर्दै बंगालको १५ वर्षे तृणमूल शासन अन्त्य गरेका छन्।
  • अधिकारीले टीएमसीबाट राजीनामा दिएर भाजपामा प्रवेश गरी नन्दीग्राम र भवानीपुर दुवै क्षेत्रबाट सानदार जित हासिल गरेका छन्।

२२ वैशाख, काठमाडौं । सन् २०२६ को पश्चिम बंगाल विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले २०६ सिटसहित दुई तिहाइ बहुमत हासिल गर्दै राज्यमा पहिलो पटक सरकार बनाउने ऐतिहासिक जनादेश प्राप्त गरेको छ । यस अभूतपूर्व विजयको केन्द्रमा एक प्रभावशाली पात्र उदाएका छन्- शुभेन्दु अधिकारी।

अधिकारीले यस निर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीलाई उनकै परम्परागत गढ मानिने भवानीपुर क्षेत्रबाट १५,१०५ मतान्तरले पराजित गरेका छन्।

उनले भवानीपुरमा मात्र विजय हासिल गरेनन्, सन् २०२१ मा आफूले जितेको चर्चित नन्दीग्राम सिटलाई समेत उच्च मतान्तरले कायम राख्न सफल भए।

कुनै समय ममता बनर्जीका निकै भरपर्दा र नजिकका ‘शिष्य’ मानिने अधिकारीको यो विद्रोही यात्राले बंगालको १५ वर्षे तृणमूल शासनलाई अन्त्य गरिदिएको छ।

‘दिदी’ को अभेद्य किल्ला भत्काउन र बंगामा कमल फुलाउन सफल भएका अधिकारी अब राज्यको राजनीतिमा सबैभन्दा शक्तिशाली नायकका रूपमा स्थापित भएका छन्।

राजनीतिक विरासत र पारिवारिक पृष्ठभूमि

सन् १९७० मा पूर्वी मेदिनीपुरको कारकुलीमा जन्मिएका शुभेन्दु अधिकारी बंगालको राजनीतिमा गहिरो प्रभाव राख्ने एक शक्तिशाली राजनीतिक परिवारका उत्तराधिकारी हुन् । उनको परिवारको राजनीतिक वर्चस्व पूर्वी मेदिनीपुरमा दशकौँदेखि फैलिएको छ।

शुभेन्दुका पिता शिशिर अधिकारी यस क्षेत्रका प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनी सन् २००९ मा पहिलो पटक लोकसभा सदस्य निर्वाचित भएका थिए । सन् २००९ देखि २०१२ सम्म तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रिमण्डलमा राज्यमन्त्रीको रूपमा काम गरेका थिए। सुरुमा कंग्रेसको राजनीतिमा सक्रिय शिशिर पछि ममता बनर्जीसँगै तृणमूल कंग्रेसमा आबद्ध भएका थिए।

अधिकारी परिवारका अन्य सदस्यहरू पनि राजनीतिमा उत्तिकै सक्रिय छन्। शुभेन्दुका दुई भाइमध्ये दिव्यन्दु सांसद हुन् ।अर्का भाइ विधान स्थानीय तहको राजनीतिमा प्रभावशाली भूमिकामा छन्।

शुभेन्दुले कोलकाता विश्वविद्यालयबाट औपचारिक शिक्षा पूरा गरेका छन् । त्यहाँ उनले राजनीति शास्त्र र इतिहासको अध्ययन गरे। तर उनको वास्तविक राजनीतिक जग भने विद्यार्थी राजनीतिबाटै सुरु भएको थियो।

त्यहीँबाट उनले बङ्गालको जटिल राजनीतिक समीकरण बुझ्ने अवसर प्राप्त गरेका थिए, जसले उनलाई आजको यो उचाइसम्म पुर्‍याउन मद्दत गरेको छ।

विद्यार्थीकालदेखि नै ममताका मुख्य सारथी

शुभेन्दु अधिकारीको राजनीतिक यात्रा वामपन्थीहरूको दबदबा रहेको समयमा विद्यार्थी राजनीतिबाट सुरु भएको थियो । पश्चिम बंगालमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को ३४ वर्षे शासनकालमा, जहाँ विद्यार्थी सङ्गठनहरूमा समेत वामपन्थीहरूको वर्चस्व थियो, शुभेन्दुले आफ्नो बेग्लै र जुझारु पहिचान बनाउन सफल भएका थिए।

सन् १९९८ मा ममताले कंग्रेस परित्याग गरी तृणमूल कंग्रेस (टीएमसी) को स्थापना गर्दा शुभेन्दुले उनलाई साथ दिए। यद्यपि उनी पार्टीका संस्थापक सदस्य भने थिएनन् ।

तर, टीएमसीको प्रारम्भिक विस्तारका क्रममा पूर्वी मेदिनीपुर जिल्लामा पार्टीको आधार तयार पार्न उनले मुख्य भूमिका खेले । उनको अद्भूत सङ्गठन क्षमता र तल्लो तहका कार्यकर्ताहरूसँगको सिधा सम्पर्कले नै उनलाई छोटो समयमै ममताको विश्वासपात्र र पार्टीको ‘दाहिने हात’ बनायो।

शुभेन्दुको संसदीय यात्रा सन् २००६ बाट सुरु भयो । उनी कोन्टाई दक्षिण क्षेत्रबाट पहिलो पटक विधायक निर्वाचित भए । उनको राजनीतिक सफलताको ग्राफ यतिमै रोकिएन ।

सन् २००९ मा उनी तामलुक क्षेत्रबाट लोकसभा सदस्य (सांसद) चुनिए। यसरी निरन्तरको चुनावी विजय र सङ्गठनात्मक पकडका कारण उनी तृणमूल कंग्रेसभित्र एक अपरिहार्य र शक्तिशाली नेताका रूपमा स्थापित हुँदै गए।

ममता सरकारका शक्तिशाली मन्त्री

सन् २०११ को ऐतिहासिक निर्वाचनमा ३४ वर्षे वामपन्थी शासनको अन्त्य गर्दै ममता मुख्यमन्त्री बनेपछि शुभेन्दु सरकारको एक शक्तिशाली खम्बाका रूपमा उदाएका थिए । नन्दीग्रामबाट विधायक चुनिएका अधिकारीलाई ममताले आफ्नो मन्त्रिमण्डलमा महत्त्वपूर्ण जिम्मेवारी सुम्पेकी थिइन्।

सन् २०११ देखि २०२० सम्मको नौ वर्षे अवधिमा उनले यातायात, वातावरण, सिँचाइ र जलस्रोत जस्ता वजनदार मन्त्रालयहरूको कार्यभार सम्हालेका थिए ।

विशेष गरी यातायात मन्त्रीका रूपमा उनले राज्यभर बस सेवाको विस्तार र सडक पूर्वाधारमा गरेको सुधारले उनलाई भुइँतहका जनताबीच अत्यन्तै लोकप्रिय बनाएको थियो।

यस कार्यकालमा अधिकारीलाई ममताको सबैभन्दा भरपर्दो र प्रभावशाली सहयोगीका रूपमा हेरिन्थ्यो। पार्टी र सरकार दुवैमा उनको पकड यति बलियो थियो कि धेरैले उनलाई ममतापछिको दोस्रो उत्तराधिकारीका रूपमा समेत विश्लेषण गर्न थालेका थिए। यद्यपि, यही बढ्दो शक्ति र राजनीतिक उचाइ नै पछि गएर उनी र पार्टी नेतृत्वबीचको टकरावको मुख्य कारण बन्न पुग्यो।

टीएमसीसँगको सम्बन्ध विच्छेद र भाजपामा उदय

सन् २०२० को अन्त्यतिर शुभेन्दु र तृणमूल कंग्रेस (टीएमसी) बीचको लामो सहकार्यमा गहिरो दरार आयो। ममताले आफ्ना भतिजा अभिषेक बनर्जीलाई पार्टीको दोस्रो वरीयतामा अगाडि बढाउन थालेपछि अधिकारी असन्तुष्ट बनेका थिए। आफूलाई पार्टीको स्वाभाविक उत्तराधिकारी ठान्ने शुभेन्दु ममताको ‘परिवारवादी’ राजनीतिमा ओझेलमा पर्न थालेपछि अन्ततः विद्रोहको बाटो रोजे ।

केही महिनाको सार्वजनिक असन्तुष्टि पश्चात, डिसेम्बर २०२० मा उनले टीएमसीबाट राजीनामा दिँदै भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरे।

केन्द्रीय गृहमन्त्री अमित शाहले भव्य र्‍यालीकाबीच उनलाई पार्टीमा स्वागत गरेसँगै बंगालको राजनीतिमा ठूलो ध्रुवीकरण सुरु भयो । शुभेन्दुको पछि लागेर थुप्रै विधायक र नेताहरू भाजपामा प्रवेश गरे, जसलाई कतिपयले ‘राजनीतिक अवसरवाद’ त कतिपयले ‘परिवारवाद विरुद्धको विद्रोह’ का रूपमा टिप्पणी गरे।

नन्दीग्रामदेखि भवानीपुरसम्म : कसरी ढालियो ममताको किल्ला ?

सन् २०२१ को विधानसभा निर्वाचनमा शुभेन्दुले भाजपाबाट नन्दीग्राममा उम्मेदवारी दिए। आफ्नै पूर्वसहयोगीलाई हराउन मुख्यमन्त्री ममता बनर्जी आफैँ नन्दीग्राम पुगिन्। अत्यन्तै रोमाञ्चक मानिएको उक्त प्रतिस्पर्धामा शुभेन्दुले अन्तिम समयमा बाजी पल्टाउँदै ममतालाई १,९५६ मतको साँघुरो अन्तरले पराजित गरे। टीएमसीले राज्यमा सरकार बनाए पनि ममताको व्यक्तिगत पराजयले शुभेन्दुको राजनीतिक कद ह्वात्तै बढायो।

सन् २०२६ को निर्वाचनमा शुभेन्दुले अझै साहसिक रणनीति अख्तियार गरे। उनले नन्दीग्रामका साथै ममताको आफ्नै गढ मानिने भवानीपुरबाट पनि उम्मेदवारी दिए। नतिजा सोचेभन्दा पनि चकित पार्ने आयो । शुभेन्दुले भवानीपुरमा ममतालाई १५,१०५ मतको भारी अन्तरले पराजित गरे।

यो जित ममताको १५ वर्षे राजनीतिक दबदबाको अन्त्य थियो । आफ्नो पुरानो निर्वाचन क्षेत्र नन्दीग्राम पनि सुरक्षित राख्दै शुभेन्दुले बंगालमा भाजपाको दुई तिहाइ बहुमत सुनिश्चित गराए र आफूलाई राज्यको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरे।

रणनीतिक चतुर्‍याइँ र संगठनात्मक पकड

पश्चिम बंगालको पछिल्लो निर्वाचनमा शुभेन्दु अधिकारीले हात पारेको अभूतपूर्व सफलताका पछाडि मुख्य रूपमा चारवटा रणनीतिक पक्षहरू निर्णायक देखिएका छन्।

अधिकारीले चुनावी मैदानमा हिन्दु मतदाताहरूको एकतालाई पहिलो प्राथमिकतामा राख्दै खुला रूपमा ‘व्यापक हिन्दु एकता’ को आह्वान गरेका थिए ।

छद्म-धर्मनिरपेक्षता र नास्तिकताका विरुद्ध उनले लिएको यो कडा अडानका कारण कतिपय ठाउँमा कानुनी झमेला परे पनि हिन्दु बहुल क्षेत्रहरूमा भाजपालाई यसले ठूलो चुनावी लाभ दिलायो ।

यसैगरी, अधिकारीले भाजपाको जितमा मुस्लिम मतको विभाजनलाई पनि एउटा महत्त्वपूर्ण कडीका रूपमा विश्लेषण गरेका छन्।

माल्दा र मुर्शिदावाद जस्ता मुस्लिम बाहुल्य रहेका जिल्लाहरूमा तृणमूल कंग्रेसको परम्परागत मत एकमुष्ठ रहन नसक्दा त्यसको सिधा फाइदा भाजपाको पक्षमा पुगेको देखिन्छ।

यसका साथै, अधिकारीको सबैभन्दा बलियो पक्ष उनको संगठन निर्माण गर्ने अद्भूत क्षमता हो। उनी एक यस्ता ‘ग्रासरुट नेता’ का रूपमा चिनिन्छन्, जसले गाउँ–गाउँसम्म कार्यकर्ताको बलियो सञ्जाल खडा गरेर पार्टीको जगलाई मजबुत बनाएका छन्।

अधिकारीको सफलताको अर्को मुख्य कारण भनेको तृणमूल कंग्रेस (टीएमसी) भित्रको आन्तरिक कलह र असन्तुष्टिको सही उपयोग गर्नु पनि हो ।

लामो समय सोही पार्टीको शीर्ष तहमा रहेका कारण उनले त्यहाँ बेवास्तामा परेका र अपमानित महसुस गरिरहेका पुराना नेताहरूको मनोविज्ञानलाई राम्ररी बुझेका थिए। उनले टीएमसीभित्रको त्यही कमजोरीलाई चुनावी मुद्दा बनाएर विपक्षीको शक्ति क्षीण बनाउन सफल भए, जसले अन्ततः उनलाई बंगालको राजनीतिको केन्द्रबिन्दुमा पुर्‍यायो।

विवादको घेरामा शुभेन्दु : गम्भीर आपराधिक मुद्दादेखि चुनावी झडपसम्म

पश्चिम बंगालको राजनीतिमा शक्तिशाली उदयसँगै शुभेन्दु अधिकारी गम्भीर विवादमा पनि परेका छन् ।

उनीमाथि लागेका आरोपहरूमध्ये सबैभन्दा संगीन आरोप हत्या प्रयासको मुद्दा हो। जसले उनको राजनीतिक छविमाथि पटक-पटक प्रश्न उठाउने गरेको छ। यसका साथै, अधिकारीले चर्चित नारदा स्टिङ अपरेसन र सारदा चिट फन्ड घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरणको मुद्दामा ईडीको अनुसन्धान समेत सामना गरिरहेका छन्।

निर्वाचनको केही समयअघि मात्र मुख्यमन्त्री ममताले उनीमाथि कोइला घोटालामा संलग्न रहेको आरोप लगाएपछि यो विवादले थप उचाइ लिएको थियो ।

यसको जवाफमा अधिकारीले ममतालाई कानुनी नोटिस नै पठाएर प्रमाण जुटाउन चुनौती दिएका थिए। कूटनीतिक र सामाजिक रूपमा पनि उनी विवादमुक्त छैनन्; छिमेकी देश बङ्गलादेशको अन्तरिम सरकार र त्यहाँका अल्पसङ्ख्यकका विषयमा दिएको अभिव्यक्तिका कारण उनीमाथि ‘हेट स्पिच’ को आरोप समेत लागेको छ।

पछिल्लो निर्वाचनको प्रक्रियाका क्रममा पनि अधिकारीले थुप्रै गम्भीर दाबीहरू गरेका छन्। उनले मतगणनाअघि नै निर्वाचन अधिकारीहरूको गोप्य विवरण सार्वजनिक भएको आरोप लगाउँदै सुरक्षा र निष्पक्षतामाथि प्रश्न उठाएका थिए।

मतदानका क्रममा पनि भवानीपुर क्षेत्रमा आफूमाथि ‘जय बङ्गला’ को नारा लगाउने भीडले आक्रमण गरेको दाबी गर्दै उनले केन्द्रीय सुरक्षा बलको थप तैनाथी माग गरेका थिए।

मुख्यमन्त्रीको दौडमा शुभेन्दु : किन छन् सबैभन्दा अगाडि ?

सन् २०२६ को चुनावी नतिजापछि पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो पहिलो मुख्यमन्त्री कसलाई बनाउला भन्ने चर्चाले यतिबेला राजनीतिक वृत्त गर्माएको छ। भाजपाका प्रदेश अध्यक्ष समिक भट्टाचार्यले शपथ ग्रहण समारोह ९ मे मा हुने बताईरहँदा मुख्यमन्त्रीको दौडमा शुभेन्दु अधिकारी सबैभन्दा बलियो दाबेदारका रूपमा अगाडि देखिएका छन्।

भाजपाका वरिष्ठ पदाधिकारीहरूका अनुसार ममतालाई उनकै गढमा दुई पटक पराजित गरेको ‘पुरस्कार’ स्वरूप पार्टीले अधिकारीलाई नै राज्यको बागडोर सुम्पिने सम्भावना प्रबल छ।

अधिकारी मुख्यमन्त्रीको दौडमा अग्रपंक्तिमा रहनुको प्रमुख आधार उनले प्राप्त गरेको विशाल चुनावी जनादेश हो ।

उनले भवानीपुर र नन्दीग्राम दुवै क्षेत्रबाट सानदार जित निकाल्दै ममतालाई १५,१०५ मतान्तरले हराएर राज्यभर आफ्नो प्रभाव प्रमाणित गरेका छन्।

यसका साथै, उनलाई एक कुशल ‘ग्रासरुट लिडर’ र सङ्गठनकर्ताका रूपमा हेरिन्छ, जसको उदयलाई धेरैले आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मासँग तुलना गर्ने गरेका छन्। पूर्वी मेदिनीपुरबाट सुरु भएको उनको राजनीतिक पकड अहिले राज्यभरका भाजपा कार्यकर्ताहरू माझ लोकप्रिय बनेको छ।

तृणमूल कंग्रेस (टीएमसी) को आन्तरिक संरचना र कमजोरीहरूलाई नजिकबाट बुझ्नु पनि अधिकारीको अर्को ठूलो शक्ति हो। पूर्व वरिष्ठ नेताका रूपमा उनलाई टीएमसीका शक्तिकेन्द्रहरूबारे राम्रो ज्ञान छ, जसको सहयोगमा उनले विपक्षीका थुप्रै नेताहरूलाई भाजपामा भित्र्याउन र चुनावी रणनीति सफल पार्न भूमिका खेले।

मुख्यमन्त्रीको दौडमा अन्य दाबेदार : शुभेन्दुसामु चुनौतीका चाङ

पश्चिम बङ्गालमा भाजपाले बहुमत हासिल गरे पनि शुभेन्दु अधिकारीका लागि मुख्यमन्त्रीको बाटो पूर्ण रूपमा निष्कन्टक भने देखिएको छैन।

भाजपाभित्रै अन्य प्रभावशाली नेताहरू पनि यो पदको दौडमा रहेकाले आन्तरिक प्रतिस्पर्धा निकै रोचक बनेको छ । विशेष गरी राज्यमा पार्टी सङ्गठन विस्तारमा लामो समयदेखि सक्रिय पूर्व प्रदेश अध्यक्ष दिलीप घोषको नाम चर्चाको शिखरमा छ।

उनीसँगै समिक भट्टाचार्य, अग्निमित्रा पाल र रूपा गाङ्गुली जस्ता स्थापित अनुहारहरू पनि मुख्यमन्त्रीका दाबेदार मानिएका छन्।

आन्तरिक प्रतिस्पर्धा बाहेक अधिकारीका लागि सबैभन्दा ठूलो चुनौती उनीमाथि लागेका २५ वटा आपराधिक मुद्दाहरूको भारी हो ।

यति धेरै मुद्दाहरूमा नाम जोडिएको नेतालाई राज्यको सर्वोच्च पदमा पुर्‍याउँदा भाजपाको राष्ट्रिय छविमा कस्तो असर पर्ला भन्ने चिन्ता पार्टीभित्र व्याप्त छ।

यसका साथै क्षेत्रीय सन्तुलन मिलाउनुपर्ने दबाब पनि उत्तिकै छ; अधिकारी पूर्वी मेदिनीपुरबाट प्रतिनिधित्व गर्ने भएकाले यदि केन्द्रीय नेतृत्वले उत्तर बंगाल वा पश्चिमी भेगलाई प्राथमिकता दिन चाहेमा अर्को विकल्प रोज्न सक्ने सम्भावना पनि रहन्छ।

अन्तिम निर्णय भने दिल्लीस्थित भाजपाको केन्द्रीय नेतृत्व अर्थात् प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको हातमा छ । उनीहरूले ‘स्वच्छ छवि’ लाई मुख्य प्राथमिकता दिएमा अधिकारीको दाबेदारी संकटमा पर्न सक्छ।

यद्यपि, ममता बनर्जीलाई उनकै गढमा दुई पटक पराजित गरेको ऐतिहासिक सफलतालाई आधार मान्दै पार्टीले उनलाई मुख्यमन्त्रीको ‘पुरस्कार’ दिने सम्भावना अझै प्रबल रहेको विश्लेषण गरिएको छ।

गुरुलाई पछार्ने ‘विद्रोही शिष्य’ को उदय

शुभेन्दु अधिकारीको राजनीतिक यात्रालाई ‘विद्यार्थीले गुरुलाई पराजित गरेको’ एउटा जीवन्त उदाहरणका रूपमा हेर्न सकिन्छ। ममतालाई अधिकारीले दुई पटक चुनावी मैदानमा जितेर इतिहास रचेका छन्। यो केवल दुई नेताबीचको व्यक्तिगत प्रतिस्पर्धा मात्र नभई पश्चिम बङ्गालको राजनीतिमा आएको एउटा ठूलो संरचनात्मक परिवर्तनको सङ्केत पनि हो।

कुनै समय ३४ वर्षे लामो वामपन्थी शासनको अन्त्य गर्ने शक्ति बनेको ममता नेतृत्वको तृणमूल कंग्रेस (टीएमसी) अहिले आफैँमा एउटा पुरानो र यथास्थितिको प्रतीक बनेको विश्लेषण गर्न थालिएको छ।

सन् २०११ मा जसरी ममताले ‘परिवर्तन’ को नारा दिएर जनताको मन जितेकी थिइन्, आज त्यही परिवर्तनको भोको जनमतलाई शुभेन्दुले भारतीय जनता पार्टीको झन्डामुनि ल्याउन सफल भएका छन्। गुरुले स्थापित गरेको विरासतलाई उनकै शैलीमा चुनौती दिँदै अधिकारीले बंगालको राजनीतिलाई नयाँ मोड दिएका छन्।

अधिकारीको आगामी बाटो भने चुनौतिमुक्त छैन । यदि उनी मुख्यमन्त्री बनेमा उनले पार्टीभित्रका विभिन्न गुटहरूलाई सन्तुलनमा राख्नुका साथै राज्यको जटिल प्रशासनिक चुनौतीहरूको सामना गर्नुपर्नेछ। मुख्यमन्त्रीको कुर्सीमा पुगे वा नपुगे पनि उनी अहिले राज्यकै सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित भइसकेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?