+
+
Shares

स्थलमार्गबाट आउने पर्यटक सवारीसाधन अब अनलाइनबाटै दर्ता

भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते २०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले स्थलमार्गबाट भारत र तेस्रो मुलुकका पर्यटकले अनलाइनबाट सवारीसाधन विवरण भर्न र राजस्व तिर्न सक्ने सेवा सुरु गरेको छ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ अनलाइन प्रणाली सुरु गर्दै सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती हट्ने बताए।
  • भन्सार विभागले अनलाइनबाट विवरण भरेपछि क्यूआर कोड प्राप्त गरी सवारीसाधन नेपाल प्रवेश गर्न सक्ने व्यवस्था बनाएको छ।

२२ वैशाख, काठमाडौं । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ ।

अर्थ मन्त्रालय मातहत भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणाली सुरुवात गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन् ।

यसअघि भन्सार नाकामा आएर यस्ता सवारीसाधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो । नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिबाना तिर्नुपर्ने अवस्था थियो ।

तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्ना सवारीसाधनको इजाजतपत्र घरैबाट अनलाइन मार्फत भरेर अनलाइनबाटै पैसा तिरेर विनाझन्झट घुम्न आउन सक्छन् ।

नयाँ अनलाइन सहजीकरण सेवा सुरु गर्दै अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए ।

‘सरकारले अनुशरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यन्वयन क्रममा यो कार्य सुरु गरिएको हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘पर्यटकलाई कुनै कठिनाइ नहोस्, सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौं ।’

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारीसाधनको इजाजत अब डिजिटल भएको बताए ।

उनका अनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सवारीसाधन सम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सकिने छ । जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउने छ ।

नेपाल सरकारलाई तिर्ने राजस्व पनि त्यस्ता पर्यटकवाहक सवारीले अनलाइनबाटै वा बैंक काउन्टरबाट तिर्न सक्छन् । अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो इमेलमा प्राप्त क्यूआर कोड देखाएरै नेपाल छिर्न सक्ने उनको भनाइ छ ।

यसरी प्राप्त हुने क्यूआर बोकेर पर्यटकवाहक सवारी आफ्नो गन्तव्यमा पुग्न सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार यस्ता सवारीसाधनले आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि आफू रहेको नेपालस्थित ठेगानाबाट अनलाइन मार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन् । यो सबै सेवा लिन भन्सार विभागको वेबसाइटमा गएर हाम्रा सेवाहरू शीर्षकमा रहेको टीआईभी शीर्षकमा क्लिक गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ ।

सबै विवरण अद्यावधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्यूआरकोड प्राप्त हुुन्छ । त्यसका आधारमा आफूले तिर्नुपर्ने शुल्क तिरेर सवारीसाधन नेपाल भित्रिन सक्छन् । नेपालभरिका सडकमा त्यस्ता सवारीले सोही क्यूआर कोड देखाएर यात्रा गर्न पाउँछन् ।

विभागका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत नेपाल भित्रिने विदेशी नागरिकलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो ।

तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारीसाधनका लागि लागु गरिएको भन्सार विभागले स्पष्ट पारेको छ ।

हाललाई चिनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारीसाधन सहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ । तत्कालका लागि यो सेवाबाट भारत र बंगलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?